२०८२ कार्तिक २६
२०८२ कार्तिक २६

हनुमत यादव,गाैर,कार्तिक २५ गते । 

नेकपा एमाले द्वारा पुर्व निर्धारित कार्यक्रमअनुसार गौर नगर कमिटीद्वारा आयोजित पालिका स्तरीय बृहत जनप्रदर्शन कार्यक्रम गौरमा भव्य तथा सभ्य ढंगले सम्पन्न गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजय गुप्ता, के. स. रेखा झा, र पालिका इन्चार्ज श्याम सुन्दर पटेल सहित पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थितिमा जनप्रदर्शन सम्पन्न भएको हो ।

जनप्रदर्शनमा सहभागीहरूले पार्टीको नीतिगत अडान र संगठन सुदृढीकरणका सन्देशहरू जनतालाई सुनाएका थिए । कार्यक्रमलाई अनुशासित र उत्साहजनक बनाउनेतर्फ स्थानीय कार्यकर्ताहरू सक्रिय देखिएका थिए ।

एमाले गौर नगर कमिटीका अनुसार यस जनप्रदर्शनले स्थानीय स्तरमा पार्टीको एकता र जनसमर्थनलाई थप सुदृढ बनाएको छ ।

हनुमत यादव,गाैर, २५ कार्तिक ।

नेकपा (एमाले) केन्द्रीय कमिटीको निर्णयअनुसार देशभरका पालिकामा आयोजित जुलूस, भेला र कोणसभा कार्यक्रम अन्तर्गत रौतहटको राजदेवी नगरपालिकामा समेत आज भव्य कार्यक्रम सम्पन्न गरिएको छ ।

राजदेवी नगरकमिटीको आयोजनामा भएको सो कार्यक्रमको अध्यक्षता नगरअध्यक्ष संजय यादवले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा केन्द्रीय लेखा आयोगका सदस्य राज किशोर प्रसाद यादव उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा प्रदेश कमिटी सदस्य राम पुकार दास र मिथलेश यादव सहभागी थिए ।

त्यसैगरी, अतिथिका रूपमा जिल्ला कमिटी सदस्यहरू नारायण दास, शैफ अली, प्रदीप साह, धनपत यादव, उर्मिला देवी, लेखा सदस्य सत्यनारायण यादव र पूर्व गाविस अध्यक्ष अनंत साहको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले नेकपा (एमाले)को नीति, कार्यक्रम र जनहितका अभियानबारे जानकारी गराउँदै आगामी राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि कार्यकर्ता र जनतालाई आह्वान गरे ।

जुलूस, भेला र कोणसभामा सैकडौं कार्यकर्ता तथा स्थानीय जनताको उत्साहपूर्ण सहभागिता रहेको नगरकमिटीले जनाएको छ ।

आरके श्रीवास्तव,राैतहट,कार्तिक २५ गते । 

रौतहटका प्रख्यात साहित्यकार सञ्जय साह मित्रलाई ५० हजार रुपैयाँ राशिको ‘कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी पुरस्कार’ प्रदान गरिने भएको छ । बज्जिका साहित्य समाज सर्लाहीले नवस्थापित उक्त पुरस्कार मित्रलाई दिने निर्णय गरेको हो ।

समाजका अध्यक्ष रामचन्द्र महतो कुशवाहाका अनुसार पुरस्कारका लागि उपयुक्त पात्र छनोट गर्न गठन गरिएको तीन सदस्यीय समितिले मित्रको नाम सिफारिस गरेको थियो । समितिमा अध्यक्ष महतो संयोजक रहँदा सदस्यहरूमा विनिताकुमारी साह र गुडीकुमारी साह रहेका थिए ।

बज्जिका र नेपाली दुवै भाषामा लामो समयदेखि साहित्य सेवा गर्दै आएका मित्रलाई ५० हजार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मानित गरिने समाजले जनाएको छ । मित्रका बज्जिका र नेपाली भाषामा गरी डेढ दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनले हिन्दी भाषामा पनि साहित्य सिर्जना गरेका छन् ।

भाषा, साहित्य, संस्कृति, समीक्षा, समालोचना तथा अनुसन्धानका क्षेत्रमा सक्रिय मित्रका कृतिहरू हाइकुदेखि महाकाव्यसम्म रहेका छन् । यसअघि नेपाल सरकारको संस्कृति मन्त्रालयबाट प्रादेशिक प्रतिभा (साहित्य) पुरस्कार र बज्जिका शिरोमणि उपाधि प्राप्त गरिसकेका छन् ।

