<

 

वीरगञ्ज मंसिर १८,/         

– पर्साको पोखरिया नगरपालिकाले गैरकानुनी रुपमा कर्मचारी भर्ना गर्न लागेपछि त्यसको विरोध भएको छ। नगरपालिकाले छोटो अवधिको सूचना निकालेर गैरकानुनी तरिकाले कर्मचारी नियुक्ति गर्न लागेको भन्दै विभिन्न राजनीतिक दलले त्यसको विरोध गरेका छन्।

नगरपालिकाले यही महिनाको ७ र १० गते सूचना प्रकाशन गरेर विभिन्न पदमा करारमा कर्मचारी भर्ना गर्न लागेको भन्दै दलहरूले नै विरोध गरेका छन्। नगरपालिकाले कम्प्युटर अपरेटर, सुपरभाइजर, अनमी, अहेब, हेल्थ असिसटेन्ट, कविराज, स्टाफ नर्स, स्वयं शिक्षक/शिक्षिकालगायत पदमा ४२ जना कर्मचारी भर्ना गर्ने जनाएको छ।

नगरपालिकाले प्रकाशन गरेको सूचनामा परीक्षाका लागि मौखिक र अन्तर्वार्ता मात्रै दिनुपर्ने उल्लेख गरेको छ। यसरी बिना मापदण्डका आधारमा नगरपालिकाले एक हप्ताको समय दिनु तथा भएका कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने अवस्था रहेका बेला आफ्ना आसेपासेलाई कर्मचारीको रुपमा भर्ना गर्न विज्ञापन गरिएको कांग्रेसका क्षेत्रीय सचिव सुरेन्दप्रसाद सिंहले बताए।

यसैगरी, नगरपालिकाको कर्मचारी भर्ना गर्ने मापदण्डसमेत नपुगेको तथा आफ्नो कार्यकर्तालाई कर्मचारीको रुपमा भर्ना गर्न नगरपालिकाले मौखिक र अन्तर्वार्ता मात्रै लिएर भर्ना गर्न लागेकाले त्यसलाई रोक्नुपर्ने नेकपा माओवादी केन्द्र पोखरिया नगर कमिटीका अध्यक्ष पन्नलाल कुर्मीको भनाइ छ।

पोखरिया नगरपालिकामा कर्मचारी चाहिने भए नियमअनुसार भर्ना प्रक्रियामा जानुपर्ने रास्वपाका पर्सा जिल्ला संयोजक दिलीप कुर्मीले बताए।

पोखरिया नगरपालिकाले बितेको ७ र १० गते दुई वटा बिज्ञापन गरेर करारमा कर्मचारी भर्ना गर्न लागेको छ। यता नगरपालिकाले कर्मचारी भर्ना प्रक्रिया नरोकेपछि उच्च अदालत अस्थायी इजलास वीरगञ्जमा रिट दर्ता भएकोमा अदालतले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।
नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितलाई बिपक्षी बनाएर दर्ता भएको रिटको सुनुवाइ गर्दै न्यायाधीश राजेशकुमार काफलेको इजलासले सुनुवाइ गर्दै दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।

यसैबीच, अदालतको डण्डा चलेपछि नगरपालिकाको निम्ति प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवले कर्मचारी भर्ना प्रक्रिया हालका लागि स्थगन गरेका छन्।

श्रविास्तवले सोमबार सूचना निकालेर करार सेवा तत्कालका लागि अर्को निर्णय वा सूचना नभएसम्मका लागि स्थगन गरिएको जानकारी गराएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0