२०८३ असार १९
२०८३ असार १९

काठमाडौँ । काठमाडौंबाट धनगढीतर्फ उडान भरेको श्री एयरलाइन्सको एक जहाजमा उडानकै क्रममा प्राविधिक समस्या देखिएपछि भैरहवामा आकस्मिक अवतरण गराइएको छ । विमानको ककपिटमा अचानक धुवाँ देखिएपछि चालक दलले तत्काल सुरक्षा प्रक्रिया अपनाएको थियो ।

विमानले आइतबार अपराह्न करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडान भरेको थियो । केही समयमै ककपिट क्षेत्रमा धुवाँ देखिएपछि पाइलटले सतर्कता अपनाउँदै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराएका थिए ।

विमान सुरक्षित रूपमा अवतरण भएको र जहाजमा सवार सम्पूर्ण यात्रु तथा चालक दलका सदस्य सकुशल रहेका छन् । घटनापछि प्राविधिक टोलीले जहाजको विस्तृत परीक्षण सुरु गरेको छ भने ककपिटमा धुवाँ देखिनुको वास्तविक कारणबारे अनुसन्धान अघि बढाइएको छ ।

यसैबीच, भैरहवामा रोकिएका यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन श्री एयरलाइन्सले अर्को जहाज पठाइसकेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका ९ थापा चोकस्थित एक होटलबाट पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ मुखियापट्टी बस्ने २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका ६ सोनीगामा बस्ने १८ वर्षीय सुधिर मुखिया रहेका छन् । चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट काठको बिँड जडान गरिएको ‘इगल राप्टोर’ लेखिएको पेस्तोल एक थान, सोही पेस्तोलको म्यागजिन एक थान, ९ एमएमका एक राउन्ड र ७.६५ एमएमकेएफका चार राउन्ड गरी पाँच राउन्ड गोली बरामद गरेको हो।

दुवै जनालाई हातहतियारसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । सामाजिक सञ्जाल एप स्न्यापच्याटको मूल कम्पनी स्न्यापविरुद्ध अमेरिकाको मिसौरी राज्यमा मुद्दा दायर गरिएको छ । स्न्यापमाथि १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनाका लागि जिम्मेवार रहेको आरोप लगाइएको छ ।

उजुरीमा स्न्यापच्याटका ‘क्विक एड’ र ‘स्न्याप म्याप’ सुविधामार्फत २५ वर्षीय गाब्रियल जोएल भ्यालेन्टिन रियोसले ‘जेएफ’ नामले चिनाइएकी १२ वर्षीया बालिकासँग सम्पर्क स्थापित गरी उनलाई फकाएर शोषण गरेको आरोप लगाइएको छ ।

मुद्दाअनुसार ‘क्विक एड’ सुविधाले भ्यालेन्टिन रियोसलाई ती बालिका र सोही क्षेत्रमा रहेका अन्य नाबालिग बालिकासँग जोडिन सुझाव दिएको थियो । साथै, स्न्यापच्याटले उनलाई मिलनसार युवकका रूपमा देखाएको र ती प्रयोगकर्ता अपरिचित वा जोखिमपूर्ण हुन सक्ने चेतावनी नाबालिग प्रयोगकर्तालाई दिन असफल भएको आरोप पनि लगाइएको छ ।

अदालतमा दर्ता गरिएको उजुरीमा स्न्यापका अधिकारीहरूले ‘डार्क वेब’ मा भेटिएको एउटा पुस्तकबारे जानकारी पाएको उल्लेख छ । उक्त पुस्तकमा स्न्यापच्याटका विभिन्न सुविधाको प्रयोग गरेर किशोर किशोरीलाई कसरी निशाना बनाउने भन्ने तरिकाहरू समावेश रहेको दाबी गरिएको छ ।

‘हिट इनिसियटिभ’ नामक संस्थाले गरेको सर्वेक्षणअनुसार गत वर्ष स्न्यापच्याट प्रयोग गर्ने नाबालिगमध्ये करिब आधाले असुरक्षित सामग्री वा सन्देश देखेको बताएका छन् । यसले बालबालिकाका लागि उक्त मञ्च पर्याप्त सुरक्षित नरहेको भन्दै चिन्ता बढाएको छ ।

