Oplus_131072
<


सञ्जय साह मित्र,२२ गते कार्तिक । 

पहिले साठी धानको बिना कोही छठको कल्पना गर्दैनथे तर अहिले यो आलंकारिक हुन थालेको छ । यद्यपि ग्रामीण क्षेत्रमा भने साठी धानको खोजी अझै पनि गरिन्छ । पहिले साठी धानप्रति मानिसमा छठसँग जोडिएर नै श्रद्धा उम्रेको देखिन्थ्यो ।
सुथनी र अरुवा हराइ नै सके । कसैले खोजी गरेको पाइँदैन । करिब पाँच दशक पहिलेसम्म छठ पबनीमा अनिवार्य आवश्यकता थिए यिनीहरु । हेर्दाहेर्दै गागलनिमो÷गागरनिमो वा भोगटेको चलन लोप नै भइसक्यो । अझै निबुआको उपयोग छठ पबनीमा भइरहेको छ ।
छठको एउटा विशाल सुन्दरता थियो घाटमा दन्ड दिनुपर्ने । सायदै कोही युवा हुन्थे जो दन्ड दिँदैनथे । आजभोलि यो पनि आलंकारिक मात्र हुन गएको छ । अत्यन्त कम मानिसले यो गरेको देखिन्छ ।
याद गर्नुभएको होला, पहिले पाँचओटा दतिवन (दतुवन) बाँड्ने चलन थियो । विशेष गरी बालक तथा किशोरहरुले आँपको दतुवन व्रतालुहरुकहाँ बाँड्ने गर्दथे । अहिले यो चलन छ कि हरायो ?
गुन्डी अर्थात् चंगा कतै उडाइन्छ होला तर यो छठ पर्वको एउटा बालसुलभ सौन्दर्य थियो । बालबालिकाहरुले हाथमा गुन्डी लिएर छठघाटमा उडाएको रमाइलो आज पूर्णतः एन्ड्रोइड मोबाइलमा परिवर्तन भइसकेको छ । कसरी नयाँले पुरानोलाई विस्थापित गर्दो रहेछ त ?
छठमा सबैले सम्भव भएसम्म नयाँ लगाएर जान्थे तर परम्परागत पहिरन हुन्थ्यो । अहिले आधुनिक जमानाको छठ भइसक्यो । सम्भव भएसम्मको देखावटी पहिरन छठमा हुन्छ । लाग्दछ, पश्चिमा संस्कृतिको प्रभाव परिरहेको छ । सुटमा ठाँटिएकाहरु धेरै हुन्छन् ।
कामनामा पनि बदलाव आएको हो ? पहिले मुख्यतः दुई कामना हुन्थे – सन्तान प्राप्ति र चर्मरोग निवारण । अहिले अन्य कामना पनि बढेर गएको पाइएको छ । अर्थात्, छठपर्वको कामनामा पनि विस्तार भएको छ । लोकआस्थाको महापर्व हो, आस्था र कामनाको अदभुत समन्वय भएको देखिन्छ । यसको विस्तार निकै हार्दिक पक्ष हो ।
पचास वर्ष पहिले कात्तिकमा यो छठ मनाइँदा पबनइतिनभन्दा दर्शक नै बढी हुन्थे । हरेक वर्ष यो उद्भवस्थलमा पनि विस्तार भइरहेको छ । दुबोले जस्तै यसले बलियो सम्बन्ध माटोसित गाँसेको छ । सम्बन्धको बलियोपनाले यो पर्व बलियो हुँदै आजभोलि कात्तिकमा जस्तै चैतमा पनि अत्यन्त धुमधामका साथ मनाइन थालिएको छ । यद्यपि पहिले पनि चैतमा मान्नेहरु थिए तर चैतमा मान्नेहरुले मनौती अर्थात् भाकलअनुसार तोकिएको वर्ष छठ मान्ने गर्दथे तर आजभोलि यो निरन्तरताझैँ हुन गएको छ कात्तिमा जस्तै ।
साँच्चिकै छठको प्रियता निरन्तर विस्तार भइरहेको छ । हाम्रा पूर्वजहरुले यस संस्कृतिलाई परिपालन गरेर हामीलाई गर्व गर्ने बाटो विस्तार गरिदिनु भएको छ ।
गोधनको दिन संकल्प लिने, भोलिपल्ट बिराउने, तेस्रो दिन नहाखाएके, चौथो दिन खरना, पाँचौ दिन सँझियाघाटे र छैटौँ दिन पारन हुने छठ पबनी हाम्रो यथार्थमा लोकसंस्कृति हो । दश दिनको दशैँ भएजस्तै छ दिनको यो छठ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0