<

 

काठमाडौं       

      गत आर्थिक वर्ष ०७९/८० मा देशभरिका विपन्न परिवारका ४० हजार बिरामीले सरकारबाट स्वास्थ्य उपचार कोष सेवा लिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाको उपचारमा सहुलियत दिँदै आएको छ।

आव ०७९/८० मा विभिन्न किसिमका गम्भीर रोग लागेका विपन्न परिवारका बिरामीले उक्त सरकारबाट उपचार सहयोग पाएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको (एचएमआईएस)को रिपोर्टअनुसार आव ०७९/८० देशभरका ४० हजार ४७ जना गम्भीर रोगका बिरामीले सरकारबाट उपचार सहयोग लिएका हुन्।

‘विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका २०७५’ अनुसार आर्थिक रूपले विपन्न नागरिकले दफा २ को खण्ड (ख) मा उल्लेख भए बमोजिमका रोगको उपचार नेपालभित्र गराउँदा उपदफा (४) बमोजिमको समितिको सिफारिसमा वा नेपाल सरकारले जारी गरेको गरिब परिवार परिचय पत्र बिरामीले अनुसूची–४ बमोजिमको उपचार सहुलियत रकम अस्पतालबाट प्राप्त गर्ने व्यवस्था रहेको छ।

स्वास्थ्य विभागका अनुसार आव ०७९/८० मा सबैभन्दा बढी २१ हजार ५५५ जना क्यान्सरका रोगीले यो सेवा लिएका छन्। मिर्गौला हेमोडायलासिससम्बन्धी ७ हजार ४४९ जना, मिर्गौला प्रत्यारोपणसम्बन्धी ४३२, मुटुरोगी ६ हजार ९३६ जना, हेड इन्जुरी भएका ७६१ जना, स्पाइनल इन्जुरी भएका १ हजार २३९ जना, पार्किन्सनका  ७९ जना, अल्जाइमर्सका ३५ जना र सिकलसेलका १ हजार ५६१ जना बिरामीले सरकारबाट उपचार सहयोग लिएका छन्।

सरकारले विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाअनुसार आर्थिक रूपले विपन्न नागरिकलाई विभिन्न ८ रोगको उपचार गराउँदा मिर्गौला प्रत्यारोपणका लागि बढीमा ४ लाख रुपैयाँसम्म र अन्य रोगका लागि १ लाख ५० हजार रुपैयाँसम्म आर्थिक सहयोग दिने व्यवस्था छ।

मिर्गौलाका बिरामीहरुले हप्ताको २ सेसन र त्योभन्दा बढी हेमोडाइलासिस गर्नुपर्ने बिरामीले प्रतिसेसन २५ हजार रुपैयाँ, अंगदाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्क ५० हजार रुपैयाँसम्म, सेरोपोजेटिभ संक्रमण भएका बिरामीलाई प्रतिसेसन हेमोडाइलासिसको ४ हजार रुपैयाँ, पेरिटोनियल डायलासिस प्रति प्याकेज ५०१ रुपैयाँ सहुलियत प्रदान गर्ने व्यवस्था निर्देशिकामा छ।

विभिन्न प्रकारका मुटु रोगमा, विभिन्न प्रकारका क्यान्सर रोग, पार्किन्सन, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमियाका बिरामीले १ लाख रुपैयाँसम्म सहुलियत पाउँदै आएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0