२०८३ बैशाख ४
२०८३ बैशाख ४

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाली कांग्रेसको संसदीय दलको बैठक भोली फेरी बस्ने भएको छ । आज बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि भोली फेरी सहमतिको लागि बैठक बस्ने सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिएका छन् । उनले दलको नेता चयनको लागि कार्य प्रारम्भ भएको जानकारी दिदै भोलि पनि दाबेदारहरूसँग छलफल गर्ने बताए । दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेले दाबि गरेका छन् । अहिले सहमतिमै नेता चयनको प्रक्रिया चलिरहेको बताइएको छ । काँग्रेसले प्रकास रसाइली स्नेहीको नेतृत्वमा संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति बनाएको छ ।

२- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ विपरीत काम गराइएको भन्दै विभिन्न स्वास्थ्य संस्था तथा प्रतिष्ठानहरूबारे गुनासा आएपछि ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका अनुसार केही अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ्ग स्टाफ लगायतलाई नियमअनुसार श्रम सम्झौता नगरी काममा लगाइएको र तोकिएको समयभन्दा बढी काम गराइएको भन्ने उजुरी प्राप्त भएको र प्रशिक्षार्थीहरूबाट समेत यस्ता गुनासा आएको जनाउदै श्रम ऐनअनुसार रोजगारदाता र श्रमिकबीच रोजगार सम्झौता अनिवार्य गर्न निर्देशन दिएको छ ।  साथै मन्त्रालयले दैनिक ८ घण्टा र साप्ताहिक ४८ घण्टाभन्दा बढी काम लगाउन नपाइने, आवश्यक परे सीमित अतिरिक्त समय मात्र काम लगाउन पाइने कानुनी प्रावधान रहेको उल्लेख गर्दै सोहि अनुसार गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै रोजगारदातालाई प्रचलित कानूनको पूर्ण पालना गर्न आग्रह गर्दै साथै, नियमविपरीत कार्य गरेको पाइएमा श्रम ऐन २०७४ अनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ ।

३- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारदेखि नयाँ व्यवस्था लागू गरेको  छ ।  नयाँ नियमअनुसार कुनै पनि कम्पनीको सेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन सक्ने छ, जुन यसअघि १० प्रतिशत रहेको थियो । त्यस्तै, कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि र नेप्से परिसूचक ८ प्रतिशतले घटे वा बढेमा सो दिनको बाँकी सबै कारोबार बन्द गरिने व्यवस्था गरिएको छ । नेप्सेले नेपाल धितो पत्र बोर्डको स्वीकृतिमा धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ कार्यान्वयनमा ल्याउन साबि धितोपत्र कारोबार सदस्यहरुलाई निर्देशन दिएको छ ।

४- इरानले अस्थायी युद्धविराम स्वीकार नगर्ने स्पष्ट गरेको छ । एक कूटनीतिक मञ्चमा इरानका उपविदेशमन्त्री सईद खातिबजादेहले आंशिक वा अस्थायी युद्धविराम स्वीकार्य नहुने बताएका हुन् । उनका अनुसार सम्पूर्ण क्षेत्रमा एकैपटक युद्ध अन्त्य हुनुपर्नेछ । लेबनानदेखि रेड सागर क्षेत्रसम्म स्थायी रूपमा द्वन्द्व अन्त्य भए मात्र कुनै पनि युद्धविराम मान्य हुने उनको भनाइ छ । उनले यसलाई इरानको ‘रेड लाइन’का रूपमा प्रस्तुत गरेका छन् । खातिबजादेहले होर्मुज जलडमरूमध्य ऐतिहासिक रूपमा सबैका लागि खुला रहँदै आएको उल्लेख गर्दै यसको प्रयोगमा कुनै अवरोध नरहेको बताए । यसैबीच इरानले अमेरिका र इजरायलमाथि क्षेत्रीय अस्थिरता बढाएको आरोप लगाएको छ । इरानका अनुसार यस अवस्थाले विश्व व्यापार र अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पारेको छ ।

५- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगरका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र शाखा अधिकृत (करार) याम कुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार कार्कीले अनुसन्धानका क्रममा पेश गरेको एक सरकारी पत्र शंकास्पद देखिएपछि छानबिन गरिएको थियो । उक्त पत्रमा कार्यालयको काममा असर नपर्ने गरी बिहान-बेलुका अतिरिक्त काम तथा अध्ययन-अध्यापन गर्न अनुमति दिएको उल्लेख थियो, तर सो पत्रमा चलानी नम्बर नदेखिएको र अभिलेखमा पनि दर्ता नभएको पाइएको छ । अनुसन्धानका क्रममा मिति २०६२ पुस २९ गतेको उक्त पत्र नक्कली तथा झुट्टा भएको पुष्टि भएको आयोगले जनाएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण र सम्बन्धित कार्यालयको विवरणबाट पनि उक्त कागजात वास्तविक नभएको देखिएको छ । आयोगका अनुसार दुवै आरोपितले मिलेमतोमा सरकारी कागजात, लेटरप्याड र छापको दुरुपयोग गरी गलत लिखत तयार पारेका हुन् । उक्त कागजात प्रयोग गरेर गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानलाई प्रभावित पार्ने र भ्रम सिर्जना गर्ने प्रयास गरिएको बताइएको छ । यसरी गलत लिखत तयार गरी प्रयोगमा ल्याउनु भ्रष्टाचार निवारण ऐन २०५९ अनुसारको कसुर भएको भन्दै दुवैविरुद्ध कैद र जरिवाना माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

६- स्वास्थ्य मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवामा कुनै असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । मन्त्रालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको हो । सोही सन्दर्भमा बिरामीको निरन्तर उपचार सुनिश्चित गर्न स्वास्थ्य संस्थाहरूलाई आवश्यक निर्देशन दिइएको छ । आइतबारका लागि पूर्वनिर्धारित शल्यक्रियाहरू बिरामीको सहजता अनुसार पुनः तालिका मिलाइनेछ भने अन्तरंग र आकस्मिक सेवा भने सधैँझैँ २४सै घण्टा सञ्चालनमा रहने मन्त्रालयले स्पष्ट पारेको छ । बिदाका दिनमा बिरामीले समस्या नपरोस् भनी अस्पतालहरूलाई सम्भव भएसम्म सेवा उपलब्ध गराउन, सेवा उपलब्ध नभए नजिकको उपयुक्त अस्पतालमा सहज रूपमा पठाउन तथा एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न आग्रह गरिएको छ । यसका साथै बिदाका दिन उपलब्ध सेवाबारे जानकारी अस्पतालको वेबसाइट र सूचनापाटीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले अस्पताल सुधार कार्यविधि २०८२ पूर्ण रूपमा लागू गर्दै आगामी दिनमा स्वास्थ्य सेवालाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।

७- संघीय संसद्अन्तर्गत संसदीय समितिका सभापतिहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । आज निर्वाचित समितिका सभापतिहरुलाई सभामुख डिपी अर्यालले पद तथा गोपनियताको शपथ गराएका हुन् । जसमा कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृती अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालको मनोनयन दर्ता भएको छ । त्यसैगरी सार्वजनिक लेखा समितिमा कांग्रेसका भरत बहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग समितिको सभापतिमा रहवर अन्सारी निर्वाचित भएका छन् । त्यस्तै संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ निर्वाचित भयेअका छन् ।  शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाका डा.ओजस्वी शेरचन र संयुक्त समिति अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा रास्वपाका गणेश कार्की विजयी भएका छन् ।