यसै क्रममा ‘कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी सम्मान’बाट समाजसेवी दीनबन्धु झा, मानव अधिकारकर्मी मुकेशकुमार मिश्र, साहित्यकार सञ्जय महतो राज, विजय यादव निर्बिज, ममता मृदुल, बुद्धवीर लामालगायतलाई सम्मानित गरिने भएको छ ।

भारतका साहित्यकार मणिभूषण प्रसाद सिंह अकेला, सन्तोष चौधरी, हंसलाल साह र हेमा सिंहलाइ पनि सो अवसरमा सम्मान गरिने अध्यक्ष कुशवाहाले जानकारी दिएका छन् ।

सर्लाहीकै विष्णु गाउँपालिकाका सेवा निवृत्त प्रहरी कर्मचारी महानन्द झाले आफ्ना दाजु स्व. सदानन्द झाको स्मृतिमा यो पुरस्कार तथा सम्मान स्थापना गरेका हुन् । पहिलोपटक ठूला राशिको यो अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान कार्यक्रम मंसिर ६ गते शनिबार सर्लाही सदरमुकाम मलंगवामा आयोजना गरिनेछ ।

कार्यक्रममा नेपाल र भारतका बज्जिका, नेपाली तथा हिन्दी भाषाका अग्रणी साहित्यकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

काठमाडौं, २५ कात्तिक ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिलेको व्यवस्था असफल भइसकेकाले अन्तरिम संविधान र नयाँ अन्तरिम सरकार गठन गरेर देशलाई निकास दिनुपर्ने बताएका छन् ।

तनहू जिल्लाको दुलेगौंडा शुक्लागण्डकीमामा आजपाद्धारा आज (मंगलबार) आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दैै उनले अन्तरिम सरकार र अन्तरिम संविधानले मात्रै जेनजी आन्दोलनको माग पुरा गर्न सक्ने भएकाले सोही अनुसार अगाडी बढनुको विकल्प नभएको उनले बताए ।

जेन–जी आन्दोलनमा चरम दमन गर्ने र युवाहरुको छाती र टाउकोमा ताकिताकि गोली हान्नेहरुले नै आज चुनाव हुन नदिने भनेर चूनौति दिन थालेको भन्दै आजपा अध्यक्ष साहले देशभक्त, प्रगतिशील र राष्ट्रवादी जनता जागरुक हुनुपर्ने आवश्यकता औंल्याए ।

‘जेनजी आन्दोलनको माग पुरा गर्नुको साटो सरकार अलमलमा परेको जस्तो छ । निर्वाचनको वातावरण बनाउन ध्यान छैन् । जेनजीका हत्यारा, भ्रष्टाचारीलाई कारबाही गर्नुको साटो सरकार उल्टोबाटोमा हिडेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘अहिलेको व्यवस्था पूर्णरुपमा असफल भइसकेको छ । अन्तरिम सरकार र अन्तरिम संविधानले मात्रै जेनजी आन्दोलनको माग पुरा हुन्छ ।’

२१ फागुनको चुनाव फेस गर्न एमाले डराउनुको कारण ओलीको दम्भकारी शासन र अहंकारलाई युवाहरुको बलमा जनताले दुई दिनमै धुलो चटाएको र अहंकार उतारिदिनु नै प्रमुख कारण भएको साहको टिप्पणी छ । उनले भने, ‘एक त केपी ओलीहरु अहिले लुकेर बस्नुपरेको छ, अर्को भर्खरै युवाहरुलाई ताकिताकि गोली हानेर मारिएको छ, अनि यिनीहरु कुन मुख लिएर जनतामा जान्छन् ? जनताले यी हत्यारा शासकहरुको मुख नै हेर्न चाहेका छैनन् ।’

जाँचबुझ आयोगले पनि भदौ २३ गते युवाहरुको हत्यामा संलग्न शासकहरुलाई अहिलेसम्म बयान लिन नसक्नु निकम्मापन भएको भन्दै उनले आयोगका पदाधिकारीको क्षमतामाथि नै प्रश्न उठाए । उनले गृहमन्त्री ओमप्रकाश अर्याल सस्तो लोकप्रियतामा रमाएको र जाँचुबझ आयोगका पदाधिकारी पनि कमजोर मनोवल बोकेर बस्दा हत्याराहरुको चाहीँ मनोवल उकासिएको टिप्पणी गरे ।

