<

 

काठमाडौँ मंसिर १९,/

महिला स्वयंसेविकाहरूले सेवानिवृत्त हुँदा पाउने सुविधामा सरकारले शोषण गरेको आरोप लगाएका छन्।

२०औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन्।

कार्यक्रममा बोल्दै स्वयंसेविका संघकी अध्यक्ष गीता थिङले २० वर्षअघि दिएको सेवा निवृत्त सुविधा बढाउनुपर्ने माग गरिन्।

‘महिला स्वयंसेविकालाई बिदाइमा २० हजार रुपैयाँ दिने गरिएको छ। यो त २० वर्षअघि दिएको रकम हो। आजसम्म पनि त्यही २० मात्र दिने कुरा मान्य हुँदैन,’ थिङ भन्छिन्, ‘हामीलाई लिए लि नलिए नलि भन्ने खालको व्यवहार छ।’

आज पनि महिला स्वयंसेविकाहरूलाई २० वर्षअघिकै २० हजार रुपैयाँ दिने गरेको भन्दै उनले असन्तुष्टि जनाइन्। सरकारले महिला स्वयंसेविकाहरूलाई सेवा निवृत्त सुविधाका रूपमा २० हजार रुपैयाँ मात्रै दिनु शोषण भएको थिङ बताउँछिन्।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले महिला स्वयंसेविकाहरूको कामले सरकारलाई थप शक्ति मिल्ने गरेको बताए। उनले महिला स्वयंसेविकालाई सहयोग गर्न मन्त्रालय तयार रहेको बताए।

‘महिला स्वयंसेविकाहरू दियो मात्रै होइन सिङ्गै उज्यालो हो। उहाँहरूको कामले हामीलाई थप शक्ति प्रदान गर्छ। उहाँहरूलाई मन्त्रालयको तर्फबाट सहयोग गर्न तयार छु,’ सिंहले भने।

त्यस्तै, कार्यक्रममा बोल्दै सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले महिला स्वयंसेविकाहरूले उठाएको माग जायज रहेकाले सरकारले सम्बोधन गर्नुपर्ने बताए। स्वयंसेविकाहरूलाई विभिन्न तालिम दिई थप सशक्त बनाउनुपर्नेमा डा.बास्तोलाको जोड छ।

‘उहाँहरूको आवाज बिल्कुलै सही छ। राज्यले यसलाई व्यवस्थित गर्नुपर्छ।’ डा. बास्तोलाले भने।’ दूरदराजमा महिला स्वयंसेविकाहरूले गरेको योगदान अतुलनीय रहेको डा. बास्तोला बताउँछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0