२०८३ बैशाख १७
२०८३ बैशाख १७

आरके श्रीवास्तव,राैतहट,असाेज १७ गते । 

जिल्ला प्रशासन कार्यालय रौतहटले आज एक सूचना जारी गर्दै जिल्लामा आगामी केही दिन भारी वर्षा हुन सक्ने पूर्वानुमानसहित सतर्कता अपनाउन सबै सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार, असोज १७ गतेदेखि २० गतेसम्म रौतहट सहितका क्षेत्रमा मनसुनजन्य विपद्‌को जोखिम रहेको बताइएको छ । सम्भावित बाढी, डुबान, पहिरो र अन्य प्राकृतिक विपद्‌का घटनाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्नका लागि जिल्ला प्रशासनले स्थानीय तह, रेडक्रस, सरकारी तथा गैरसरकारी संघसंस्थाहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

 

प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले हस्ताक्षर गरेको सूचनामा उल्लेख भएअनुसार, विपद् आइ परेको अवस्थामा आवश्यक उद्धार सामग्री तयारी अवस्थामा राख्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइएको छ । साथै, विपद्‌का बेला सुरक्षाका उपायहरु अपनाउन सर्वसाधारणहरुलाई सुरक्षा निकाय तथा सञ्चार माध्यममार्फत जानकारी दिने व्यवस्था मिलाइनेछ ।

जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिहरुलाई सक्रिय राखी, क्लस्टर लिड तथा को-लिडहरुले स्वीकृत प्रतिकार्य योजना अनुसार तयारी अवस्थामा रहन भनिएको छ । साथै, विशेष गरी पूर्व–पश्चिम राजमार्गको बागमती नदीदेखि धन्सार खोलासम्मको क्षेत्रमा रातिको समयमा सवारी चलाउँदा सुरक्षा निकायसँग समन्वय गरी यात्रा गर्न सुझाव दिइएको छ ।

 

बाढीको उच्च जोखिम रहेका नदी किनार तथा डुबानमा पर्न सक्ने क्षेत्रका बासिन्दाहरुलाई आवश्यक सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न समेत प्रशासनले आग्रह गरेको छ ।

 

रौतहट प्रशासनले सम्भावित विपद्‌लाई गम्भीरतापूर्वक लिँदै समयमै सतर्कता र पूर्वतयारीका उपायहरू अपनाउन सबैलाई अपिल गरेको छ ।

आरके श्रीवास्तव,राैतहट,असाेज १७ गते । 

रौतहटको मौलापुर नगरपालिका वडा नम्बर १ मर्यादपुरस्थित बकैया नदीमा बाढी छिर्ने खतरा बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी दिनहरूमा नदीमा पानीको बहाव तीव्र हुने प्रक्षेपण गरे पनि सम्बन्धित सरकारी निकायहरू आवश्यक सतर्कता नअपनाएकोमा स्थानीयहरू चिन्तित भएका छन् ।

 

नेपाल पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएका छन् । उनले चेतावनी दिँदै भनेका छन्, “यदि समयमा बाँधको मर्मतसम्भार नगरिएको खण्डमा मर्यादपुर क्षेत्रमा ठुलो जनधनको क्षति हुन सक्छ।”

 

झाले थप भने, “अहिलेको अवस्थामा पनि नदीको बहावले धेरै स्थानमा कटान गरिरहेको छ । स्थानीय बासिन्दाहरू त्रासमा छन्, तर सम्बन्धित निकाय कानमा तेल हालेर बसेका छन्।”

 

स्थानिय बासिन्दाले वर्षेनी आउने वाढीबाट पीडित हुँदै आएका छन् । बाँधको अवस्थालाई ध्यानमा राख्दै अहिले नै पूर्वतयारीमा जुटिनुपर्नेमा जोड दिएका छन् ।

 

हालसम्म जिल्ला प्रशासन कार्यालय वा बाढी नियन्त्रण तथा निकास व्यवस्थापनका लागि जिम्मेवार सरकारी निकायबाट कुनै ठोस कदम चालिएको छैन् । स्थानीयहरूले तत्काल राहत तथा बाँध मर्मत कार्य अघि बढाउन सरकारसँग माग गरेका छन् ।

तस्बिर क्रान्तिद्वार डट कम

 