८- युद्धविराम लागू भएसँगै लेबनानमा विस्थापित नागरिकहरू घर फर्किन थालेका छन् । सिडोन शहरमा शुक्रबार बिहानदेखि मानिसहरू आफ्नो बासस्थानतर्फ फर्किएको जनाइएको छ । यस द्वन्द्वका कारण विशेषगरी दक्षिणी लेबनानबाट १० लाखभन्दा बढी मानिस घर छाड्न बाध्य भएका थिए । युद्धविरामपछि सडकहरूमा सवारीसाधनको लामो लाइन देखिएको छ भने सर्वसाधारणले झण्डा फहराउँदै अस्थायी राहतको स्वागत गरेका छन् । कतिपय मानिसहरू पूर्व हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको तस्वीर बोकेर देखिएका छन् । उनलाई सन् २०२४ सेप्टेम्बरमा भएको आक्रमणमा मारिएको थियो । यसैबीच युद्धविरामपछि इजरायलमा भने मिश्रित प्रतिक्रिया देखिएको छ । धेरै नागरिक यस निर्णयप्रति असन्तुष्ट रहेको जनाइएको छ । एक सर्वेक्षणअनुसार अहिले चुनाव भए प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको दललाई घाटा हुन सक्ने देखिएको छ, जसले युद्धविरामप्रति असन्तुष्टि बढेको संकेत गर्दछ । उक्त सर्वेक्षणले ५६ प्रतिशत नागरिक दक्षिणी लेबनानमा सेना कायम रहोस् भन्ने पक्षमा रहेको देखाएको छ । उत्तरी सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूमा भने आक्रोश बढ्दो छ । उनीहरूले यस द्वन्द्वको मूल्य आफ्नै ज्यानले चुकाउनु परेको गुनासो गरेका छन् । एक वरिष्ठ इजरायली अधिकारीलाई उद्धृत गर्दै युद्धविराम अमेरिकाको दबाबमा भएको दाबी गरिएको छ ।

९- नेप्से आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से ५.३६  अंकले बढेर २८३८.३४ विन्दुमा पुगेर रोकिएको छ । आज ३३५ कम्पनिका एक करोड ८० लाख ६३ हजार ७२८ कित्ता शेयर ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार ९८ मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंक, फाइनान्स, लगानी, जीवन वीमा माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीव बीमा क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सुर्यकुण्ड हाइड्रो, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, रिज लाइन इनर्जी को शेयर ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी एशियन हाइड्रोको शेयर ४.५४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको ६६ करोड ८६ लाख बराबर कारोबार भएको छ भने सोलु हाइड्रोको ३७ करोड २६ लाख बराबरको कारोबार भएको छ ।

१०- पीएम कपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य पछाएको आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । आर्मीको जितमा इमरान शेखले अविजित ४६ रन बनाए भने बसिर अहमदले ४५ र तृत राज दासले ३१ रन बनाएका थिए । त्य्सतु सुदूरपश्चिमका बलर हेमन्त धामीले २ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल आउट हुदै १६१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि अशोक धामीले ४३ रन बनाए भने किरण ठगुन्नाले ३५ र नारायण जोशीले २९ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर आकाश चन्द र शहाब आलमले ३-३ विकेट लिएका थिए भने बसिर अहमदले २ तथा कुशल मल्लले एक विकेट लिएका थिए । योसँगै आर्मीले तेस्रो पटक पीएम कपको उपाधि जितेको छ । उपाधि जिते वापत आर्मीले १० लाख नगद पुरस्कार पाएको छ भने उपविजेता बनेको सुदूरपश्चिमले ५ लाख पुरस्कार पाएको छ । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने एपीएफ क्लबले २ पटक जितेको छ ।

११- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) अन्तर्गतको भ्रष्टाचार विरोधी इकाइले क्यानडा क्रिकेटसँग सम्बन्धित सम्भावित भ्रष्टाचारका विषयमा अनुसन्धान अघि बढाएको छ । पछिल्लो पुरुष टी-२० विश्वकपमा क्यानडाले खेलेको एक खेल पनि अनुसन्धानको दायरामा परेको जनाइएको छ । उक्त इकाइले क्यानडा क्रिकेटसँग जोडिएका विभिन्न विषयमा दुई वटा छुट्टाछुट्टै अनुसन्धान गरिरहेको बताइएको छ । अन्तर्राष्ट्रिय र घरेलु दुवै स्तरमा आचारसंहिता उल्लंघन भएको आशंकामा छानबिन भइरहेको छ । यी आरोपहरू क्यानडाको एक अनुसन्धानमूलक वृत्तचित्रमार्फत सार्वजनिक भएका हुन् । वृत्तचित्रमा क्यानडा र न्युजील्याण्डबीच भएको खेलको एक ओभरमाथि विशेष प्रश्न उठाइएको छ । त्यस क्रममा कप्तान दिलप्रीत बजवाले बलिङ गर्दा अस्वाभाविक प्रदर्शन देखिएको आरोप लगाइएको छ । उक्त ओभरमा अतिरिक्त बलहरू सहित धेरै रन खर्चिएको उल्लेख गरिएको छ । अर्को अनुसन्धान भने क्यानडाका तत्कालीन प्रशिक्षक खुर्रम चोहानसँग सम्बन्धित अडियो रेकर्डबाट सुरु भएको हो । उक्त अडियोमा बोर्डका केही सदस्यले आफूलाई विशेष खेलाडी छनोट गर्न दबाब दिएको दाबी गरिएको छ । साथै खेल मिलाउने प्रयाससम्बन्धी संकेतहरू पनि रहेको बताइएको छ, तर त्यसलाई पुष्टि गर्न चुनौती रहेको जनाइएको छ । आइसीसीले अनुसन्धान प्रक्रिया अनुसार काम भइरहेको स्पष्ट पारेको विभिन्न मिडिया रिपोर्टमा उल्लेख छ । यसैबीच, अर्का पूर्व प्रशिक्षक पुवुदु दासानायकेले पनि टोली चयनमा हस्तक्षेप भएको आरोप लगाएका छन् । उनले दबाब नमानेपछि आफ्नो करार अन्त्य गरिएको दाबी गर्दै कानुनी प्रक्रिया अघि बढाएका छन् । क्यानडा क्रिकेट पछिल्लो समय प्रशासनिक विवादमा पनि फसेको छ । नेतृत्व परिवर्तन, आर्थिक समस्या र खेलाडीलाई पारिश्रमिक ढिला हुनेजस्ता विषयहरू पनि सार्वजनिक भएका छन् । यस घटनाक्रमसँगै क्यानडा क्रिकेटमाथि थप निगरानी बढेको छ भने अनुसन्धानको निष्कर्षले आगामी दिनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

१२-  परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमोन अर्नस्टसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल-अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउने तथा व्यापार, शिक्षा र विकास साझेदारीजस्ता क्षेत्रमा पारस्परिक लाभ हुने सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

१३- लेबनानी सेनाले इजरायलले युद्धविराम सम्झौता धेरै पटक उल्लङ्घन भएको बताएको छ । लेबनानी सेनाले लेबनानी गाउँहरूमा धेरै इजरायली आक्रमणहरू रेकर्ड गरेको बताएको हो । लेबनानी सेनाले इजरायलले पनि बेलाबेलामा गोलीबारी गरेको बताएको छ । सेनाले विस्थापित मानिसहरूलाई दक्षिणी शहरहरूमा फर्कँदा सावधानी अपनाउन र खतरनाक क्षेत्रहरूबाट बच्न आग्रह गरेको छ । इजरायलसँग युद्धविरामको घोषणा पछि, आक्रमणका कारण लेबनानमा विस्थापित मानिसहरू आफ्नो घर फर्कन थालेका छन् । लेबनानका धेरै मानिसहरूले युद्धविरामको उत्सव मनाएका छन् । लेबनानमा दस लाख मानिसहरू विस्थापित भएपछि संयुक्त राष्ट्र शरणार्थी प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल सहयोगको लागि अपील गरेका छन् । यी आरोपहरूमा इजरायल वा यसको सेना, आइडिएफबाट कुनै टिप्पणी आएको छैन । यद्यपि, लेबनानसँगको सम्झौता पछि, इजरायलले हेजबुल्लाह आक्रमणहरूको प्रतिक्रियामा मात्र सैन्य कारबाही गर्ने बताएको थियो ।

१४- नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० र एकदिवसीय खेलका लागि अलग अलग कप्तान बनाएको छ । दिपेन्द्र सिंह ऐरीलाई टी-२० को कप्तान बनाइएको छ भने रोहित पौडेलले एकदिवसीय खेलमा मात्र कप्तानी गर्ने भएका छन् । क्यानले टियु क्रिकेट मैदानमा अप्रिल २०  र २१ मा हुने नेपाल र युएईबीचको टी-२० खेलको लागि ऐरीको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । जसमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् । त्यस्तै बैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान रहेका छन् । टी-२० टिमबाट रोहित पौडेल, सोमपाल कामी,आसिफ सेख, करण केसीलाई बाहिर राखिएको छ भने पीएम कपमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई अवसर दिइएको छ । त्यस्तै अप्रिल २५ देखि मे ५ सम्म हुने टियु क्रिकेट मैदानमा हुने नेपाल, युएई र ओमानबीचको आइसीसी डिभिजन लिग-२ अन्तर्गतको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरिएको छ । जसमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र कारण केसी रहेका छन् । त्यस्तै वैकल्पिक खेलाडीमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, ईशान पाण्डे र देव खनाल रहेका छन् ।