‘शान्ति, सुरक्षा र अमचनयन गर्ने जिम्मा पाएका गृहमन्त्रीलाई कहिले बालेनले धम्काएको छ, कहिले जेनजी अगुवाले राजीनामा मागेका छन्, अनि गृहमन्त्री लुतेजस्तो देखियो, निरीह देखियो, यस्तो निरीहपनले देशमा चुनाव हुन्छ ?’ सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको दुई महिना पुगे पनि जेनजी युवाहरुको हत्यारालाई कारबाही प्रक्रिया अघि नबढ्नुमा सरकार र हत्याराहरुको नेक्ससको गन्ध आएको साहको आरोप छ ।

उनले अहिलेको सरकारले देशलाई पार लगाउने छाँटकाँट नदेखिएको पनि शंका व्यक्त गरे । तर, २१ फागुनमा चुनाव गराउने दायित्वबाट नभाग्न र आफ्नो सत्ता लम्ब्याउने षड्यन्त्र नगर्नपनि उनले यो सरकारलाई चेतावनी दिए । उनले भने, ‘जति नै षड्यन्त्र गर्नुहोस, चुनाव त तपाईंले गराउनैपर्छ, नत्र तपाईंहरुलाई जनताले कान समातेर जिम्मेवारी सम्झाईदिनेछन् ।’

आरके श्रीवास्तव,राैतहट,कार्तिक २५ गते ।
नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले हालको सरकारले संविधान र कानुन विपरीत काम गरिरहेको आरोप लगाएका छन् । कटहरियामा आयोजित नेकपा एमालेको पालिका स्तरीय जनप्रदर्शन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कुशवाहाका अनुसार, “जेनजी आन्दोलनका क्रममा संविधानलाई कमजोर पार्ने प्रयास विदेशी शक्तिले गरेको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाभिमान बचाउन खोज्दा देशमा विध्वंस मच्चाइयो,” उनले भने।

उनले लिपुलेख, लिम्पियाधुरा र कालापानी नेपालकै भूभाग भएको पुनः स्मरण गराउँदै त्यस विषयमा एमालेले सधैं राष्ट्रिय स्वाभिमानको पक्षमा आवाज उठाएको बताए । उनले पार्टीको केन्द्रीय सर्कुलरअनुसार नै उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कुशवाहाले कटहरियालाई हाईवेसँग जोड्ने कार्यमा आफ्नो भूमिका रहेको उल्लेख गर्दै विकास र जनताको हितमा एमाले प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा नेकपा एमालेका नेता उपेन्द्र साहले देशमा शान्ति–सुरक्षा कमजोर भएको प्रति चिन्ता व्यक्त गर्दै सरकारले तत्काल सुधारात्मक कदम चाल्नुपर्ने सुझाव दिए ।
त्यसैगरी, कटहरिया–४ का वडा अध्यक्ष चन्दन कुशवाहाले एमाले गरिब र कमजोर वर्गको पार्टी भएको बताउँदा, वडा नं. २ का अध्यक्ष हरिन्द्र साहले नगरपालिकामा व्याप्त बेथितिबारे प्रकाश पारे ।

कटहरिया–३ का वडा अध्यक्ष श्यामाकान्त यादवले जबज सिद्धान्तको सरकार दबिएका र पिछडिएका वर्गका लागि काम गरेको स्मरण गराए भने फतुवा बिजयपुर–१ का पूर्व वडा अध्यक्ष संजय प्रसादले जेनजी आन्दोलनलाई बाह्य षड्यन्त्र भएको बताए । उनका अनुसार, “विश्वका शक्तिशाली मुलुकलाई चुनौती दिन सक्ने नेता केपी शर्मा ओली नै हुन्।”

कार्यक्रममा नेकपा एमाले कटहरियाका इञ्चार्ज रामजी साह लगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।


कार्यक्रमपछि कटहरिया बजारमा जनप्रदर्शन समेत गरिएको थियो । सो क्रममा “केपी ओली जिन्दावाद”, “तोड़फोड़ गर्ने लाई कारबाही गर”, “शान्ति–सुरक्षा कायम गर” जस्ता नाराहरू लगाइएका थिए ।

आरके श्रीवास्तव,राैतहट,कार्तिक २४ गते ।

रौतहटको कटहरिया बजारस्थित विवाह मण्डप भवनमा आज सम्पन्न चिठ्ठा कुपन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । श्री दुर्गा पूजा समिति, कटहरिया–५ द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा ४ हजारभन्दा बढी कुपन काटिएको समितिका सहयोगी तथा निराला जेनरल स्टोरका सञ्चालक महाशक्ति साहले जानकारी दिनुभयो ।

