Football.
<

काठमाडौं, २२ फागुन ।

महादेव युवा क्लबको आयोजनामा यही फागुन २६ गते काठमाडाैंको नागार्जुन नगरपालिका-०७ स्थित खड्कुले चौरमा ‘सपोर्टर’ क्लब फुटबल च्याम्पियनसिप सिरिज आयोजना हुने भएको छ।

खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन र काठमाडौं जिल्लाकै उच्च स्थान (१५९० मिटर)मा रहेको खेल मैदान खड्कुले चौरको प्रचारप्रसार गर्ने उद्देश्यले १ दिने मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

प्रतियोगिताका बारेमा जानकारी दिन मंगलबार आयोजना गरिएको पत्रकार भेटघाटका क्रममा दिइएको जानकारी अनुसार सो प्रतियोगितामा युरोपका चर्चित लिग क्लबका नेपालमा रहेका समर्थक (सपोर्टर) समुहहरू चेल्सी नेपाल, आर्सनल नेपाल, म्यानचेस्टर युनाइटेड नेपाल, बार्सिलोना नेपालसँगै आयोजक महादेव युवाक्लबका २ टिमले प्रतिस्पर्धा गर्नेछन्।

नागार्जुन नगरपालिका, नागार्जुन खेलकुद विकास समिति, नागार्जुन पर्यटन प्रर्वद्धन, अनुसन्धान तथा अध्ययन समिति र तारकेश्वर युवा क्लब, स्युचाटारको सहकार्यमा हुने सो प्रतियोगिताको उपाधि विजेतालाई नगद ३० हजार रुपैयाँ प्रदान गरिने बताइएको छ।

प्रतियोगिताको उपविजेताले १५ हजार रुपैयाँ हात पार्दा व्यक्तिगत विधामा उत्कृष्ट हुने गोलरक्षक, खेलाडी र उच्च गोलकर्तालाई जनही  ५ हजार रुपैयाँ पुरस्कार दिइने क्लबका अध्यक्ष राजु सापकोटाले जानकारी दिए।

पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै जिल्ला समन्वय समिती काठमाडाैं अध्यक्ष सन्तोष बुढाथोकीले नागार्जुन नगरको गाैरवका रुपमा रहेको खड्कुले चौरलाई राष्ट्रिय स्तरको खेल मैदानमा परिणत गर्ने स्थानीयहरूको लामो समयदेखिको सपना पूरा गर्न आफुले सक्दो पहल कदमी लिइरहेको बताउँदै सो का लागि बजेट विनियोजन गरिने बताए। नागार्जुन नगरका विभिन्न स्थानमा इन्डोर स्पोर्ट्सका लागि संरचना बनिरहेको जानकारी दिँदै अध्यक्ष बुढाथोकीले नागार्जुन नगरको पर्यटन क्षेत्रको विकासका लागि खड्कुले चौर खेल मैदान कोशेढुंगा हुन सक्ने धारणा राखे।

नागार्जुन नगरपालिका वडा नम्बर ७ का अध्यक्ष शैलेन्द्र लामाले नगरपालिकामा विभिन्न गतिविधि सञ्चालनका लागि सहयोग एवं सहकार्य भइरहेको बताउँदै सबैको समन्वयमा खेल गतिविधि अघि बढाउन सके प्रतियोगिताहरुले लक्षित उद्धेश्य हासिल गर्न सक्ने धारणा राखे। वडाध्यक्ष लामाले खड्कुले चौरमा यसपटक नागार्जुन मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने समेत जानकारी दिए।

सेभेन ए साइड ढाँचामा खेलाइने खेल ४० मिनेटको हुने बताइएको छ। प्रतियोगिताको अनुमानित लागत २ लाख ३० हजार रूपैयाँ रहेको छ।न्युज करखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0