आरके श्रीवास्तव,राैतहट,असाेज १७ गते ।
रौतहटको विभिन्न ठाउँमा दुर्गा पूजाको समापनसँगै आज माता दुर्गाको प्रतिमा बिसर्जन हर्षोल्लासका साथ गरिएको छ । एक सातासम्म चलेको दुर्गा पूजा समारोहपछि आज स्थानीयहरूले देवीलाई आँशु भरिएको आँखासहित विदाई गरेका छन् ।
स्थानीयहरूले पूजाको पहिलो दिनदेखि नै भक्तिभावका साथ पूजा, भजन, आरती तथा धार्मिक अनुष्ठानमा संलग्न हुँदै आएका थिए । बिसर्जनका क्रममा महिलाहरूको आँखामा आँशु झल्किएको दृश्यले देवीसँगको आत्मीयता झल्काएको थियो ।
राजदेवी ७ मुडवलवा हनुमत यादवका अनुसार, “माता दुर्गा विना यो गाउँ सुनसान लाग्छ । आगमनको दिनदेखि पूजामा लागेको मन आज बिदाइमा भिज्यो।”
बिसर्जनको बेला झाँकी, बाजागाजा र भक्तिभावयुक्त नाराहरू गुन्जिएका थिए । श्रद्धालुहरू दुर्गा माता प्रति कृतज्ञता प्रकट गर्दै ‘जय माता दी’ भन्दै नाचगानमा रमाइरहेका थिए ।
यसै क्रममा जिल्लाको अन्य स्थानहरूमा समेत दुर्गा प्रतिमा बिसर्जन गरिएको छ । जिल्लाका विभिन्न नगर तथा गाउँहरूमा दुर्गा पूजाको विधिपूर्वक समापन गरिएको छ ।
यस धार्मिक अवसरले समुदायमा आपसी एकता र श्रद्धाको भावना अझ प्रगाढ बनाएको छ ।