स्न्याप मात्र होइन, फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने मेटा, टिकटक, युट्युब तथा अन्य ठूला सामाजिक सञ्जाल कम्पनीहरू पनि विभिन्न कानुनी विवादमा तानिएका छन् । अमेरिकाको क्यालिफोर्निया राज्यका अदालतमा सामाजिक सञ्जालको लतसँग सम्बन्धित तीन हजार तीन सयभन्दा बढी मुद्दा विचाराधीन रहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ । घटनामा ज्यान गुमाउनेको संख्या १८८ पुगेको छ भने एक हजार ५०० भन्दा बढी घाइते भएका छन् । राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले सरकारी टेलिभिजनमार्फत उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प लगभग एकै समयमा आएका थिए । भूकम्पका कारण राजधानी क्षेत्र ग्रेटर काराकास र ला गुआइरा राज्यमा सबैभन्दा बढी क्षति पुगेको छ । अरागुआ, काराबोबो तथा अन्य राज्यहरू पनि प्रभावित भएका छन् ।

भूकम्पपछि हराइरहेका आफन्तको खोजीमा भेनेजुएलाभर परिवारजनले तस्बिरसहितका पोस्टर टाँस्न थालेका छन् । धेरैले हातैले तयार पारेका सूचीमार्फत पनि बेपत्ता व्यक्तिको जानकारी संकलन गरिरहेका छन् भने विदेशमा रहेका भेनेजुएलावासी पनि आफ्ना आफन्तसँग सम्पर्क गर्ने प्रयासमा छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर आपत्काल घोषणा गरेकी छन् । उनले अस्पताल र भत्किएका घरहरूको पुनर्निर्माणका लागि २० करोड अमेरिकी डलरको विशेष कोष स्थापना गरिने जानकारी दिइन् । साथै, उक्त कार्यको अनुगमन गर्न अर्थ तथा वित्त मन्त्रालयलाई निर्देशन दिइएको छ ।

भेनेजुएलाआमा राहत र उद्धारको लागि अमेरिकासहित युरोपका देशहरुले सहयोग गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

विराटनगर । झापाको बिर्तामोड नगरपालिका–३ हटियालाइनस्थित अदुवाखोला पुल नजिकको भित्री सडकखण्डमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

बिहीबार साँझ करिब ७ बजे रामचोकबाट भद्रपुरतर्फ आउँदै गरेको मे १ क ६४३ नम्बरको गिट्टी लोड गरेको टिपरले पैदलयात्री स्थानीय १० वर्षीया अनुकृती चापागाईलाई ठक्कर दिएको हो । गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पुर्‍याइएकोमा चिकित्सकले साँझ ७:२५ बजे मृत घोषणा गरेका हुन् ।

घटनापछि टिपर चालक बुद्धशान्ति गाउँपालिका–१ बस्ने ५३ वर्षीय श्यामप्रसाद दाहाललाई नियन्त्रणमा लिइएको छ । घटनापछि आक्रोशित स्थानीयले टिपरमा तोडफोड गरी अगाडिको सिसा फुटाएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको बिउ राखी आज निर्जला एकादशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ ।

आज बिउ राखिएको तुलसी एक महीनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । यो चार महीने अवधिलाई चतुर्मासा समेत भनिन्छ ।

आयुर्वेदमा उल्लेख भए अनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ । तुलसी भएको स्थानमा मलेरिया फैलाउन सक्ने विषाक्त वायु समेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ । सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् । यसो गर्दा आत्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद बताउछन् । यस्तै महत्व भएको प्रमाणित भएपछि नै ऋषिमुनिले तुलसीलाई घरमा रोपी पूजा आराधना गर्ने रीत बसालेको बताइन्छ ।

तुलसीको पूजा आराधाना हुने घरलाई तीर्थको रुप मानिन्छ । यस्तो घरमा यमदूत समेत प्रवेश गर्दैनन् भन्ने विश्वास समेत छ । तुलसी पत्रले हरि एवं हरको पूजा गर्नेले फेरि गर्भमा आउनु पर्दैन भन्ने मान्यता छ । तुलसीको पूजा आराधना गर्नेले मोक्ष प्राप्ति गर्छन् भनी विभिन्न पुराणमा उल्लेख गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

शिवनाथ कुशवाहा ,रौतहट,०८ गते असार ।

रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गत रहेको इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाका इन्चार्ज प्रहरी निरीक्षक सुरेन्द्र यादवको सफल कार्यकाल पूरा भई सरुवा भएपछि उहाँलाई मायाको चिनो प्रदान गर्दै भावपूर्ण बिदाइ गरिएको छ । कार्यक्रममा सहभागीहरूले इन्स्पेक्टर यादवले आफ्नो कार्यकालमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवाको प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका थिए । यस अवसरमा सरुवा भई जाने क्रममा इन्स्पेक्टर सुरेन्द्र यादवलाई सफल र उज्ज्वल भविष्यको कामना गर्दै सम्मानसहित बिदाइ गरिएको थियो ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाको नयाँ इन्चार्जका रूपमा पदस्थापन भई आउनुभएका प्रहरी निरीक्षक रादेश खत्री लाई हार्दिक स्वागत गरिएको छ । स्थानीय सरोकारवाला तथा शुभेच्छुकहरूले इन्स्पेक्टर खत्रीको नेतृत्वमा यस क्षेत्रको शान्ति सुरक्षा व्यवस्था अझ प्रभावकारी र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । नवनियुक्त इन्चार्ज खत्रीलाई सफल कार्यकालको शुभकामना दिँदै समुदाय र प्रहरीबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा समेत व्यक्त गरिएको छ ।

