रौतहटमा पत्रकारहरू सडकमा उत्रिए, ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्दै सिडिओ कार्यालयअगाडि चर्को प्रदर्शन
बज्जिकाञ्चल खबर संवाददाता | कटहरिया, रौतहट।
प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको पेशागत सुरक्षा तथा श्रमजीवी पत्रकारको हकहित सुनिश्चित गर्न माग गर्दै रौतहटका पत्रकारहरू सडकमा उत्रिएका छन्। नेपाल पत्रकार महासंघले घोषणा गरेको देशव्यापी आन्दोलनअन्तर्गत बुधबार रौतहटका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालयअगाडि विरोध प्रदर्शन गर्दै सरकारको नीतिप्रति असन्तुष्टि जनाएका हुन्।
नेपाल पत्रकार महासंघ रौतहट शाखाको अगुवाइमा भएको प्रदर्शनमा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। प्रदर्शनकारी पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानर बोकेर जिल्ला प्रशासन कार्यालय रौतहटअगाडि विरोध जनाएका थिए। उनीहरूले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न र पत्रकारको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको घोषित आन्दोलनलाई समर्थन गर्दै जिल्लामा आयोजित प्रदर्शनका क्रममा पत्रकारहरूले सञ्चारमाध्यम र पत्रकारमाथि भइरहेको भनिएको विभेदपूर्ण व्यवहार, आर्थिक दबाब, धरपकड तथा पेशागत असुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए। पत्रकारिता क्षेत्रलाई नियन्त्रणमा राख्ने तथा स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने उनीहरूको भनाइ थियो।
प्रदर्शनमा सहभागी पत्रकारहरूले सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दी गर्ने, लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने रकम कटौती गर्ने, श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन गर्ने तथा सञ्चारगृह सञ्चालनमा विभिन्न अवरोध सिर्जना गर्ने गतिविधि तत्काल रोक्न माग गरेका छन्।पत्रकारहरूले सञ्चारमाध्यम लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै स्वतन्त्र प्रेसबिना नागरिकको सूचनाको अधिकार र लोकतान्त्रिक अभ्यास बलियो हुन नसक्ने बताएका थिए। सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने र पत्रकारलाई पेशागत रूपमा असुरक्षित बनाउने कुनै पनि नीतिले समग्र पत्रकारिता क्षेत्र प्रभावित हुने उनीहरूको धारणा थियो।
त्यसैगरी, पत्रकारमाथि हुने आक्रमण, धम्की, धरपकड तथा समाचार लेखेकै आधारमा दुःख दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने मागसमेत प्रदर्शनका क्रममा उठाइएको थियो। श्रमजीवी पत्रकारले आफ्नो श्रमको उचित पारिश्रमिक पाउनुपर्ने, रोजगारीको सुरक्षा हुनुपर्ने र सञ्चारगृहले कानुनअनुसार पत्रकारका अधिकार सुनिश्चित गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष डिल्लीबहादुर कार्कीको नेतृत्वमा सम्पन्न विरोध प्रदर्शनमा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षाको विषय कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई समग्र लोकतान्त्रिक व्यवस्था र नागरिकको सूचनाको अधिकारसँग जोडिएको विषय भएको बताएका थिए।
महासंघले पत्रकारलाई स्वतन्त्र र निर्भय रूपमा काम गर्ने वातावरण निर्माण गर्न, श्रमजीवी पत्रकारको अधिकार संरक्षण गर्न तथा सञ्चारमाध्यममाथि हुने आर्थिक र प्रशासनिक हस्तक्षेप रोक्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रदर्शनमा सहभागी पत्रकारहरूले आफूहरू कुनै व्यक्तिगत स्वार्थका लागि नभई स्वतन्त्र पत्रकारिता, श्रमको सम्मान र पेशागत सुरक्षाका लागि आन्दोलनमा उत्रिएको बताएका छन्। माग सम्बोधन नभएसम्म प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारका पक्षमा एकताबद्ध भएर आन्दोलनलाई निरन्तरता दिने उनीहरूले प्रतिबद्धता व्यक्त गरेका छन्।







