<

 

नवलपरासी  मंसिर ८,/

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन नगरपालिकालाई पत्राचार गरेको हो ।

आयोगको बुटवल कार्यालयले नवलपरासीको सुनवल नगरपालिकालाई शुक्रवार पत्र लेख्दै नगरपालिका क्षेत्र अन्तर्गतको जनसेवा माविको जग्गामध्ये १५ कठ्ठा नम्बरी जग्गा गैरैले दर्ता गरी बिक्री गरेको खुल्न आएको दाबी गरेको छ । अख्तियारले छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाइ आफ्नो निर्णय कार्यान्वयन गराउन भनेको छ ।

गैरे एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । उनी गत प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी क्षेत्र नं. २ ‘क’बाट एमालेबाट पराजित भएका थिए ।

विद्यालयका नाममा साविक सुनवल गाविस–६ ‘ख’को कित्ता नम्बर ११ को ४ बिघा १८ कठ्ठा १८ धुर जग्गा रहेको छ । सोही जग्गामध्ये १५ कठ्ठा जग्गा गैरेले अतिक्रमण गरेको भन्ने उजुरी आयोगमा परेको थियो । सोही उजुरीका आधारमा आयोगले छानबिन गर्दा उक्त जग्गा उनले अतिक्रमण गरी बिक्री गरेको भन्ने खुल्न आएको भन्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ र ९७ बमोजिब छानबिन गरी कारबाही गर्न नगरपालिकालाई आयोगले पत्राचार गरेको हो ।

गैरेले अतिक्रमण गरी बिक्री गरेको भनिएको जग्गा सोधखोज गर्दा उक्त जग्गा गैरेकी श्रीमती लीलादेवी गैरेले सुकुम्बासी समस्या समाधान आयोगबाट दर्ता गरी लिएको मालपोत  कार्यालयको श्रेस्तामा देखिएको छ । श्रेस्ताअनुसार विद्यालयसँगै जोडिएको ८ कठ्ठा जग्गा गैरेकी श्रीमती लीलादेवीको नाममा तत्कालीन लुम्बिनी बसोबास कम्पनीको मिति २०४६ जेठ ९ को निर्णयअनुसार सुकुम्बासी समस्या समाधान आयोग नवलपरासीले २०५८ असार २० गते दर्ता गरेको देखिएको छ ।

विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम तिमिल्सिनाले विद्यालयका नाउँमा रजिष्ट्रेसन पास भइसकेपछि खोजबिन गर्ने क्रममा उक्त जग्गा अतिक्रमण भएको पाइएको बताए । २०३४ सालदेखि उक्त जग्गा विद्यालयले भोगचलन गर्दै आएको छ । २०७४ चैतको मन्त्रिपरिषद्को निर्णयले उक्त जग्गा विद्यालयको नाममा रजिष्ट्रेसन पास भएको हो ।

आयोगको निर्णय कार्यान्वयनबारे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले कार्यपालिकाको बैठक बसेर त्यसबारे निर्णय गर्ने बताए । विद्यालयका प्रधानाध्यापक रमेश पौडेलले करिब ५ बिघा जग्गामध्ये अहिले विद्यालयले २ बिघा मात्रै भोगचलन गरेको जानकारी दिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0