अमेरिकी डलर कमजोर हुँदा नेपालको सार्वजनिक ऋणमा राहत, तिर्न बाँकी २९ खर्ब ७५ अर्ब
बज्जिकाञ्चल खबर संवाददाता।
अमेरिकी डलरको मूल्य कमजोर हुँदा नेपालको सार्वजनिक ऋणको भार केही घटेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा डलरको विनिमय दर घटेपछि सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण करिब ४३ अर्ब रुपैयाँले कम भएको हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कात्तिक मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। गत भदौ महिनामा सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड रुपैयाँ पुगेको थियो। असार मसान्तमा भने कुल ऋण २९ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ रहेको थियो।अमेरिकी डलरको मूल्यमा आएको गिरावटका कारण असार मसान्तको तुलनामा कात्तिकसम्म ४३ अर्ब ११ करोड रुपैयाँ बराबरको विनिमय लाभ भएको कार्यालयले जनाएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तमा एक अमेरिकी डलरको मूल्य १५३ रुपैयाँ रहेकोमा अहिले घटेर करिब १४८ रुपैयाँ हाराहारीमा पुगेको छ। डलरको मूल्य घट्दा विदेशी मुद्रामा लिइएको ऋणलाई नेपाली रुपैयाँमा हिसाब गर्दा सरकारको ऋण दायित्व कम देखिएको हो।यस अवधिमा सरकारले ऋणको साँवा भुक्तानीसमेत गरेको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारले १ खर्ब १७ अर्ब रुपैयाँ बराबरको साँवा भुक्तानी गरेको छ। डलरको मूल्यमा आएको गिरावट र साँवा भुक्तानी दुवैले सार्वजनिक ऋणको आकार घटाउन सहयोग पुर्याएका छन्।
आन्तरिक र बाह्य ऋणको अवस्था
कात्तिक मसान्तसम्म नेपालको आन्तरिक ऋण १४ खर्ब ४७ अर्ब रुपैयाँ र बाह्य ऋण १५ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ। यसरी कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ।कुल गार्हस्थ्य उत्पादन (जीडीपी) का आधारमा नेपालको सार्वजनिक ऋण ४५.०८ प्रतिशत रहेको छ। यसमध्ये आन्तरिक ऋण जीडीपीको २१.२२ प्रतिशत र बाह्य ऋण २३.८६ प्रतिशत रहेको छ।
सरकारले साढे ६ खर्ब ऋण लिने लक्ष्य
चालु आर्थिक वर्षमा सरकारले ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ। तर, कात्तिक मसान्तसम्म १ खर्ब ५३ अर्ब ८४ करोड रुपैयाँ मात्र ऋण परिचालन भएको छ। यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो।सरकारले यस वर्ष ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण र २ खर्ब ४८ अर्ब रुपैयाँ बाह्य ऋण लिने लक्ष्य राखेको छ। कात्तिकसम्म आन्तरिक ऋण लक्ष्यको ३०.४९ प्रतिशत र बाह्य ऋण लक्ष्यको ११.६२ प्रतिशत मात्र परिचालन भएको छ।
चार महिनामै ऋणको साँवा ब्याजमा १ खर्ब ४० अर्ब खर्च
सरकारले चालु आर्थिक वर्षको पहिलो चार महिनामै सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा १ खर्ब ४० अर्ब ९३ करोड रुपैयाँ खर्च गरिसकेको छ।यस वर्ष सरकारले सार्वजनिक ऋण सेवाका लागि ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ। कात्तिकसम्म वार्षिक लक्ष्यको ३३.७३ प्रतिशत रकम भुक्तानी भइसकेको छ।सरकारले आन्तरिक ऋणको साँवा भुक्तानीमा ९९ अर्ब ९४ करोड र ब्याजमा १९ अर्ब २४ करोड रुपैयाँ खर्च गरेको छ। त्यस्तै, बाह्य ऋणको साँवा भुक्तानीमा २१ अर्ब ७४ करोड र ब्याजमा ४ अर्ब ३६ करोड रुपैयाँ खर्च भएको छ।

सात वर्षमा दोब्बरभन्दा बढी सार्वजनिक ऋण
नेपालको सार्वजनिक ऋण पछिल्लो सात वर्षमा दोब्बरभन्दा बढी भएको छ। आर्थिक वर्ष २०७६/७७ सम्म नेपालको सार्वजनिक ऋण १४ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँ रहेको थियो। अहिले यो बढेर करिब ३० खर्ब रुपैयाँको हाराहारीमा पुगेको छ।सात वर्षअघि जीडीपीको ३८.०५ प्रतिशत रहेको सार्वजनिक ऋण अहिले बढेर ४५ प्रतिशतभन्दा माथि पुगेको छ।बढ्दो सरकारी खर्च, वैदेशिक अनुदानमा कमी तथा अपेक्षाअनुसार राजस्व संकलन हुन नसक्दा सार्वजनिक ऋण निरन्तर बढिरहेको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ।
अर्थविज्ञहरूले ऋण लिएर उत्पादन, रोजगारी सिर्जना र पूर्वाधार विकासमा लगानी गर्नुपर्नेमा जोड दिएका छन्। ऋणको सदुपयोग हुन नसके भविष्यमा साँवा तथा ब्याज भुक्तानीको भार अझ बढ्ने र शिक्षा, स्वास्थ्य तथा अन्य अत्यावश्यक क्षेत्रमा बजेट अभाव हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पनि आन्तरिक ऋणलाई प्रशासनिक तथा चालु खर्चमा प्रयोग नगरी रोजगारी सिर्जना, उत्पादन वृद्धि र दीर्घकालीन प्रतिफल दिने आयोजनामा लगानी गर्न सरकारलाई सुझाव दिएको छ।
त्यस्तै, महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले समेत सार्वजनिक ऋणको रकम पूँजी निर्माण हुने क्षेत्रमा पर्याप्त रूपमा खर्च हुन नसकेको विषय उठाएको छ।डलर कमजोर हुँदा तत्काल सार्वजनिक ऋणको हिसाबमा केही राहत देखिए पनि नेपालको बढ्दो ऋणभार, साँवा ब्याज भुक्तानी र ऋणको सदुपयोग चुनौतीपूर्ण विषयका रूपमा रहेको छ।
स्रोत: अनलाइनखबर,
Online Khabar







