
आरके श्रीवास्तव,राैतहट,२२ गते चैत ।
राैतहट । मधेस प्रदेशमा निष्ठापूर्वक मनाइने चैती छठ पर्व समापन भएको छ । चैत्र शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने गरिन्छ । छठ पर्वको मुख्य दिन बिहिवार व्रतालुले निराहार व्रत बसेका थिए । मंगलबार पहिलाे दिन नहाए खाए बिधि गरिएकाे थियोे ।
जबकि दाेस्राे दिन बुधबार खर्ना बिधि गरिएकाे थियोे । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाने गर्छन् ।
बिहिवार षष्टी तिथिका दिन निराहार व्रत रही साँझ पवित्र जलाशयमा बनाइएको घाटमा गई अस्ताउँदाे सूर्यलाई पहिलो अर्घ्य (अर्घ) दिने परम्परा रहेको छ ।
अर्घ दिइने क्रममा फलफूल र ठेकुवा,कसार लगायतका परिकार राखिएको अर्घ उठाई सूर्यदेवलाई देखाइन्छ। साे दिन गरिने विधिलाई मधेसमा ‘सझिआ अरख’ भनिन्छ।
सप्तमी तिथिका दिन बिहान उदाउँदाे सूर्यलाई यिनै प्रसाद सामग्री देखाएर अर्घ्य दिई व्रत समापन गरिन्छ। यो विधिलाई बोलीचालीमा ‘भोरवा अरख’ भनिन्छ।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन शुक्रबार राैतहट,बारा,पर्सा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही लगायत मधेस प्रदेश भरिको शहरी र ग्रामीण क्षेत्रकाे जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धूमधामका साथ चैती छठ पर्व सम्पन्न गरिएकाे छ ।
छठ पर्वकाे बारेमा पाैराणिक कथा अनुसार सतयुगमा भगवान श्रीराम, द्वापर युगमा दानवीर कर्ण र पांच पांडवकाे पत्नी द्रौपदीले सूर्यकाे उपासना गरेकी थिईन् ।