साहका अनुसार, “स्थानीय व्यापारी र उपभोक्ताबीच आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले यो योजना ल्याइएको हो । जनताको उत्साह र सहभागिता अत्यन्तै उत्साहजनक रह्यो,” उहाँले बताउनुभयो ।

२०८२ साल भदौ १ गतेदेखि असोज १६ गतेसम्म सञ्चालन गरिएको “चिठ्ठा कुपन योजना” अन्तर्गत सहभागीले खरिदमा आधारित कुपन प्राप्त गरेका थिए ।

कार्यक्रममा विभिन्न आकर्षक पुरस्कारहरू चिठ्ठामा परेको थियो । प्रथम पुरस्कार स्मार्ट टिभी – १ जना,द्वितीय पुरस्कार फ्रिज १ जना,तृतीय पुरस्कार साइकल – १ जनालाई परेकाे थियो ।

त्यस्तै
चौथो पुरस्कार धाेनी साबुन – १०० जना, पाँचौं पुरस्कार धाेनी साबुन,छैठौं पुरस्कार एक्सट्रा डिटर्जेन्ट २५ जना,सातौं पुरस्कार नम्बर १०० जनालाई परेको थियोे ।

साहले थप भन्नुभयो, “स्थानीय बजारमा पारस्परिक विश्वास र सहकार्य बढाउन यस किसिमका कार्यक्रमले सकारात्मक प्रभाव पार्छन्। आगामी वर्षहरूमा पनि यस्तो योजना निरन्तर ल्याइनेछ।”

समितिले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै व्यवसायी, उपभोक्ता र सहयोगी संस्थाप्रति आभार व्यक्त गरेको छ।
निराला जेनरल किराना पसल, कटहरिया–५ रौतहटले कार्यक्रमको मुख्य सहयोगीको भूमिका निर्वाह गरेको थियो ।

कार्यक्रममा स्थानीय व्यवसायी, उपभोक्ता तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

हनुमत कुमार यादव ,रौतहट, २४ कात्तिक ।

नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाको आयोजनामा तीन दिने मनोसामाजिक प्राथमिक उपचार (Psychosocial First Aid – PFA) सम्बन्धी उन्मुखीकरण कार्यक्रम गौरमा सुरु गरिएको छ। जिल्ला सदरमुकाम गौरस्थित रेडक्रस भवनको सभाहलमा आयोजित उक्त कार्यक्रम २६ कात्तिकसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा सहभागीहरूलाई तनाव, डर, चिन्ता, आघात जस्ता अवस्थाको सामना गरिरहेका व्यक्तिहरूलाई सहयोग गर्ने आधारभूत सीप तथा व्यवहारिक ज्ञान प्रदान गरिँदैछ। जिल्लाका विभिन्न पालिकाबाट आएका प्रतिनिधिहरू उक्त प्रशिक्षणमा सहभागी छन् ।

प्रशिक्षकहरूले संकटका समयमा कसरी शान्त रहनु, कसरी सक्रिय रूपमा सुनुवाइ गर्न र प्रभावित व्यक्तिको भावना सम्मानपूर्वक सम्बोधन गर्न सकिन्छ भन्नेबारे व्यावहारिक अभ्यासमार्फत प्रशिक्षण दिएका छन्। साथै, आवश्यकता अनुसार थप सहयोग वा रेफरल गर्ने प्रक्रियासम्बन्धी जानकारी पनि दिइएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सभापति राजकिशोर प्रसाद यादवले भने, “प्रकृति–आपदा, महामारी वा सामाजिक घटनाले भौतिक क्षति मात्र होइन, मानिसहरूको मानसिक स्वास्थ्यमा पनि गम्भीर असर पार्छ। त्यसैले राहत र पुनःस्थापनासँगै मनोसामाजिक सहयोग अपरिहार्य छ।”

यस उन्मुखीकरणपछि प्रशिक्षित स्वयंसेवकहरूले जिल्लाभरका प्रभावित समुदायमा गएर मनोसामाजिक सहयोग र परामर्श प्रदान गर्ने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ ।

