जङ्गलसैया रौतहटमा बाला चतुर्दशी मेला लाग्दै, पितृहरूको सम्झनामा दीप प्रज्वलन गरिने
राजेश निर्माणी | रौतहट, मंसिर ६।
रौतहटको गुजरा नगरपालिका–३ जङ्गलसैया, पशुपति टोलस्थित प्राचीन सदाशिव पशुपति मन्दिरमा बाला चतुर्दशीको अवसरमा यस वर्ष पनि भव्य मेला आयोजना हुने भएको छ। मंसिर १८ गते शुक्रबारदेखि २३ गते बुधबारसम्म सञ्चालन हुने मेलामा धार्मिक पूजापाठ, रातभर जाग्राम, दिवंगत पितृहरूको सम्झनामा दीप प्रज्वलन, सांस्कृतिक कार्यक्रम तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ।
करिब ४० वर्षदेखि धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा निरन्तर सञ्चालन हुँदै आएको यस मेलामा रौतहटसहित आसपासका जिल्लाहरुबाट श्रद्धालु तथा भक्तजनहरू आउने गरेका छन्। बाला चतुर्दशीको अवसरमा दिवंगत पितृहरूको सम्झनामा रातभर जाग्राम बसेर दीप प्रज्वलन गर्ने परम्परा मेलाको मुख्य विशेषता हो।
रातभर प्रज्वलन गरिएका दीप भोलिपल्ट बिहान मन्दिर परिसर नजिकै रहेको लालबकैया नदीमा विसर्जन गरी सदबीज छर्ने धार्मिक विधि पूरा गरिन्छ। पितृहरूको सम्झना, श्रद्धा र धार्मिक आस्थासँग जोडिएको यस परम्पराले स्थानीय धार्मिक तथा सांस्कृतिक पहिचानलाई समेत जोगाउँदै आएको छ।
काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बाला चतुर्दशीका अवसरमा हुने धार्मिक गतिविधिको महत्त्व र परम्परालाई स्मरण गर्दै जङ्गलसैयास्थित प्राचीन पशुपति मन्दिरमा पनि वर्षौंदेखि मेला सञ्चालन हुँदै आएको आयोजकको भनाइ छ।
मेलाको उद्घाटनका अवसरमा स्थानीय कलाकार तथा प्रतिभाहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। मंसिर १९ गतेदेखि नेपाल तथा छिमेकी भारतका कलाकार, नृत्यकर्मी र सामाजिक सञ्जालमा चर्चित प्रतिभाहरूले नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ। स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै दर्शकलाई मनोरञ्जन दिलाउने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ।
मेलामा विभिन्न मनोरञ्जनात्मक सामग्री, पिङ, बालबालिका तथा सर्वसाधारणका लागि रमाइलो गतिविधि र व्यापारिक स्टलहरू रहनेछन्। यद्यपि, मेला सञ्चालनका लागि उपलब्ध स्थान सीमित भएकाले ठूला मनोरञ्जनात्मक संरचना तथा विशाल पिङहरू राख्न कठिनाइ भइरहेको आयोजकले जनाएको छ। मेलालाई थप व्यवस्थित र विस्तार गर्न आगामी दिनमा आवश्यक जग्गा तथा स्थान व्यवस्थापनका लागि पहल भइरहेको समेत बताइएको छ।
मेलामा आउने श्रद्धालु, दर्शक तथा व्यापारीहरूको सहजताका लागि आयोजक समितिले आवश्यक व्यवस्थापन गरिरहेको छ। टाढाबाट आउने भक्तजनहरू रातभर दीप प्रज्वलन गरी बस्नुपर्ने भएकाले हाल सीमित रूपमा टेन्टको व्यवस्था गरिएको छ। टेन्ट प्रयोग गरेबापत न्यूनतम शुल्क लिने व्यवस्था रहेको छ। तर, परिवारसहित आएर रातभर बस्न तथा दीप प्रज्वलन गर्न सहज हुने छुट्टै सुरक्षित स्थान, छाना तथा व्यवस्थित बसोबासको सुविधा पर्याप्त नभएकाले आगामी वर्षहरूमा यस्तो सुविधा विस्तार गर्ने योजना बनाइएको आयोजकले जनाएको छ।
त्यस्तै, मेलामा व्यापार गर्न आउने व्यापारीहरूका लागि समेत थप सहज वातावरण सिर्जना गर्ने, बसोबास तथा अन्य आवश्यक सुविधा उपलब्ध गराउने योजना रहेको छ। सुरक्षाकर्मी तथा पत्रकारहरूका लागि बस्ने, खाना र खाजाको व्यवस्थापनसमेत मिलाइएको आयोजकले जनाएको छ।
मेलाको शान्ति सुरक्षा तथा व्यवस्थापनका विषयमा आयोजक समितिले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेको छ। मेला सञ्चालनका लागि आवश्यक अनुमति लिइसकेको र शान्ति सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिने आश्वासन प्राप्त भएको आयोजकको भनाइ छ। मेलामा भक्तजन तथा दर्शकहरूको भीडलाई मध्यनजर गर्दै सुरक्षा, अनुशासन र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।
मंसिर २३ गते सदबीज छर्ने धार्मिक विधि सम्पन्न गरी नदीमा दीप विसर्जन गरेसँगै मेला औपचारिक रूपमा समापन हुनेछ।
आयोजक समितिले धार्मिक आस्था बोकेका श्रद्धालु, स्थानीयवासी तथा मनोरञ्जनका लागि आउने सम्पूर्ण दर्शकलाई मेलामा सहभागी हुन आग्रह गरेको छ। पशुपति मन्दिरको दर्शन, धार्मिक विधिमा सहभागिता, स्थानीय कलाकारहरूको प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको अवलोकन गर्दै सभ्य, अनुशासित र शान्त वातावरणमा मेलाको आनन्द लिन आयोजकले सबैमा अनुरोध गरेको छ।







