<

 

सिमकोट,मंसिर १७,/       

– हुम्लाका विद्यार्थीहरूले मोबाइलको लाइट बालेर अध्ययन गर्नुपर्ने बाध्यता भएको पाइएको छ।

जिल्लाको सिमकोट गाउँपालिका- ५ को बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा दशमा अध्ययनरत विद्यार्थीहरूले विद्यालयले सञ्चालन गरेको कोचिङ कक्षामा मोबाइलको लाइट बालेर अध्ययन गरिरहेका छन्।

हिल्दुम विद्युत वितरण केन्द्रले बेलुकाको समयमा लोडसेडिङ गर्ने गरेको कारण बेलुकाका कक्षाहरू यसरी पढ्नु परेको सोही विद्यालयमा अध्ययनरत कक्षा दशकी छात्रा प्रकृति भण्डारीले बताइन्।

विद्यालयले विद्यार्थीहरूका लागि अनिवार्य गणित र विज्ञान विषयको कोचिङ कक्षा सञ्चालन गरिरहेको छ। उज्यालोको अन्य विकल्प नभएपछि विद्यार्थीहरूले बोकेर ल्याएको मोबाइलको टर्च बालेर अध्ययन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

उक्त कक्षामा पढाउने गणित विषयका शिक्षक धिरज रोकायाले आफूले पनि मोबाइलको टर्च बालेर ह्वाइट बाेर्डमा लेखिरहेकाे बताए।

परीक्षा आउनै लागेको कारण उक्त कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेकोले उज्यालोको यसरी व्यवस्था गर्नु परिरहेको शिक्षकले बताए।

साँझ सात बजेसम्म विद्यार्थीहरूले माेबाइलकाे टर्च बाली अध्ययन गर्दै आएका छन्।

विद्यालयमा लोडसेडिङको समयमा अन्य विकल्प समेत नभएको कारण सबै विद्यार्थीहरूलाई मोवाइल बोकेर ल्याउन निर्देशन दिने गरिएको छ। यो समस्या बेलुका मात्र होइन, बिहानका कक्षामा पनि यस्तै हुने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0