आरएन पटेल, रौतहट, कार्तिक १२ गते।
रौतहटको फतुवा बिजयपुर नगरपालिकाका नगर प्रमुख गोपाल राय यादवका छोरा आदित्य कुमार यादव नेपाली कांग्रेस परित्याग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। उनीसँगै सयोंको संख्यामा युवा तथा विभिन्न दलका नेता–कार्यकर्ताहरू पनि जसपा नेपालमा प्रवेश गरेका छन्। यस पार्टी प्रवेश कार्यक्रमले फतुवा बिजयपुरको स्थानीय राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरेको छ।
बिहीबार गुजराको नगरपालिका–८ मा आयोजित जसपा नेपालको दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमसँगै आयोजित पार्टी प्रवेश कार्यक्रममा आदित्य कुमार यादवसहित सयकड़ो संख्याका नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरिएको हो।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री एवं पूर्वसंविधानसभा सदस्य माननीय गोविन्द चौधरी, मधेश प्रदेश समिति अध्यक्ष बालकिशोर प्रसाद यादव, केन्द्रीय सदस्य तथा गुजराको नगरपालिकाका नगर प्रमुख सन्तलाल प्रसाद चौधरीलगायत पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेता–कार्यकर्ता सहभागी थिए।
नेपाली कांग्रेस पार्टीबाट दुई कार्यकाल फतुवा बिजयपुर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका गोपाल राय यादवका छोरा आदित्य कुमार यादवको जसपा नेपाल प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। उनीसँगै जेनजी पुस्ताका युवासहित विभिन्न राजनीतिक दल परित्याग गरी आएका कार्यकर्ताहरू जसपा नेपालमा आबद्ध भएपछि नगरपालिकाको आगामी राजनीतिक समीकरणमा समेत प्रभाव पर्न सक्ने चर्चा सुरु भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीले पार्टीमा प्रवेश गरेका नयाँ सदस्यहरूलाई उचित स्थान र जिम्मेवारी दिँदै आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । उनले पार्टीमा आबद्ध भएका नेता तथा युवाहरूलाई संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन ।
त्यसैगरी, जसपा नेपालका मधेश प्रदेश समिति अध्यक्ष बालकिशोर प्रसाद यादवले नवप्रवेशीहरूलाई बधाई तथा शुभकामना दिँदै पार्टीमा उचित सम्मान र स्थान प्रदान गरिने बताए। उनले अग्रगामी मोर्चा तथा जसपा नेपाल जनताको सुख–दुःखमा साथ रहने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे। युवाहरूको सक्रियता र योगदानको कदर गर्दै उनीहरूलाई आवश्यक सहयोग तथा अवसर उपलब्ध गराउने विश्वाससमेत उनले दिलाए।
कार्यक्रममा नेपाली कांग्रेस लगायत विभिन्न राजनीतिक दल परित्याग गरी जसपा नेपालमा प्रवेश गर्ने नेता, कार्यकर्ता तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। नवप्रवेशीहरूको आगमनले जसपा नेपालको संगठन विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
फतुवा बिजयपुरका नगर प्रमुखका छोरासहित युवाहरूको पार्टी प्रवेशले स्थानीय राजनीतिमा नयाँ बहस सुरु भएको छ। आगामी दिनमा यसले नगरपालिकाको राजनीतिक गतिविधि र दलहरूबीचको प्रतिस्पर्धामा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोका साथ हेरिएको छ।