शिवनाथ कुशवाहा ÷ बारा, असार ८ गते।

“पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा स्वरोजगार“ भन्ने मूल नारासहित बाराको बारागढी गाउँपालिकाको दोस्रो कार्यकालको गाउँसभाको नवौँ अधिवेशन तथा आर्थिक वर्ष २०८३÷०८४ को नीति, कार्यक्रम र बजेट प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको कार्यालय खोपवामा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी राय चौधरीको तर्फबाट लेखा प्रमुख अजय चौधरीले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेट अनुसार आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको कुल अनुमानित आय ३९ करोड ७१ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

 

आयतर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत ९ करोड ८७ लाख रुपैयाँ, सशर्त अनुदान अन्तर्गत शिक्षा, कृषि, पशु तथा स्वास्थ्य क्षेत्रमा १५ करोड ६० लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ८ करोड ७९ लाख ९६ हजार रुपैयाँ, समपूरक अनुदान १ करोड रुपैयाँ तथा विशेष अनुदान ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ६८ लाख ३० हजार रुपैयाँ, राजस्व बाँडफाँड ४१ लाख ३९ हजार रुपैयाँ, सशर्त अनुदान ४० लाख रुपैयाँ, विशेष अनुदान ३० लाख रुपैयाँ तथा समपूरक अनुदान ३० लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ। आन्तरिक आम्दानी ८० लाख रुपैयाँ तथा गत आर्थिक वर्षको बैंक मौज्दात १ करोड रुपैयाँ समेत समावेश गरी कुल बजेट अनुमान गरिएको हो ।

 

व्ययतर्फ चालु तथा प्रशासनिक खर्चका लागि ९ करोड ५९ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ भने कार्यालय सञ्चालन तथा विकास निर्माणसहित पुँजीगत खर्चका लागि १२ करोड ९५ लाख ५९ हजार रुपैयाँ छुट्याइएको छ । संघीय सरकारको सशर्त अनुदान १५ करोड ६० लाख रुपैयाँ, समपूरक तथा विशेष अनुदान १ करोड ५५ लाख रुपैयाँ र प्रदेश सरकारबाट प्राप्त समपूरक, सशर्त तथा विशेष अनुदान गरी १ करोड रुपैयाँ खर्च हुने व्यवस्था गरिएको छ।

गाउँपालिकाले पुँजीगत विकास, आयोजना तथा कार्यक्रमका लागि करिब १३ करोड १४ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । उक्त रकम विषयगत तथा वडागत सिलिङका आधारमा छवटै वडा कार्यालयमार्फत बस्ती तथा टोलस्तरबाट सहभागितामूलक ढंगले संकलित योजनामा खर्च गरिने जनाइएको छ । नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान शिक्षा, कृषि, पशुपालन र स्वास्थ्यलगायतका क्षेत्रमा पूर्वनिर्धारित कार्यक्रमअनुसार खर्च गर्नुपर्ने भएकाले ती शीर्षकमा छुट्टै योजना निर्माण नगरिएको गाउँपालिकाले जनाएको छ ।

 

साथै संघीय तथा प्रदेश सरकारबाट प्राप्त विशेष, समपूरक र सशर्त अनुदान सम्बन्धित योजनामै खर्च गरिने उल्लेख गरिएको छ । गाउँसभालाई सम्बोधन गर्दै अशोक कुमार जयसवालले गाउँपालिकाको समग्र विकास, सुशासन तथा जनमुखी सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताए। उनले विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै गाउँपालिकाका सबै वडामा सन्तुलित विकास सुनिश्चित गरिने उल्लेख गरे।

