२०८३ कार्तिक १७
२०८३ कार्तिक १७

महाभियोगको त्रासमा न्यायाधीश, बिचौलिया कनेक्सनबारे ‘फुलकोर्ट’ मा छानबिन प्रस्ताव गरिने

काठमाडौं । विचौलियाका अवाञ्छित गतिविधिसँग जोडेर प्रधानन्यायाधीश र न्यायाधीशबारे सञ्चारमाध्यममा आएका विवादका विषयमा निर्णय लिन सोमबार (कात्तिक १३) सर्वोच्च अदालतको फुलकोर्ट बैठक बस्दै छ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शनिबार बसेको बैठकले अदालतमा देखिएका विकृति र विवाद समाधानका लागि संसद्बाट निकास खोज्न संसदीय दलको सचिवालयलाई निर्देशन दिइसकेको अवस्थामा बस्न थालेको सर्वोच्चको फुलकोर्ट बैठकलाई विशेष चासोपूर्वक हेरिएको छ ।

रास्वपाको उक्त निर्देशनका कारण सर्वोच्चका जो सुकैमाथि महाअभियोग लाग्न सक्ने त्रासको छायामा सर्वोच्चका न्यायाधीश परेका छन् ।

बिचौलियासँग हिमचिम र उठ–बसको विषय बाहिरिएपछि ठोस धारणा बनाउन प्रधानन्यायाधीश डा. मनोज शर्माले शुक्रबार डाकेको सम्पूर्ण न्यायाधीश संलग्न फुलकोर्ट बैठक ठोस निष्कर्षबिना उठेको थियो ।

कार्यालय खुलेलगत्तै करिब एक घण्टासम्म चलेको बैठकमा न्यायाधीशद्वय सपना मल्ल प्रधान र अब्दुल अजिज मुसलमान विदेशमा रहेका कारण सहभागी थिएनन् ।

भोलिको बैठकमा महाभियोगको विषयवस्तु र आन्तरिक छानबिन प्रस्तावमा छलफल हुने जानकारी सर्वोच्चका एक न्यायाधीशले दिए । “सत्तारुढ दलबाटै संसद्बाट निकास खोज्न संसदीय दलको सचिवालयलाई निर्देशन दिएको विषय मिडियामार्फत जानकारीमा आएको छ । यस्ले सबै श्रीमान् (न्यायाधीश) हरूमा भयत्रासको वातावरण छ,” सर्वोच्चका ती न्यायाधीशले बाह्रखरीले राखेको जिज्ञासामा संक्षिप्त प्रक्रिया दिँदै भने, “यो विषय (महाभियोग) मा फुलकोर्ट बैठकमा छलफल हुने स्वाभाविक भैहाल्यो । जहाँसम्म बिचौलिया भनिएकासँग भेटघाटबारे कुरा छ, संसद्को विषय बन्न नदिई आन्तरिक रूपमा छानबिनको प्रस्ताव जाने र एक मतले एउटा निष्कर्षमा पुग्ने सम्भावना छ ।”

शुक्रबारकै बैठकमा सहभागी कतिपय न्यायाधीशहरूले उच्चस्तरीय आन्तरिक छानबिन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउन उपयुक्त हुने भन्दै सुझाए पनि ठोस निर्णय भने भएन ।

बिचौलियाको आरोप लागेका सापकोटासँग हिमालय होटलमा भेटघाट गरी सँगै चिया–खाजा लिएको विषयमा अरु न्यायाधीशसमेत संलग्न रहेको विषय मिडियामार्फत बाहिरिएपछि शुक्रबार सर्वोच्चका कतिपय न्यायाधीशले समकक्षी न्यायाधीश हरि फुयाललाई भेटेर सरोकार राखेका थिए ।

“चारजना न्यायाधीशले उहाँ (फुयाल) लाई च्याम्बरमा गएर कुरा राख्दा आफ्नो बारेमा प्रस्ट पारेको हुँ, अरुका बारे केही भनेको होइन । कसरी आयो मलाई थाहा भएन भन्नुभयो,” सर्वोच्चका एक न्यायाधीशले भने ।

यता, न्यायपालिकामा देखिएका विकृति र विवादमा संसद्बाटै आवश्यक प्रक्रिया अगाडि बढाउने तयारीमा रास्वपा छ । सम्पत्ति शुद्धीकरण र अन्य शंकास्पद आर्थिक कारोबारको अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिनुअघि सापकोटासँग सर्वोच्चका न्यायाधीश सम्पर्कमा रहेको तथ्य बाहिरिएपछि रास्वपाभित्र ‘महाभियोग’ र ‘न्यायालय पुनर्संरचना’ को एजेण्डाले प्रवेश पाएको हो ।

सभापति रवि लामिछानेकै पहलकदमीमा महाभियोगदेखि न्यायालय पुनर्संरचनासम्म पार्टी सचिवालयबाट संस्थागत निर्णय भएको छ ।

लामिछानेले बिहीबार पनि यस विषयमा सभामुख डीपी अर्यालसँग ‘वान टू वान’ कुराकानी गरेका थिए । कानुन पृष्ठभूमिका एकजना रास्वपा सांसदले बताएअनुसार, लामिछानेले न्यायाधीश–बिचौलिया सम्बन्ध, सम्पर्कलाई लिएर अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम, कानुनविद् रहेका रास्वपानिकट प्रतिनिधिसभा सदस्यलगायतसँग छलफल गरेका थिए ।

कानुन पृष्ठभूमिका सांसदले  बताएअनुसार रास्वपा बैठकमा तत्कालै एक्सनमा जानुपर्ने भन्दै अधिकांश पदाधिकारीको राय आएकोे छ । कतिपय रास्वपा सांसदले सर्वोच्च वा न्यायपरिषद्बाटै आन्तरिक छानबिन गरी निकास निकास खोज्न समेत सुझाएका थिए । रास्वपाका अधिकांश सांसद भने महाभियोगको पक्षमा देखिएको जनाइएको छ ।

“प्रधानन्यायाधीश शर्मा आफैँ सापकोटासँग प्रत्यक्ष कुराकानीमा संलग्न नदेखिएकाले शंकाको सुविधा दिनुपर्ने भन्ने एकाथरी साथीहरूको कुरा पनि आएको छ । माथिदेखि तलसम्म जो जोबाट गलत भएको छ, सबैलाई सजायको भागिदार बनाउनुपर्छ भन्ने पनि छ,” ती सांसदले भने, “संविधानबमोजिम महाभियोगको औचित्य पुष्टि हुनेगरी प्रत्यक्ष्य विवादमा मुछिएकाको हकमा मात्र एक्सनमा जानुपर्ने भन्ने पनि कुरा आएको छ । होइन, सोलोडोलो अदालतको पुनर्संरचनामै जानुपर्ने भन्ने राय पनि छ ।”

रास्वपा संसदीय दलको सचिवालयले सोमबार यस विषयमा थप छलफल र परामर्श गर्ने भएको छ । बिचौलिया आरोपित सापकोटासँग कुपण्डोलस्थित हिमालय होटलमा सर्वोच्चका न्यायाधीश हरि फुयालसँगै अरु न्यायाधीश समेतले मुद्दाका सन्दर्भमा भेटघाट गरेको विषय मिडियामा बाहिरिएपछि अहिले संसद्, न्यायालय, सत्तारुढ रास्वपासहितका राजनीतिक दल, नागरिक समाज, नेपाल बारलगायत क्षेत्र तरंगीत छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।