महोत्तरी पुस ३,/
— भएको सम्पत्ति धितो राखेर छोरीको विवाह गर्न ऋण लिएकी महोत्तरी रामगोपालपुरकी हिरादेवी मण्डल अहिले ऋणको भारले थिचिएकी छिन् । ३ वर्षअघि जनपुरको राजश्री फाइनान्सबाट उनले लिएको १५ लाख ऋणले दुई छोरीको विवाह त गरिन् । तर छोरीको विवाहपछि ऋण तिर्न नसक्दा उनले धितो राखेको २ कठ्ठा १६ धुर जग्गा लिलाम भएको पत्र संस्थाले उनलाई पठाएको छ ।
त्यतिमै उनलाई ऋणले छाडेको छैन । मिटरब्याजमा ४ लाख रुपैयाँ ऋण लिएर उनका जेठा छोरा वैदेशिक रोजगारीका लागि कुबेत गए । कान्छो छोरा पनि थप २ लाख रुपैँया ऋण लिएर ५ महिनाअघि मलेसिया गएको उनले बताईन् । तर वैदेशिक रोजगारिमा गएका दुवै छोराले समस्यामा फसेको सुनाउने गरेको उनले बताइन् ।
‘दुवै छोराले काम पाएका छैनन्, पैसा पठाएका छैनन्’ उनले भनिन्,’साहुले यता बस्न दिएको छैन’ । घरमा खाने उपाय समेत नभएपछि ऋण थपिँदै गएको र अहिले ऋण १७ लाख पुगेको उनले सुनाईन् । ‘घरमा बस्न नसकेर आन्दोलनमा हिंडेको हुँ,’ उनले भनिन्,‘घरमा बस्नै हुँदैन साहु र संस्था आएर हप्काउँछन् धम्काउँछन्’ । लघुवित्त संस्था विरोध संघर्ष समितिले गरेको जिल्ला भेलामा उपस्थित उनीजस्तै अधिकांसको समस्या उनको जस्तै छ ।
महोत्तरीकै सम्सी-५ का दिनेशप्रसाद यादव पनि ऋण लिएर छोरीको विवाह गरेपछि ऋणले आफुलाई नछाडेको बताउँछन् । ‘तिलक नदिए छोरीको विवाह नै हुँदैन,’ उनले भने,‘ऋण नै लिएर दुई छोरीको विवाहमा २५ लाख खर्च गरेको छु’ । जेठी छोरीको विवाहमा १५ लाख खर्च भएकोमा ५ लाख नगद,मोटरसाईकल,दराज,फ्रिज लगायत सबै घरमा चाहिने सामाग्री केटापक्षलाई दिएको उनले बताए । ‘कान्छी छोरी अलि राम्री थिईन्,’उनले भने, ‘केटी मन परेकाले जे दिनुहुन्छ भैहाल्छ भनेपछि १० लाखमै विवाह भयो ।’
साढे ४ कठ्ठा जग्गा बेचिसकेको उनले सुनाए । तर अहिले पनि ३३ लाख ऋण तिर्न बाँकी भएकाले आए उपायको खोजीमा आफू रहेको यादवले बताए । ऋण तिर्न कुनै उपाय नै नभएकाले तिर्न नसकेको तर संस्थाहरुले आफूले लिएको भन्दा डब्बल तिर्नपर्ने भएको भन्दै तिर्न दबाब दिईरहेको उनले बताए ।
बर्दिवास-८ कर्मटोकी घर भएकी सरु चौधरी ६० वर्षकी भइन् । १ सालदेखि उनले कुनैपनि संस्थाको किस्ता तिर्न नसकेको बताईन् । उनको कूल ऋण २५ लाख बढी छ । तर उनलाई अहिले घरमा के खाउ के लाउको अवस्था भएको उनी बताउँछिन् । विभिन्न लघुवित्त संस्थाबाट लिएको ऋणबाट ऋण बढ्दै गएको उनले बताईन् । स्वाबलम्बन बैंक लिएको ३ लाख ऋण पटक पटक तिर्दा पनि अहिले ५ लाख पुगेको भन्दै तिर्न दबाब दिएको उनले बताईन् । छोरीको विवाह गर्न ६ लाख र छोरालाई विदेश पठाउन ३ लाख विभिन्न संस्थाबाट ऋण लिएको उनले सुनाईन् ।
गएको ६ महिनामै मलेसियाबाट श्रीमान फर्किएपछि कर्मटोकी महोत्तरीकी इन्द्रकुमारी कलवारलाई ऋणले सास्ती दिएको छ । ससुराको मृत्युपछि घर फर्किएका श्रीमानको खुट्टा भाँचिएको र आफू बिरामी परेकाले ऋणमाथि ऋण बढ्दै गएको उनले बताईन् । ‘के खाने कसरी बाँच्ने पनि थाहा छैन,’ उनले भनिन्, ‘अब सरकारले हेर्ला की भनेर आन्दोलनमा आएको’ । २० लाख बढी ऋणको भारीले आफूलाई थिचेको उनले सुनाईन् ।
गरिबलाई उठाउनै नसक्ने गरि ऋणको बोझ बोकाएर लगातार दबाब र धम्की दिने साहु र संस्थाविरुद्ध आफूहरुको संघर्ष जारी रहेको लघुवित्त संस्था विरोध संघर्ष समितिकी महोत्तरी अध्यक्ष शिलम यादव बताउँछिन् । अशिक्षा र गरिबीकै कारणपछि परेका समुदायलाई लघुवित्तीय संस्थाहरुले समेत मनोमानी नियम लगाएर अवैध कारोबार गरेको उनले आरोप लगाईन् । आफ्नो हिसाबले नियम लगायर गरिबहरुको शोषण संस्था र महाजनहरुले गरिरहेकाले त्यसको विरुद्धमा जिल्ला भेला गरेको उनले बताईन् । भेलामा महोत्तरीबाट १ सय ३५ जना पीडितहरुको उपस्थिति भएको उनले जानकारी दिईन् ।
लघुवित्त संस्थाहरुको मनोमानीमा राज्यले नै संरक्षण गरेका कारण गरिबहरु दिन दिनै उठाउनै नसक्ने ऋणको भूमरीमा परिरहेका पीडित संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष युवराज रसाईली बताउँछन् । नेपाल राष्ट्रबैंकको नीति विपरीत एक अर्कामा हानाथाप गर्दै हिजो ऋण लगाउने संस्थाहरुले अहिले पीडितलाई विभिन्न दबाब र धम्की दिन नमिल्ने उनको भनाई छ । आवश्यकता र क्षमता हेरेर प्रतिव्यक्ति ७ लाखसम्म मात्र ऋण दिन पाउने राष्ट्र बैंकको नीति विपरीत लगानी लगाएका लघुवित्तहरुको ऋण र लाखौं रकम चुक्ता गर्दापनि धितो लिलाम भएकाहरुको सम्पत्ति फिर्ता हुनुपर्ने र ऋण मिनाहा हुनुपर्ने मुख्य माग आफूहरुको भएको उनले बताए ।
आन्दोलन र पटक पटकको सरकारसँग वार्तापछि पीडितलाई धम्क्याउने र अवैध कारोबार गर्ने कार्यमा केही सुधार आएको भएपनि यतिमै आफूहरुको आन्दोलन नसकिने उनले बताए । पीडितहरुलाई एकजुट भएर बस्न,घर छाडेर नहिँड्न र आफ्नो जीवनलाई क्षति पुर्याउने गतिविधि नगर्न भेलाबाट प्रोत्साहन गरिरहेको उनले बताए ।