१५-  इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५ मिनेटमै सम्पर्कविहीन भएको थियो । उद्धार निकायका प्रमुख मोहम्मद स्याफीले हेलिकोप्टर हराएको क्षेत्र घना जंगल र पहाडी भूभागले भरिएको भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको बताएका छन् । उद्धार टोलीले हेलिकोप्टरको पुच्छरजस्तो देखिने भाग अन्तिम पटक सम्पर्क भएको स्थानभन्दा करिब ३ किलोमिटर पश्चिमतर्फ फेला पारेको जनाएको छ ।  दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन । हेलिकोप्टरमा ६ यात्रु र २ चालक दलका सदस्य सवार थिए र सबैको ज्यान गएको पुष्टि गरिएको छ । सेना र प्रहरीको सहयोगमा उद्धार टोली स्थलमार्ग हुँदै घटनास्थल पुग्ने प्रयास गरिरहेको छ । उक्त हेलिकोप्टर पाम तेल कम्पनीको प्लान्टेशन क्षेत्रबाट उडेको र एक निजी उड्डयन कम्पनीअन्तर्गत सञ्चालनमा रहेको बताइएको छ ।

१६-  नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ३ हजारले घटेर तोलाको २ लाख ९९ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख २ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले घटेर ५१३० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५२५० मा कारोबार भएको थियो ।

१७- अमेरिका र इरानबीचको तनाव झन् बढ्दै गएको छ । अमेरिकाले इरानमाथि दबाब बढाउँदै उसका बन्दरगाहमा गरिएको नाकाबन्दी लामो समयसम्म जारी राख्ने संकेत दिएको छ । अमेरिकी प्रशासनका वरिष्ठ अधिकारी स्टीफन मिलरले आवश्यक परे यो कदम अनिश्चित समयसम्म पनि जारी रहन सक्ने बताएका छन् । उनले नाकाबन्दीका कारण इरानको अर्थतन्त्र प्रभावित भइरहेको र सहमतिमा नआए अमेरिकाले दबाब अझै बढाउन सक्ने बताएका छन् । यता इरानले भने कडा प्रतिक्रिया दिएको छ । इरानले आफ्नो हित सुरक्षित नभएसम्म होर्मुज जलडमरूमध्य नछोड्ने स्पष्ट पारेको छ । इरानी नेतृत्वका सैन्य सल्लाहकार मोहसिन रेजाईले यो क्षेत्र आफ्नो लागि अत्यन्तै महत्वपूर्ण रहेको र आर्थिक तथा समुद्री हित जोगाउन नियन्त्रण कायम राखिने बताएका छन् । रेजाईका अनुसार अब हुने कुनै पनि सहमति विगतका अनुभवबाट सिकेर सावधानीका साथ गरिनेछ र वार्ताका सर्तहरू इरानले नै तय गर्नेछ । यसैबीच चीनका विदेशमन्त्री वाङ यीले इरानसँग जहाजहरूको सुरक्षित र अवरोधविहीन आवागमन सुनिश्चित गर्न आग्रह गरेका छन् । इरानी सेना प्रमुख आमिर हातामीले देशको रक्षा गर्न आफूहरू जस्तोसुकै बलिदान दिन तयार रहेको बताएका छन् । उनले अमेरिका र इजरायललाई चेतावनी दिँदै इरानलाई झुकाउने प्रयास कहिल्यै सफल नहुने दाबी गरे । यसबीच अमेरिकी सेनाले इरानबाट निस्कन खोजेका १३ वटा जहाज फर्काइदिएको जनाएको छ । नाकाबन्दी सुरु भएयता कुनै पनि जहाजले मार्ग पार गर्न नसकेको अमेरिकी पक्षले दाबी गरेको छ । उता अमेरिकी प्रतिनिधि सभाले इरानविरुद्धको युद्ध रोक्ने प्रस्ताव अस्वीकार गरेको छ । विपक्षी दलले ल्याएको प्रस्ताव एक मतले खारेज गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा समर्थन देखाइएको छ ।  अर्कोतर्फ ट्रम्पले इरानसँग वार्ता भइरहेको र सम्झौता हुनसक्ने दाबि गरेपनि इरानबाट यसको खण्डन गरिएको छ ।

