ललितपुर,०२ गते माघ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले होटल उद्योग तथा पर्यटन क्षेत्र नेपालको राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बताउनुभएको छ ।
उपराष्ट्रपति यादवले शुक्रबार ललितपुर ग्वार्कोस्थित होटल रोयल तुलिपमा होटल संघ नेपालद्वारा आयोजित ‘हिरक जयन्ती’ समारोहको उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो ।
उहाँले होटल उद्योगले रोजगारी सिर्जना, सांस्कृतिक आदान–प्रदान, अन्तर्राष्ट्रिय पहिचान र कूटनीतिक सम्बन्ध सुदृढीकरणमा उल्लेखनीय योगदान पु¥याउँदै आएको बताउनुभयो । संघको छ दशक लामो यात्रा उपलब्धि र संघर्षले भरिएको प्रेरणादायी अध्याय भएको उल्लेख गर्दै उहाँले भविष्यका चुनौतीलाई अवसरमा रूपान्तरण गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।
‘होटल संघ नेपालको ‘हिरक जयन्ती’ विगतका सफलताहरूलाई स्मरण गर्दै भविष्यका चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने प्रेरणा दिन्छ’ उहाँले भन्नुभयो, ‘नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र अतिथिसत्कारको परम्परा विश्वकै अनुपम सम्पदा हुन् । यी सम्पदालाई व्यवस्थित, दिगो र नवप्रवर्तनशील होटल उद्योगमार्फत विश्वसामु प्रस्तुत गर्नु हाम्रो साझा जिम्मेवारी हो ।’
यस अवसरमा आयोजित ‘नेपाल हास्पिटेलिटी डे २०२६’ तथा ‘द होटल एक्स्पो एण्ड फूड फेस्ट २०२६’ जस्ता कार्यक्रमहरूले नेपालको पर्यटन उद्योगलाई विश्वसामु उजागर गर्ने विश्वास व्यक्त गर्दै उपराष्ट्रपतिले दिगो पर्यटन, हरित अर्थतन्त्र, डिजिटल रूपान्तरण र अन्तर्राष्ट्रिय साझेदारीलाई संघले प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले विगतमा आन्दोलनका क्रममा होटल व्यवसायीले भोग्नुपरेका दुखद घटनाबाट पाठ सिकेर शान्तिपूर्ण संवाद र सहमतिको संस्कृतिलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । पर्यटकको सुरक्षा, सुविधा र सम्मान सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले वातावरणमैत्री होटल सञ्चालन, गुणस्तरीय सेवा र आत्मीय आतिथ्यलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उपराष्ट्रपति यादवले संघको योगदानले नेपालको पर्यटनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्दै भन्नुभयो, ‘होटल उद्योगलाई सुरक्षित राख्नु व्यवसायीको हित मात्र नभई राष्ट्रिय प्रतिष्ठा र अन्तर्राष्ट्रिय विश्वासको सवाल हो । पर्यटकलाई सुरक्षित वातावरण, गुणस्तरीय सेवा र आत्मीय आतिथ्य प्रदान गर्नु हाम्रो दायित्व हो, जसले नेपालको छवि विश्वसामु उजागर गर्ने मात्र होइन, दीर्घकालीन आर्थिक लाभ पनि सुनिश्चित गर्दछ ।’
उहाँले होटल संघ नेपालले दिगो पर्यटनलाई प्राथमिकतामा राखी वातावरणमैत्री होटल सञ्चालनमा जोड दिनुपर्ने, डिजिटल प्रविधि र नवप्रवर्तनलाई आत्मसात गर्दै सेवा प्रणालीलाई आधुनिक बनाउनुपर्ने तथा अन्तर्राष्ट्रिय साझेदारी र लगानीलाई आकर्षित गर्ने रणनीति अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
समारोहमा उपराष्ट्रपति यादवले होटल संघ नेपालका पदाधिकारी, सदस्य तथा सम्पूर्ण पर्यटन व्यवसायीलाई हार्दिक बधाई दिँदै भन्नुभयो, ‘तपाईंहरूको निरन्तर परिश्रम, लगनशीलता र समर्पणले नेपाललाई विश्व पर्यटन नक्सामा अझ उजागर गर्नेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण राख्दै समृद्धि, विकास, सुशासन र दिगो शान्तिको यात्रामा होटल उद्योगले अग्रणी भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।’








