<

इन्दीप कोइराला,बारा, १ भदाैं ।

श्रीमतीको हत्या गरी बीमा कम्पनीबाट क्षतिपूर्ति रकम लिने एक जनासहित बारा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

 

आफ्नै श्रीमतीको हत्या गर्ने बारा कलैया उपमहानगरपालिका- २६ का नाथु देवानलाई प्रहरीले पक्राउ गरेको हो ।

 

देवानसँगैं श्रीमतीको मृत्यु भए बीमाबाट मोटो रकम आउने भन्दै उनलाई उक्साएको आरोमा एशियन लाईफ ईन्सुरेन्स कम्पनीका अभिकर्ता कलैया निवासी नासिर अंसारी पनि पक्राउ परेका छन् । यस्तै पक्राउ परेका अर्का एकजनाको नाम खुल्न सकेको छैन ।

 

पक्राउ परेका देवानले अन्दाजी ४० वर्षिया पत्नी हजरा खातुनको नाममा एशियन लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड शाखा कलैयामा ५० लाख रुपैंयाको जीवन बीमा गराएका थिए । गत वर्ष भदौमा हजाराको मृत्यु भएको थियो । बीमा अभिकर्ता अन्सारीमार्फत उनले श्रीमती खातुनको नाममा २०७८ साल असार २९ गते दोहोरो बीमाङ्क सुविधासहित २५ लाख र २५ लाख गरी कूल ५० लाख रुपैयाँको बीमा गराएका थिए ।

 

हजाराको गतबर्ष भदौमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भनिएको थियो । सवारी दुर्घटनामा मृत्यु भएको भनी आवश्यक कागजात बनाएर उनले बीमा दावी गरेपछि २०८० साल असारमा बीमा कम्पनीले देवानलाई १ करोड २ लाख ५६ हजार ५७५ रुपैया क्षतिपूर्ति भुक्तानी गरेको थियो ।

 

देवानले बीमाबाट रकम बुझिसकेपछि देवान पत्नी हजराकोे मृत्यु शंकास्पद भएको सूचना पाएको प्रहरीले देवानलाई सोही समयदेखि निगरानीमा राखेको थियो । देवानले श्रीमतीको आफूले नै हत्या गरेर दुर्घटनाको नाटक गरेर बीमा कम्पनीबाट रकम निकालेको भन्दै हिँडेको पाईए पछि उनीहरुलाई सोमवार प्रहरीले पक्राउ गरेको हो । उनले घाँटीमा सलले बेरेर श्रीमतीको हत्या गरेका थिए ।

 

बीमाबाट रकम लिन पत्नी हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको बारा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । ‘बीमा कम्पनीबाट क्षतिपूर्ति रकम लिनकै लागि श्रीमतीको हत्या गरिएको पुष्टि भएको छ, उनले भने, घटनाको गहिरो गरी अनुसन्धान भइरहेको छ ।’ घटनामा अझै केहीको संलग्नताको आशंका छ । विस्तृत विवरणका लागि दुई दिन अझै पर्खिन पनि उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0