१८- नेपाली काँग्रेसले  गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाही गर्ने बारे आफ्नो धारणा सार्बजनिक गरेको छ ।  बुधबार र बिहिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अहिलेसम्म कार्की आयोगको प्रतिवेदन विधिसम्मत किसिमले सार्बजनिक समेत नगरेकोप्रति ध्यानाकर्षण गराउदै यसलाई हेपाहा प्रवृति भनेको छ । साथै काँग्रेसले कार्की आयोग र  मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन पनि तत्काल सार्वजनिक गर्न माग समेत गरेको छ ।  कार्की आयोगका विषयमा काँग्रेसले प्रतिवेदन अपूर्ण, एकतर्फी र चयनात्मक भएको निष्कर्ष निकालेको छ ।  प्रतिवेदनको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको भन्दै काँग्रेसले आयोगले भदौ २४ गतेका घटनाहरूको पर्याप्त अध्ययन नगरेकोले आफ्नो कर्तव्य पालनामा आयोग निष्पक्ष, इमानदार र जिम्मेवार हुन नसकेको ठहर गरेको छ । काँग्रेसले भदौ २४ गते बढी मानवीय तथा भौतिक क्षति भएको अवस्थामा पनि पर्याप्त छानबिन नहुनुले पीडितहरूले न्याय पाउने विषय र राज्यको जवाफदेहितालाई कमजोर बनाएको भन्दै भदौ २४ गतेका घटनाको निष्पक्ष, गहिरो र स्वतन्त्र छानबिन गर्न प्राविधिक तथा विशेषज्ञ सहितको उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ । साथै, जाँचबुझ आयोगहरूको कार्यसम्पादन, निष्पक्षता तथा प्रतिवेदनको गुणस्तरमा संसदीय निगरानीका लागि संसदीय विशेष समिति गठन गर्न समेत काँग्रेसले माग गरेको छ । काँग्रेसले कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न र सुझाव दिन वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा समिति नै गठन गरेको थियो।

१९- युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ ।  गएराती क्वाटरफाइनलका दोस्रो लिगका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको हो ।  यस सिजनको युरोपा लिगमा एस्टन भिल्ला, एससी फ्रेइबर्ग, नोट्टीङघम फरेस्ट र ब्रागा पुगेका छन् ।  पोर्चुगलको क्लब ब्रागाले स्पेनिस क्लब रियल बेटिसलाई समग्रमा ५-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने जर्मनीको क्लब एससी फेईबर्गले स्पेनिस क्लब सेल्टा भिगोलाई समग्रमा ६-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । अब सेमिफाइनलमा ब्रागा र एससी फेईबर्गबीच खेल हुने छ ।   त्यस्तै इङलिश प्रिमियर लिग क्लब एस्टन भिल्लाले इटालियन क्लब बोलोग्नालाई समग्रमा ७-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ भने प्रिमियर लिग क्लब नोट्टीङघम फरेस्टले पोर्चुगीच क्लब पोर्टोलाई समग्रमा २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । अब सेमिफाइनलमा एस्टन भिल्ला र नोट्टीङघम फरेस्ट खेल्ने छन् । युरोपा लिगका सेमिफाइनलको पहिलो लिग अप्रिल ३० र दोस्रो लिग मे ७ मा हुने तालिका रहेको छ ।

२०-  पञ्जाव किंग्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जाव किंग्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १९६ रनको लक्ष्य पछाएको पञ्जावले १६.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पञ्जावका लागि प्रभसिमरन सिंहले अविजित ८० रन बनाएका थिए भने कप्तान श्रेयस अय्यरले ६६ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गरेको मुम्बईले क्वेंटन डिककको ११२ रनको शतकीय पारी र नमन धीरको ५० रन मद्धतले २० ओभरमा ६ विकेट गुमाएर १९५ रन बनाएको थियो । यो जितपछि पञ्जाव ५ खेलमा ९ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै मुम्बईले भने ५ खेलमा चौथो हार बेहोरेको छ । एभरेष्ट न्यूज एजेन्सी,

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।