अध्यक्ष जयसवालले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसँगै रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको जानकारी दिए। त्यसैगरी उपप्रमुख लक्ष्मी देवी राय ले बजेटले महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा विपन्न समुदायको उत्थानका लागि विशेष कार्यक्रम समेटेको बताइन्। उनले समावेशी विकास र सामाजिक न्यायलाई गाउँपालिकाको मुख्य प्राथमिकता बनाइएको उल्लेख गर्दै स्थानीय आवश्यकताअनुसारका योजनाहरू कार्यान्वयन गरिने बताइन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकेश मिश्र ले प्रस्तुत बजेट तथा कार्यक्रमलाई पारदर्शी, प्रभावकारी र परिणाममुखी ढंगले कार्यान्वयन गरिने बताए।

उनले सेवा प्रवाहलाई थप सहज, छिटो र गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्दै विकास योजनाहरू निर्धारित समयभित्र सम्पन्न गर्न प्रशासनिक संयन्त्र पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिए। कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।

पोखरा । पोखरा बसपार्क क्षेत्रको संरचना व्यवस्थापन र सुकुम्वासी बस्तीको तथ्याङ्क प्रमाणीकरणको काम तीव्र पारिएको छ । सम्बन्धित निकायले भ्रमपूर्ण सूचना र भड्काउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ ।

पोखरा बसपार्कभित्र रहेको पेट्रोल पम्पको मेसिन सुरक्षित रूपमा छोपिने तथा भूमिगत इन्धन भण्डारण ट्याङ्की रहेको क्षेत्रको विशेष सुरक्षा गरिने जनाइएको छ । त्यसबाहेकका अन्य संरचना भने हटाइनेछन् ।

सेती नदीतर्फ रहेको बास्तोला कम्प्लेक्ससहित बाँकी संरचना शनिबार हटाउने कार्य सुरु गरिने र संरचना हटाइसकेपछि त्यहाँ रहेका निर्माण सामग्री व्यवस्थापन गरी क्षेत्र पूर्ण रूपमा सफा गरिने बताइएको छ ।

यता, सुकुम्वासी बस्ती व्यवस्थापनअन्तर्गत ५७२ परिवारमध्ये ३३७ परिवारको कागजात प्रमाणीकरण सम्पन्न भएको छ । गलत वा झुट्टा विवरण पेस गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिदै सुकुम्वासी बस्तीको व्यवस्थापन नगरी हटाउने काम नगरिने स्पष्ट पारेको छ । साथै, लालपुर्जा भएका जग्गाधनीहरूको छानबिन कार्य पनि तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।

महानगरले अनधिकृत सूचना प्रवाह तथा राजनीतिक उद्देश्यले गरिने गतिविधिमाथि निगरानी बढाइने बताएको छ । गैर-सुकुम्वासी व्यक्तिहरूलाई सुकुम्वासी नेताका रूपमा प्रस्तुत नहुन पनि आग्रह गरिएको छ । विवरण प्रमाणीकरण प्रक्रिया पूरा भएपछि सुकुम्वासी बस्तीलाई व्यवस्थित रूपमा स्थानान्तरण गरिने जनाइएको छ ।एभरेष्ट न्यूज एजेन्सी

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक क्षेत्रमा भत्काउन बाँकी रहेका घर तथा भवनमा आगामी आइतबारदेखि पुनः डोजर चलाइने भएको छ ।

सडक विभागअन्तर्गत सडक डिभिजन हेटौँडाले त्रिभुवन राजपथको मितेरी पुलदेखि गण्डक चोकसम्म सडकको केन्द्ररेखाबाट दायाँ-बायाँ २५-२५ मिटर सडक सीमाभित्र रहेका बाँकी संरचना हटाउने तयारी गरेको हो ।

यसअघि वैशाख ६ र ७ गते पहिलो चरणमा करिब एक हजार दुई सय घर तथा भवनमा आंशिक रूपमा डोजर चलाइएको थियो। त्यसपछि केही घरधनीले आफैं संरचना हटाए पनि घण्टाघर, माइस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश घर तथा भवन अझै खाली नगरिएको जनाइएको छ ।

सडक विभागले यसअघि सूचना जारी गर्दै सम्बन्धित घरधनीलाई निश्चित समयभित्र आफैं संरचना हटाउन आग्रह गरेको थियो । तर तोकिएको अवधि बितिसक्दा पनि संरचना नहटाइएकाले अब विभाग आफैंले डोजर प्रयोग गरेर बाँकी संरचना हटाउने निर्णय गरेको हो ।

यसका लागि सडक डिभिजन हेटौँडाले वीरगञ्ज महानगरपालिकालाई पत्राचार गर्दै आवश्यक जनशक्ति, सुरक्षा तथा समन्वयमा सहयोग गर्न अनुरोध गरेको छ । सडक विभागले सडक ऐन, २०३१ अनुसार सडक सीमा संरक्षण अभियानअन्तर्गत यो कार्य अघि बढाउन लागेको जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।