२०८३ मंसिर १०
२०८३ मंसिर १०

अदालतको निषेधाज्ञा प्रहरीबाटै उल्लंघन? कार्यालयभित्रै जबर्जस्ती सहीछाप गराएको लक्ष्मी महतोको आरोप

अदालतको निषेधाज्ञा प्रहरीकै बेवास्तामा? लक्ष्मी महतोको आरोप– ‘कार्यालयभित्रै नियन्त्रणमा लिएर जबर्जस्ती सहीछाप गराइयो’

काञ्चल खबर संवाददाता, कटहरिया, रौतहट।| रौतहट, मंसिर ९ गते।

अदालतबाट पक्राउ नगर्न र कुनै पनि लिखतमा जबर्जस्ती सहीछाप नगराउन स्पष्ट निषेधाज्ञा जारी भएको अवस्थामा पनि प्रहरीले आफूलाई नियन्त्रणमा लिएर कुटपिट तथा दुर्व्यवहार गर्दै नेपाली कागजमा जबर्जस्ती सहीछाप गराएको ६२ वर्षीय लक्ष्मी महतोले गम्भीर आरोप लगाएका छन्।

कटहरिया नगरपालिका–५ बलिरामपुर निवासी महतोले रौतहट जिल्ला अदालत, गौरबाट जारी आदेशको जानकारी प्रहरी कार्यालयमा पुगिसकेको अवस्थामा समेत जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीले आफूलाई कानुनी प्रक्रियाविपरीत व्यवहार गरेको दाबी गरेका हुन्।महतोका अनुसार उनले २०७९ सालमा देवाही गोनाही नगरपालिका–७ उचीडीह निवासी सरफलाल राउतसँग पाँच लाख रुपैयाँमा चार कठ्ठा जग्गा खरिद गरेका थिए। तर, अहिले आएर सरफलाल राउतलगायतका व्यक्तिहरूले सोही जग्गाको विषयलाई लिएर आफूविरुद्ध मिटरब्याजसम्बन्धी मुद्दा अघि बढाएको उनको भनाइ छ।

यस विषयमा छलफलका लागि जिल्ला प्रहरी कार्यालयबाट आफूलाई पटक–पटक बोलाइएको महतोले बताएका छन्। उनका अनुसार यसअघि पनि प्रहरीले दुई पटक सम्पर्क गरी दुवै पक्षलाई राखेर छलफल गराएको थियो। तर, विवाद समाधान हुन सकेको थिएन।प्रहरीमा बोलाउने र आफूविरुद्ध मिटरब्याजसम्बन्धी उजुरी गर्ने क्रम नरोकिएपछि महतोले २०८३ मंसिर ४ गते रौतहट जिल्ला अदालत, गौरमा निषेधाज्ञासम्बन्धी मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा अदालतले २०८३ मंसिर ८ गते आफूलाई पक्राउ नगर्न तथा कुनै पनि लिखतमा सहीछाप नगराउन निषेधाज्ञा आदेश जारी गरेको र आदेश कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयमा पत्रसमेत पठाइएको महतोको दाबी छ।

तर, अदालतको आदेश जारी भइसकेपछि पनि जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटभित्रै आफूलाई जबर्जस्ती नियन्त्रणमा लिइएको, कुटपिट तथा दुर्व्यवहार गरिएको र नेपाली कागजमा हस्ताक्षर गर्न बाध्य पारिएको महतोले आरोप लगाएका छन्।‘अदालतले पक्राउ नगर्न र कुनै पनि कागजमा सहीछाप नगराउन आदेश दिइसकेको थियो। त्यसको जानकारी प्रहरी कार्यालयमा समेत पठाइएको थियो। तर पनि मलाई कार्यालयभित्रै नियन्त्रणमा लिएर जबर्जस्ती सहीछाप गराइयो,’ महतोको भनाइ छ।

अदालतको आदेशको पालना र नागरिकको अधिकारको संरक्षण गर्ने जिम्मेवारी बोकेको प्रहरीबाटै आदेश उल्लंघन भएको भन्दै महतोले घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले आफूलाई अन्यायमा पारिएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न, जबर्जस्ती गराइएको भनिएको सहीछापको कानुनी परीक्षण गर्न तथा दोषी देखिने प्रहरी कर्मचारीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।

यो घटनाले अदालतबाट जारी निषेधाज्ञा आदेशको कार्यान्वयन, नागरिकको मौलिक अधिकारको संरक्षण तथा प्रहरी प्रशासनको जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

यद्यपि, घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटको आधिकारिक धारणा प्राप्त हुन बाँकी छ। महतोले लगाएको आरोपको सत्यतथ्य पुष्टि गर्न प्रहरी प्रशासनको प्रतिक्रिया र निष्पक्ष छानबिन आवश्यक देखिन्छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।