<

 

१९ मंसिर, काठमाडौं ।

ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध गर्ने भएको छ । २४ मंसिरदेखि फुटपाटमा राखेर सामान बिक्री गर्न नदिने ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

फुटपाथ व्यवसायीहरुको अत्याधिक भीड भएका कारण हिँडडुलमै समस्या हुन थालेपछि सधैंका लागि फुटपाथ निषेध गर्न लागेको ।

‘काठमाडौं महानगरपालिकाले फुटपाथ बन्द गरेपछि ३ सय भन्दा धेरै फुटपाथ व्यवसायी मंगलबजारबाट लगनखेलसम्म आएका छन् । पहिले ५०–६० वटा फुटपाथ व्यवसाय हुने ठाउँमा अहिले ३/४ सय पुगेको छ’, हाछेथुले अनलाइनखबरसँग भने ।

उनले मंगलबजारदेखि लगनखेलसम्म सटरमा व्यवसाय गर्ने व्यापारीहरुले आफ्नो पसल अगाडि मासिक २० हजारसम्म लिएर व्यापार गर्न दिएको पाइएको पनि बताए ।

‘यहाँका व्यवसायीहरुले आफ्नो पसल अगाडि खाली सार्वजनिक ठाउँ नै किनबेच गरिरहेको पाइएको छ । यसलाई रोक्न पनि महानगरले यो कदम चाल्न बाध्य भएको हो’, हाछेथुले अनलाइनखबरसँग भने ।

फुटपाथको कारण सर्वसाधारणलाई हिँड्न समेत नसक्ने स्थिति भएको भन्दै हाछेथुले थपे, ‘अहिले एम्बुलेन्स, दमकल समेत हिँड्न सक्दैन, मेला जस्तै हुने गरेको छ । त्यसपछि १२ नम्बर वडा र १९ नम्बर वडाले संयूक्त रुपमा मिलेर फुटपाथ निषेधित क्षेत्र बनाउन लागेका हौं ।’

ललितपुर महानगरपालिकाले मंगलबारदेखि माइकिङ र ब्यानर टाँसेर २४ गतेसम्म फुटपाथ व्यापार हटाउन आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0