नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा जनकपुरधाममा बिहीबार आयोजित नेपाली कांग्रेस मधेस प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै । तस्बिरः निरञ्जनकुमार साह / रासस
<

 

जनकपुरधाम  पुष ५          

: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमा मात्रै संविधान र परिवर्तनको रक्षा हुने बताएका छन्।

नेपाली कांग्रेस मधेस प्रदेशको आयोजनामा बिहीबारदेखि जनकपुरधाममा सुरु भएको प्रथम मधेस प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले सङ्यीयता, समावेशिता र परिछल्ला उपलब्धिमाथिको प्रहार रोक्न पनि कांग्रेस र मधेस बलियो हुनुपर्ने बताए।

देउवाले समावेशी, समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न अपनाइएका निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको एकल सरकार बनाउन नसक्ने हुँदा गठबन्धन गर्नुपरेको बताए। उनले पार्टीभित्रको अविश्वास र अन्तर्घातलाई रोकेर एकताबद्ध हुनसके कांग्रेसलाई थप ठूलो पार्टी बनाउन सकिने धारणा राखे। त्यसका लागि सबैले एकजुट भएर पार्टी संगठन निर्माणमा लाग्नुपर्ने उनको भनाइ छ।

त्यस्तै महामन्त्री गगनकुमार थापाले देशमा बढ्दै गएको कुशासनका कारण जनतामा निराशा बढेको र त्यसलाई आशामा बदल्न कांग्रेसले नै अग्रसरता लिनुपर्ने बताए। पछिल्लो समय बढेका आक्रोसका आवाजलाई विभिन्न कोणबाट समीक्षा गरे पनि त्यस्तो तागत जनअसन्तुष्टिका कारण प्राप्त भइरहेको भन्दै महामन्त्री थापाले त्यसलाई सम्बोधन गर्न काम गरेर देखाउनुको विकल्प नभएको बताए।

‘जनता रिसाएका छन्। बेथिति बढेको छ, व्यवस्थाले काम गर्न सकेन भन्ने आरोप छ। तर, त्यसको जिम्मा कसले लिने हो? चार प्रदेशमा मुख्यमन्त्री, सात प्रदेशमा कांग्रेससहितका सरकार, सबैभन्दा बढी पालिकामा कांग्रेसकै जनप्रतिनिधि छन्। त्यसैले हामीले बोलेर होइन काम गरेर देखाउनुपर्छ,’ महामन्त्री थापाले भने।

त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले मधेसमा संघीयताका लागि उठेका नारा कांग्रेस नेतृत्वले सुनेकै कारण तत्कालीन अवस्थामा देशमा संघीयता आएको भन्दै यसको रक्षाको दायित्व पनि मधेस र कांग्रेसको काँधमा रहेको बताए। उनले मधेसमा कांग्रेस बलियो भएका बेला देशले कांग्रेसको नेतृत्व पाएको र त्यही तागतमा सधैं परिवर्तन सम्भव भएको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0