<

 

धनुषा मंसिर १७/       

धनुषामा एक महिलाको शव फेला परेको छ।

मिथिला नगरपालिका-५ स्थित श्रीपुर गाउँबाट पाँच सय मिटर पूर्वमा रहेको औरही खोलाको बाँध छेउमा शव फेला परेको प्रहरीले जनाएको छ।

अन्दाजी ३५ वर्षीया महिलाको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए।

उनका अनुसार आइतबार बेलुकी घाँस काट्न गएकी महिलाले शव देखेपछि गाउँमा आएर जानकारी गराएकी थिइन्।

‘उनले रातो साडी र हातमा रातो पहेँलो रंगको लहठी लगाएकी छन्। अनुहार सुन्निएर कालो देखिएको छ। यस क्षेत्रमा अहिलेसम्म कुनै महिला हराएको हामी कहाँ जानकारी आएको छैन,’ प्रहरी निरीक्षक साहले भने।

शव पहिचानका लागि विभिन्न माध्यमबाट प्रयास भइरहेको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत मंगलबार पनि धनुषामा एक महिलाको शव फेला परेको थियो। धनौजी गाउँपालिका-४ भडरियास्थित आँप घारीको बीचमा रहेको पोखरीमा परालले छोपिएको अवस्थामा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको थियो। अहिलेसम्म उनको समेत पहिचान खुलेको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0