रौतहट, १७ असोज ।

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले युवाहरुको बलमा ऐतिहासिक जनक्रान्ति हुँदापनि वर्तमान सरकारले उत्सव मनाउन नसकेको भन्दै प्रश्न उठाएका छन् । उनले भने,‘युवाहरुको अदम्य साहसको कारण हाम्रो देशमा भर्खरै ऐतिहासिक जनक्रान्ति सफल भयो, तर त्यही आन्दोलनबाट नया सरकार बनेको छ । युवाहरुले जितेको बेलामा उत्सव मनाउनुपर्नेमा अहिलेको सरकारले शोक भनेर आन्दोलनलाई नै बद्नाम गर्यो ।’

दशैं, दिपावली, छठ पर्वको अवसरमा आज रौतहटको गरूड़ा नगरपालिकाको जयनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले विश्वमा ठूला–ठूला राजनीतिक परिवर्तन र उथलपुथलमा बलिदानी हुने गरेको स्मरण गराउँदै नेपालमा पनि युवाहरुले आफ्नो जीवन बलिदानी दिएर परिवर्तन सम्भव तुल्याएको बताए । तर, जेन–जी पुस्ताको यो ऐतिहासिक जनक्रान्तिको भावनालाई कमजोर तुल्याउने काम गरिएकोमा साहको गुनासो छ ।

उनले भने,‘हरेक आन्दोलन र जनक्रान्तिमा बलिदानी हुन्छ, तर नेतृत्वमा पुगेकाहरुले त्यसको गौरवगाथा गाउनुपर्छ, पूरानो भत्काएर नयाँ बनाउन उत्सव, उर्जा र उमङ भर्नुपर्छ । आज त्यो देखिएन ।’
उनले वर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको सम्मान गर्न नसकेको आरोप लगाए । उनले भने,‘यो सरकारले जेन–जी आन्दोलनको सम्मान गर्न सकेको छैन, न त शहीदहरुको नै सम्मान गरेको छ । यसले केवल निराशा बाँडेको छ, आन्दोलनको विजय गाउनुको साटो शोक मनाएको छ ।’

फरक प्रसंगामा उनले अहिलेका युवाले खोजेको सशक्त, उर्जावान र गतिशिल युवा नेतृत्व भएपनि सत्ताको नेतृत्वमा पूरानै र पाकाहरुको हालिमुहाली देखिएको आरोप लगाए । उनले भने,‘पूराना पाका नेता हटाएर युवाले अहिलेको प्रधानमन्त्री जो ७० वर्ष कटेको नेतृत्व ल्याउन खोजेको हो र ? त्यो त पक्कै पनि होईन । तर, आज युवाहरुको बलिदानीमाथि खेलवाड भैरहेको छ ।’ उनले अहिलेको सरकारले आशा जगाउन नसकेको आरोप लगाए । सरकारमा युवाहरुको प्रतिनिधित्व नहुनु र अहिलेसम्म पनि सरकारलाई पूर्णता दिन नसक्नु नै प्रधानमन्त्री कार्कीको पहिलो असफलता भएको साहको आरोप छ ।

उनले भने,‘महिला प्रधानमन्त्रीले एक जनापनि महिलालाई मन्त्री बनाउन सक्नुभएन ? के नेपालमा योग्य महिलाहरु छैनन् र ? एक महिना हुन लागिसक्यो अझै मन्त्रिपरिषद्ले पूर्णता पाएन ।’ साहले जेन–जी आन्दोलनको भावना केन्द्रको एउटा सरकार हटाएर व्यक्ति फेर्नेमात्रै नभएको टिप्पणी गरे । देशभर रहेका ७६१ वटा सरकारमा एउटामात्रै सरकार र त्यसमा पनि अनुहारमात्र बदल्नको लागि जेन–जी पुस्ताले जनक्रान्ति नगरेको साहको जिकिर छ ।

उनले भने,‘देशमा भ्रष्टाचार माथिदेखि तलसम्मै छ । देशमा भएका ७६१ वटा सरकारको लुट र भ्रष्टाचारको विरोधमा युवाले आन्दोलन गरेका हुन् । अहिले त के भयो भने एउटा केन्द्रमा सरकार परिवर्तन गरियो, त्यसमा पनि आन्दोलन गर्ने एउटा उमेर समूहको हो, तर सत्तारोहण पूरानै र पाका अनुहारको भयो ।’