हनुमत कुमार यादव,गाैर, २४ कात्तिक ।

रौतहटको राजदेवी नगरपालिका–४, गडहियामा करिब ४ करोड रुपैयाँको लागतमा आधुनिक विद्यालय भवन निर्माण हुने भएको छ । सो उद्देश्यका लागि नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भारतको काठमाडौँस्थित भारतीय दूतावास र राजदेवी नगरपालिकाबीच समझदारी पत्र (MoU) मा हस्ताक्षर गरिएको छ ।

उक्त सम्झौता अनुसार विद्यालय भवन निर्माण कार्य भारत सरकारको अनुदान सहयोगमा सम्पन्न हुनेछ । यो परियोजना “उच्च प्रभाव समुदाय विकास परियोजना (High Impact Community Development Project – HICDP)” अन्तर्गत पर्ने हो, जसअन्तर्गत भारतले नेपालका विभिन्न समुदायमा शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

सम्झौता पत्रमा भारत सरकारका तर्फबाट काठमाडौँस्थित भारतीय दूतावासका काउन्सेलर (डीपीआर र रिटर्न्स) अजय कुमार सिंह, नेपाल सरकारका प्रतिनिधि तथा राजदेवी नगरपालिकाका प्रमुख भिखारी प्रसाद यादव लगायतका अधिकारीहरूले हस्ताक्षर गरेका छन् ।

नगरप्रमुख यादवका अनुसार सो भवन निर्माणले गडहिया प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई सुरक्षित र आधुनिक शिक्षण वातावरण प्रदान गर्नेछ । उनले भने, “भारत सरकारको सहयोगमा बन्ने यो विद्यालयले हाम्रो नगरको शिक्षाको स्तर अभिवृद्धि गर्न मद्दत पुर्‍याउनेछ ।

यस परियोजनाले राजदेवी नगरपालिका–४ मा शिक्षा क्षेत्रको भौतिक पूर्वाधार सुदृढ गर्दै विद्यार्थीहरूको सिकाइमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ ।

 

काठमाडौं, २४ कात्तिक ।
COMMON GEN-Z NEPAL ले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । निकास र विकासमा असफल भएकी प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनका हत्यारालाई अझै पक्राउ गरेर कारबाही नगरेको आरोप उनीहरुले लगाएका छन् ।

काठमाडौंको भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लबमा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै COMMON GEN-Z NEPALका अध्यक्ष विकेश साहले जेनजी आन्दोलनका हत्यारा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रमेश लेखकलाई यथासिघ्र पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरे ।

‘जेनजी आन्दोलनको क्रममा युवा विद्यार्थीमाथि ताकिताकि टाउको, छातीमा गोली ठोक्ने र आदेश दिनेलाई अझै पक्राउ गरिएको छैन । केपी ओली, रमेश लेखक सहितलाई यथासिघ्र पक्राउ गरी कारबाही गर्न हामी जोडदार रुपमा माग गर्दछौं,’ अध्यक्ष साहले भने, ‘तर यो सरकारका प्रधानमन्त्री सुशीला कार्की देखी गृहमन्त्री ओमप्रकाश आर्यालय लगायतकाले खुटाकमाएका छन् । अपराधीलाई पक्राउ गर्न किन नसकेको होला ? हाम्रो गम्भिर प्रश्न छ । उनीहरुलाई पक्राउ गर्नु, पक्राउ गर्न नसक्ने हो भने कुर्सी छोडनुस् ।’

जेनजी आन्दोलनकारी सिवि साहले युवा विद्यार्थीको आन्दोलन र रगतबाट बनेको वर्तमान सरकारले अपराधीलाई पक्राउ गरेर कारबाही गर्नुको साटो संरक्षण गरेको गम्भिर आरोप लगाए । मुलुकमा भ्रष्टाचार तिब्ररुपमा बढेको र अनियमितता, कुशासन, कर आतंक, नेताको लुटभ्रष्टाचार, मनोमानी बढदै गएपछि जेजनी आन्दोलन भएको बताउदै उनले आन्दोलनमा दमन गर्ने अपराधीलाई पक्राउ गरी जेलभित्र राख्नुपर्ने उनले बताए । जेनजी आन्दोलनका क्रममा हत्या गरिएका परिवारलाई एक करोड क्षतिपुर्ति र रोजगारको व्यवस्था सरकारले गर्नुपर्ने माग समेत साहले गरेका छन् ।

