<

 

बारा,मंसिर १७/         

बारा जिल्लाको सिमरा विमानस्थलमा हवाई इन्धन रिफ्युलिङ स्टेसनको उद्घाटन गरिएको छ।

आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्टेसनको उद्घाटन गरेका हुन्।

अब विमानस्थलमा ११ किलोलिटर (केएल) र १६ केएल गरी २७ केएलका दुइटा रिफ्युलर रहनेछन्।

रिफ्युलिङका लागि जनकपुरबाट सिमरा विमानस्थलसम्म हवाइ इन्धन बोक्ने ९ केएलको डिस्पेन्सर राखिएको छ। भण्डारण ट्यांक नहुन्जेल जनकपुरमा रहेको डिपोबाट इन्धन ल्याइनेछ।

चालु अर्थिक वर्षको बजेटमा गरिएको व्यवस्थाअनुसार रिफ्युलिङ स्टेसन उद्घाटन गरिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताए। छिट्टै भरतपुर र जुम्लाको विमानस्थलमा रिफ्युलिङ स्टेसन राखिने उनको भनाइ छ।

यो विमानस्थलमा बुद्ध एयरलाइन्सका सात र यतिको दुई जहाजले दैनिक उडान तथा अवतरण गर्दै आएका छन्।

काठमाडौंबाट छोटो दूरीमा रहेको यो विमानस्थलमा रिफ्युलिङ सुरू भएसँगै आपतकालीन उडान तथा अवतरणमा सहज हुने उल्लेख गरिएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले काठमाडौंबाट नजिकको विमानस्थलमा रिफ्युलिङ सेवाले निकै फाइदा पुग्ने बताए। ‘यहाँ पहिल्यैदेखि रिफ्युलिङ स्टेसन खाँचो थियो। यसबाट राज्यको ठूलो रकम बचत हुनेछ,’ उनले भने।

अब काटमाडौंको तुलनामा सिमरामा ढुवानी खर्च समेत कम लाग्ने उल्लेख गरिएको छ। त्यस्तै जहाजहरू रिफ्युलिङका लागि काठमाडौं पुगिरहनु पर्ने अवस्था पनि नरहने हुँदा इन्धन बचत हुने नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक प्रेम ठाकुरले बताए।

रिफ्युलिङ स्टेसनका कारण वायुसेवा कम्पनीहरू उत्साहित भएको उनको भनाइ छ। यसले राज्यलाई पनि करोडौं बचत हुने उनले उल्लेख गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0