जिल्ला वन पैदावार आपूर्ति समिति रौतहटको अध्यक्षमा रामबिर ठाकुर नियुक्त
रौतहट । जिल्ला वन पैदावार आपूर्ति समिति, रौतहटको अध्यक्ष पदमा रामबिर ठाकुर नियुक्त हुनुभएको छ ।
अध्यक्ष पदमा नियुक्त हुनुभएका ठाकुरलाई बधाई दिँदै उहाँका शुभचिन्तकहरूले नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सक्नुहोस् भन्ने कामनासमेत गरेका छन् ।
वन पैदावारको उचित व्यवस्थापन, आपूर्ति प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउने तथा संस्थाको उद्देश्यअनुरूप प्रभावकारी कार्यसम्पादन गर्न ठाकुरको कार्यकाल सफल रहने अपेक्षा गरिएको छ ।
नयाँ जिम्मेवारीसँगै उहाँले आफ्नो अनुभव, क्षमता र नेतृत्वदायी भूमिकामार्फत समितिलाई थप प्रभावकारी बनाउनुहुने विश्वास व्यक्त गरिएको छ ।
नवनियुक्त अध्यक्ष रामबिर ठाकुरलाई हार्दिक बधाई तथा सफल, उपलब्धिमूलक र कार्यकालको शुभकामना । आरके श्रीवास्तव
### राजपुरमा दलित सशक्तीकरण ऐन निर्माणको प्रस्ताव, नगर प्रमुखलाई मस्यौदा बुझाइयो
राजेश निर्माणी | रौतहट, मंसिर ८
रौतहटको राजपुर नगरपालिकामा दलित समुदायको हकअधिकार सुनिश्चितता, जातीय छुवाछूतको अन्त्य तथा सामाजिक रूपान्तरणका लागि दलित सशक्तीकरण ऐन निर्माण गर्न प्रस्तावित मस्यौदा नगर प्रमुखलाई बुझाइएको छ।
दलित सामुदायिक विकास केन्द्रको टोलीले आज नगर प्रमुख राजिक आलमसमक्ष प्रस्तावित ऐनको प्रारम्भिक मस्यौदा पेश गरेको हो। मस्यौदामा दलित समुदायको हकअधिकार, जातीय भेदभाव तथा छुवाछूत अन्त्य, शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक रूपान्तरणका विषयलाई समेटिएको छ।
नेपालको संविधानले प्रत्याभूत गरेको समानताको हक, छुवाछूत तथा भेदभावविरुद्धको हक र सामाजिक न्यायको मर्मलाई स्थानीय तहबाट प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै कानुनी व्यवस्था आवश्यक रहेको केन्द्रले जनाएको छ।
दलित समुदायले अझै जातीय भेदभाव, छुवाछूत, शैक्षिक पछौटेपन, आर्थिक अभाव, बेरोजगारी, भूमिहीनता, आवासको समस्या तथा राज्यका विभिन्न निकायमा न्यून सहभागिताजस्ता चुनौती सामना गरिरहेको भन्दै ती समस्याको दीर्घकालीन समाधानका लागि स्पष्ट नीति, कानुनी व्यवस्था, बजेट र प्रभावकारी कार्यान्वयन संयन्त्र आवश्यक रहेको मस्यौदामा उल्लेख छ।
प्रस्तावित ऐनमार्फत दलित समुदायको समानता, आत्मसम्मान, सामाजिक न्याय तथा समग्र विकास सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। स्थानीय तहबाटै आवश्यक कानुनी र नीतिगत व्यवस्था गरी समुदायको अवस्था सुधार गर्न ऐन निर्माणको पहल गरिएको केन्द्रले जनाएको छ।
मस्यौदा बुझ्दै नगर प्रमुख डा. राजिक आलमले ऐनलाई छिट्टै प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको दलित सामुदायिक विकास केन्द्रले जनाएको छ।
केन्द्रका अध्यक्ष उदय नारायण रामले दलित समुदायको हकअधिकार सुनिश्चित गर्न तथा सामाजिक विभेद अन्त्यका लागि स्थानीय सरकारबाट ठोस कानुनी पहल हुनु आवश्यक रहेको बताउँदै प्रस्तावित ऐन कार्यान्वयनमा आए समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्था सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
मस्यौदा बुझाउने टोलीमा दलित सामुदायिक विकास केन्द्रका सदस्यहरू पुनम राम, अवधनायण राम, संजय राम, मुकेश राम र हरिशंकर पासवान सहभागी थिए। राजेश निर्माणी | रौतहट, मंसिर ८