उनले अहिलेको संविधानमा टेकेर देशले कहिल्यैपनि निकास नपाउने ठोकुवा गरे । उनले अहिले देशमा विद्यमान समस्याको प्रमुख जरा नै संविधान भएकोले यसलाई खारेजी गरिनुपर्ने माग गरे । आफूले सुरुदेखि नै यो संविधानले देशलाई पार लगाउन नसक्ने ठोकुवा गरेर तेस्रो जनआन्दोलनको ऐलान गरेको पनि साहले स्मरण गराए । उनले मुलुकको निकासको लागि अन्तरिम सरकार र अन्तरिम संविधान नै भएको जिकिर गरे ।

आरके श्रीवास्तव,राैतहट,असाेज १७ गते । 

रौतहटको विभिन्न ठाउँमा दुर्गा पूजाको समापनसँगै आज माता दुर्गाको प्रतिमा बिसर्जन हर्षोल्लासका साथ गरिएको छ । एक सातासम्म चलेको दुर्गा पूजा समारोहपछि आज स्थानीयहरूले देवीलाई आँशु भरिएको आँखासहित विदाई गरेका छन् ।

 

स्थानीयहरूले पूजाको पहिलो दिनदेखि नै भक्तिभावका साथ पूजा, भजन, आरती तथा धार्मिक अनुष्ठानमा संलग्न हुँदै आएका थिए । बिसर्जनका क्रममा महिलाहरूको आँखामा आँशु झल्किएको दृश्यले देवीसँगको आत्मीयता झल्काएको थियो ।

 

राजदेवी ७ मुडवलवा हनुमत यादवका अनुसार, “माता दुर्गा विना यो गाउँ सुनसान लाग्छ । आगमनको दिनदेखि पूजामा लागेको मन आज बिदाइमा भिज्यो।”

 

बिसर्जनको बेला झाँकी, बाजागाजा र भक्तिभावयुक्त नाराहरू गुन्जिएका थिए । श्रद्धालुहरू दुर्गा माता प्रति कृतज्ञता प्रकट गर्दै ‘जय माता दी’ भन्दै नाचगानमा रमाइरहेका थिए ।

 

यसै क्रममा जिल्लाको अन्य स्थानहरूमा समेत दुर्गा प्रतिमा बिसर्जन गरिएको छ । जिल्लाका विभिन्न नगर तथा गाउँहरूमा दुर्गा पूजाको विधिपूर्वक समापन गरिएको छ ।

 

यस धार्मिक अवसरले समुदायमा आपसी एकता र श्रद्धाको भावना अझ प्रगाढ बनाएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,असोज १६ गते । 

तराई–मधेशको मौलिक संस्कृति र वीरताको विरासतलाई जीवित राख्दै सर्लाहीको धनकौल बजार यतिखेर पहलवानीको रंगशाला बनेको छ ।
श्री दुर्गा पूजाको पावन अवसरमा आयोजित दुई दिने कुस्ती दंगल बुधबारदेखि भव्यताका साथ सुरु भएको छ ।
नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहले रिबन काटेर यस ऐतिहासिक कुस्ती प्रतियोगिताको विधिवत् उद्घाटन गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद सिंहले कुस्तीलाई ‘बाजेको पालादेखि चल्दै आएको संस्कृति’ भन्दै यसलाई संरक्षण गर्न युवा पुस्तालाई विशेष आह्वान गरे।


प्रतियोगिताको पहिलो दिन नै नेपाल र भारतका नाम चलेका पहलवानहरूले आफ्नो बल र कौशलको बेजोड नमुना प्रस्तुत गरे। मैदानमा नेपालका अन्तर्राष्ट्रिय कुस्ती खेलाडीहरू देवा थापा, जावेद गनी, मेवा थापा, कतप, हरिओम दास र वाबा पहलवान जस्ता दिग्गजहरूको कुश्ती हेर्न लायक थियो। उनीहरूले स्थानीय पहलवानहरूसँग प्रतिस्पर्धा गर्दै दर्शकहरूलाई रोमाञ्चित बनाए।
नेपाली कांग्रेस धनकौल गाउँपालिकाका युवा नेता दीपेन्द्र साहका अनुसार कुस्ती प्रतियोगिताको फाइनल भिडन्त आज हुदैछ ।
यसअघि, नवमीको रातमा राष्ट्रिय कलाकार प्रीति पासवानको बेजोड सांस्कृतिक प्रस्तुतिले माहोललाई थप रौनकता दिएको थियो। कार्यक्रममा धनकौल गाउँपालिकाका अध्यक्ष रामअस्रे साह लगायत विभिन्न वडा अध्यक्षहरूको पनि सहभागिता रहेको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।