
मुकेश कुमार साह,रौतहट ०३ गते चैत ।
राैतहट । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रौतहटको एक मात्र स्ववियु निर्वाचन हुने क्याम्पस, जनज्योती बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुर मा स्ववियु निर्वाचनको सरगर्मी बढेको छ। मनोनयन दर्ता सकिएपछि विद्यार्थी संगठनहरू चुनावी प्रचारमा सक्रिय भएका छन्। उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त रहेका छन् भने मतदाता आकर्षित गर्न विभिन्न रणनीति अपनाइएको छ।
स्ववियु निर्वाचनका लागि विभिन्न विद्यार्थी संगठनहरूले आफ्ना उम्मेदवारहरू घोषणा गरिसकेका छन्। यसपटकको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
क्याम्पसमा लामो समयदेखि प्रभाव जमाउँदै आएका यी दुई संगठनहरूबीचको टक्कर निकै रोचक हुने अनुमान गरिएको छ । दुबै संगठनका उम्मेदवारहरू आफ्नो जित सुनिश्चित गर्न कुनै कसर बाँकी राख्न चाहँदैनन्। चिया पसलदेखि क्याम्पस क्यान्टिनसम्म, टोल-टोलदेखि छात्रावाससम्म चुनावी बहस चलिरहेको छ।
नेविसंघ का अध्यक्ष पदका उम्मेदवार मोहम्द नौसाद आलम नेतृत्वको टिमले विद्यार्थी अधिकार, शिक्षाको गुणस्तर सुधार, पूर्वाधार विकास तथा अतिरिक्त गतिविधिहरूको विस्तारलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ। उनीहरू क्याम्पसमा प्रजातान्त्रिक विद्यार्थी आन्दोलनलाई बलियो बनाउनुपर्ने तर्क अघि सार्दै छन्।
त्यस्तै, अनेरास्ववियु का अध्यक्ष पदका उम्मेदवार दामोदर उप्रेती नेतृत्वको टिमले आफूलाई विद्यार्थी हकहित र क्याम्पस सुधारको पक्षधर बताउँदै, विगतका उपलब्धिहरूको रक्षा गर्दै थप परिवर्तन ल्याउने दाबी गरिरहेको छ। अनेरास्ववियु समर्थकहरूले संगठनलाई जिताउन पुरानो सञ्जाल र संगठनात्मक शक्तिको भरपूर प्रयोग गरिरहेका छन् ।
यस्तै, अखिल (क्रान्तिकारी) ले पनि चुनावी मैदानमा आफ्नो बलियो उपस्थिति देखाएको छ। अध्यक्ष पदका उम्मेदवार अजय पटेल को नेतृत्वमा क्रान्तिकारी समूहले शिक्षा नीतिमा आमूल परिवर्तन, क्याम्पसका विद्यार्थीहरूको आर्थिक, सामाजिक तथा शैक्षिक उत्थानका लागि आफूहरू लड्ने दाबी गरिरहेको छ।
संयुक्त समाजवादी विद्यार्थी युनियन नेपाल ले अध्यक्ष पदमा राजन चौधरी लाई उम्मेदवार बनाएको छ। उनीहरूको टोलीले विद्यार्थीहरूको समस्या समाधानमा ध्यान दिने, क्याम्पसमा समावेशी शिक्षा प्रणाली लागू गराउने तथा शैक्षिक सुधारका लागि संघर्ष गर्ने एजेन्डा अघि सारेको छ।
निर्वाचन कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदान हुनेछ। उम्मेदवारहरू प्रचारप्रसारलाई तीव्र पार्दै मतदाता प्रभावित गर्ने अभियानमा जुटेका छन्। विद्यार्थीहरू विभिन्न समूहमा विभाजित भएका छन्, जसले यो निर्वाचनलाई अझ प्रतिस्पर्धात्मक बनाइदिएको छ ।
क्याम्पसभित्र मात्र होइन, सामाजिक सञ्जालदेखि विद्यार्थी बसोबास गर्ने क्षेत्रहरूमा पनि चुनावी बहसले स्थान लिएको छ। अनेरास्ववियु र नेविसंघ बीचको कडा प्रतिस्पर्धाले माहोल रोचक बनेको छ भने अन्य संगठनहरू पनि बलियो उपस्थिति जनाउन लागिपरेका छन् ।