गत शनिबार काठमाडौंको कोटेश्वरमा जेनजी आन्दोलनकारीको भएको राष्ट्रिय भेलाबाट भएका निर्णय र निष्कर्ष सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा जेनजी आन्दोलनकारी उज्जवल शर्मा, राजन साह, प्रसुना आचार्य, सोनिया पटेल, प्रदिप साह, साहिल साह, सुवास ठाकुर, विकास झा, धिरेन्द्र साह, साइमन साह लगायतकाले जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी, लुटेरालाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रिय भेलाले अन्तरिम संविधान र जेनजी नेतृत्वमा नयाँ सरकार गठनको माग गरेको छ । ⁠जेनजी हत्यारा र देश लुटने भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने, ⁠जेनजी आन्दोलनकारीमाथिको धरपकड बन्द गर्नुपर्ने, ⁠निकास र विकासमा असफल सुशीला कार्की सरकार तुरुन्त विघटन गर्नुपर्ने, ⁠जेनजीमाथि मुद्धा लगाउने निकम्मा गृहमन्त्री ओमप्रकाश अर्यालले राजिनामा दिनुपर्ने, ⁠जेनजी आन्दोलनका शहिद, घाइते परिवारलाई रोजगारी दिनुपर्ने, ⁠जेनजी आन्दोलनका घाइतेको उपचारमा भइरहेको हेलच्क्रयाई बन्द गर्नुपर्ने लगायतका माग भेलाले गरेको छ ।

यि माग पुरा गराउनका लागि विभिन्न संघर्षका कार्यक्रम गरिने निर्णय भएको COMMON GEN-Z NEPAL का महासचिव प्रदिप साहले जनाएका छन् । जेनजी आन्दोलनसंग भएको धोखा बारेमा देशैभरी भण्डाफोर अभियान गर्ने, ⁠जेनजी हत्यारा केपी ओली, रमेश लेखकलाई गिरफ्तारका लागि जनदबाब सृजना गर्ने, ⁠जेनजी आन्दोलनकारीमाथि भइरहेको धरपकडको प्रतिकार गर्ने, ⁠जेनजी आन्दोलनका हत्यारालाई एक हप्ताभित्रमा कारबाही नगरे गृहमन्त्रीलाई ऐरियाबन्दी गर्ने निष्कर्ष भेलाले गरेको महासचिव साहले जनाएका छन् ।

यसैगरी राष्ट्रिय भेलाले सातै प्रदेशमा इन्चार्ज र संयोजकको जिम्मेवारी समेत तोकेका छ ।

जनकपुरधाम,कार्तिक २४ गते ।
मधेश प्रदेशमा हाल भइरहेको राजनीतिक तनाव र आन्दोलनका बीच सामाजिक सञ्जालमा फैलिएका भ्रामक समाचारका सम्बन्धमा नेपाली काग्रेस मधेश प्रदेशका उप सभापती पूर्व मन्त्री मा. बिरेन्द्र प्रसाद सिंहले जनतालाई संयमित रहन आग्रह गरेका छन्।
सिंहले भनेका छन् कि मधेश प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीद्वारा गैर–संवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेपछि सात राजनीतिक दलहरूले विरोध प्रदर्शन गरेका थिए। सो क्रममा कार्यालयभित्र उतेजित आन्दोलनकारिहरुले केही वस्तु तोडफोड गर्न खोज्दा आफुले टेबलको छेउमा रहेको नेपालको राष्ट्रिय झण्डालाई सुरक्षित राख्ने उद्देश्यले वालतर्फ सारिएको दृश्यलाई केही व्यक्तिहरूले ‘झण्डा फालिएको’ भनेर सामाजिक सञ्जालमा गलत रूपमा प्रचार गरेको भन्दै उनले आपत्ति जनाए।
पूर्व मन्त्री सिंहले भने, “नेपाल राष्ट्र र राष्ट्रिय झण्डाप्रति मेरो उच्च सम्मान सदैव रहिआएको छ। भ्रामक समाचार र गलत प्रचारबाट जनमानसमा भ्रम सिर्जना भएको छ भने त्यसप्रति म खेद प्रकट गर्छु।”
उनले सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूसँग यथार्थ तथ्यमा आधारित सूचना मात्र प्रसारण गर्न आग्रह गर्दै भने,
“देश र प्रदेशका संवेदनशील विषयहरूमा भ्रामक समाचारको पछाडि नपरी शान्तिपूर्ण र जिम्मेवार व्यवहार देखाउनु सबैको कर्तव्य रहेको मधेश प्रदेशका सूचना तथा सञ्चार विभागका सचिव निकेश त्रिपाठीले बताए।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।