<

राैतहट,२६ गते असार । मधेश प्रदेशमा चालू आर्थिक वर्षमा ५५.७५ प्रतिशत बजेट खर्च भई ४४.२५ प्रतिशत बजेट फ्रिज भएको छ । चालु आर्थिक वर्षको लागि मधेश प्रदेश सरकारले ल्याएको ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाको बजेटमध्ये सरकारले २४ अर्ब ५९ करोड ४५ लाख मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रणक कार्यालयले जनाएको छ । हरेक वर्ष मधेश प्रदेश सरकारले आधा बजेटको हाराहारीमा फ्रिज गर्दै आएको छ । चालु आर्थिक वर्षमा चालु र पुँजीगत दुवैतर्फ सरकारले खर्च नसकेको देखिएको छ । चालु आवको लागि चालु तर्फ १८ अर्ब ५३ करोड ८८ लाख रुपैया विनियोजन गरेकोमा ९ अर्ब २९ करोड ७० लाख रुपैया खर्च गरेको छ । यसै गरी पुँजीगत तर्फ सरकारले विनियोजन गरेको २५ अर्ब ५७ करोड ५७ लाख रुपैयामध्ये सरकारले १५ अर्ब २९ करोड ७५ लाख रुपैया मात्र खर्च गर्न सकेको छ । मधेश प्रदेश सरकारको खर्च प्रणाली निकै कमजोर भएको बजेट फ्रिज भएको अवस्थाले देखाएको टिप्पणी भइरहेको छ । गत वर्ष पनि मधेश प्रदेश सरकारको ४२.५८ प्रतिशत बजेट फ्रिज भएको थियो । यसै गरी आर्थिक वर्ष २०७८÷७९ मा आधा जति बजेट फ्रिज भएको थियो । उपभोक्ता समितिमार्फत ढलान र निर्माणमा बढी बजेट खर्च गर्ने गरेको आरोप मधेश प्रदेश सरकारमाथि लाग्ने गरेको छ । चालु आर्थिक वर्षमा सरकारको परिवर्तन तथा राजनीतिक अस्थिरताले बजेट फ्रिज बढी हुन पुगेको राजनीतिकर्मीहरुको भनाइ छ । केन्द्रमा जुनसुकै दलको सरकार बने पनि मधेश प्रदेशमा जसपा नेपालको मात्र सरकार रहने गरेकोमा पछिल्लोपटक जनमत पार्टीको नेतृत्वमा सरकार बनेको छ । जनमतकै नेतृत्वमा पनि गठबन्धनको फेरबदल र आपसी खिचातानीमा फसेको प्रदेश सरकारले आर्थिक वर्ष बित्न लाग्दा पनि अपेक्षाअनुसार खर्च गर्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0