काठमाडौं, १७ फागुन ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले भने भाउ नबढाउने भएको छ।
प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलमा प्रति लिटर ०.२१ र डिजेलमा ०.८५ रुपैयाँ बढेर आएको जनाएको छ। त्यस्तै एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २१.६६ रुपैयाँ बढेर आएको छ। योसँगै प्रतिसिलिन्डर नोक्सानी ३२५.०९ रुपैयाँ पुगेको छ।न्युज कारखाना
काठमाडौं, १७ फागुन ।
कलाकार जितु नेपालसहित तीन जना सम्मानित भएका छन् ।
नेपालसहित साहित्यकार डम्बर रसिक भारती र समाजसेवी तथा शैक्षिक अभियन्ता जमुना दंगाल घोरासैनी जुगल बोर्डिङ स्कुलको ३४ औं वार्षिकोत्सवको अवसरमा सम्मानित भएका हुन् ।
विद्यालयले उनीहरूलाई समाज विकासमा आआफ्नो विषयगत क्षेत्रबाट महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरेको हो । नेपाल जुगल कला सम्मान, रसिक जुगल साहित्य सम्मान र जमुना जुगल शिक्षा तथा समाजसेवी सम्मानबाट सम्मानित भएको सम्मान समितिका संयोजक किशोर बुढाथोकीले जानकारी दिए । उनीहरूलाई चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले सम्मानपत्र प्रदान गरे ।
नेपाली कला क्षेत्रमा मुन्द्रेको नामले कलाकार नेपाल लामो समयदेखि विभिन्न हास्य टेलिशृंखला, चलचित्र, कमेडी सोमार्फत आफ्नो प्रतिभा प्रस्फुटन गरिरहेमा छन् । त्यस्तै साहित्यकार रसिक साहित्यिक पत्रकारितालगायत सिन्धुपाल्चोकको साहित्यलाई उचाईंमा पुर्याउन विभिन्न अभियान र कार्यक्रमहरूमा क्रियाशील छन् ।
जुगल शिक्षा सम्मानबाट सम्मानित हुने ७६ वर्षिया जमुना दंगाल आफूले कहिल्यै बिद्यालय नटेकेपनि शिक्षा विकासका लागि सामाजिक सुरक्षा कोषबाट आएको रकमबाट कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेकी थिईन् । उनले आफ्नो भत्ताबाट शैक्षिक विकासका लागि ज्ञानमन्दिर नमुना माविका लागि साढे तीन लाख रूपैयाको कोष स्थापना गरेकीले सम्मान गरिएको हो ।
बिद्यालयले आफ्नो वार्षिकोत्सबको अवसरको समाज विकासमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्दै आईरहेको छ । उहाँहरूको योगदानको कदर तथा हौसला प्रदान गर्न सम्मान गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक ओमप्रकाश उप्रेतीले जानकारी दिए । यस्तो सम्मानलाई निरन्तरता दिने उनको भनाई छ ।न्युज कारखाना
काठमाडौं, १७ फागुन ।
प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौं ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
२६ वर्षीय पुरमान भन्ने फरमान हवारीले निरज सेन्चुरी समेत चार जनालाई दुबई जान प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित कम्पनीमा मासिक तलब ७० हजार रुपियाँ हुने भनी पीडितहरूबाट पटकपटक गरी ११ लाख ६६ हजार रुपियाँ रकम लिइ सम्पर्कविहिन बनेको प्रहरीले जनाएको छ।
स्थायी घर बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ भइ हाल काठमाडौं बस्ने हवारीलाई कागेश्वरी मनहरा नगरपालिका गोठाटारबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।
यस्तै, क्रोएसिया पठाउने भनी आठ लाख रुपियाँ रकम लिइ सम्पर्क विहिन भएका ३२ वर्षीय हिराजन पन्त पक्राउ परेका छन्।
प्रहरीका अनुसार स्थायी घर तनहुँ ब्यास नगरपालिका–१० भइ हाल काठमाडौं सामाखुशी बस्ने पन्तले समिर आचार्यलाई क्रोएसिया जान नौ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्याकिङको काममा मासिक तलब एक लाख ५० हजार हुने भनी प्रलोभनमा पारेका थिए।
यसैगरी, मलेसिया पठाउने भनी दुई लाख दश हजार रुपियाँ लिइ सम्पर्क विहिन बनेका ३७ वर्षीय अस्मिता कार्की पक्राउ परेका छन्।
प्रहरीका अनुसार स्थायी घर सिन्धुली कमलामाई नगरपालिका–११ भइ हाल काठमाडौं गोकणेश्वर बस्ने कार्कीले कान्छा बल समेत तीन जनालाई मलेसिया जान प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब ६० हजार रुपियाँ हुन्छ भनी प्रलोभनमा पारेका थिए।
निजहरुमाथि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।न्युज कारखाना
अछाम, १७ फागुन ।
बरिष्ठ लोकगायक एवम् लोकसंस्कृतविद् यज्ञराज उपाध्याय गृह जिल्ला अछाममा सम्मानीत भएका छन्।
१ सय ४४ वर्षमा आयोजित वैद्यनाथ कोटी होम ज्ञान महायज्ञको अवसरमा उपाध्यायलाई सम्मान गरिएको हो।
अछामको माटोमा जन्मिएर लामो समयदेखि भाषा, साहित्य, कला र संस्कृतिमा योगदान पुर्याएको भन्दै उपाध्यायलाई सम्मान गरिएको छ। महायज्ञको उद्घाटन राष्ट्रपति पौडेलले गरेकोमा सोही समारोहमा उपाध्याय सम्मानित भएका हुन्।
उपाध्यायले काली–कर्णालीको लोक साहित्यलाई अग्रभागमा राखेर ‘काली–कर्णालीको लोक साहित्य’ ग्रन्थ बजारमा ल्याएका छन्।
९८४ पृष्ठको पुस्तकमा काली–कर्णाली क्षेत्रका लोक साहित्यका सबै विधागत विषय समेटिएका छन्। लोकगीत, लोककथा, लोकगाथा, उखान, टुक्कालगायत सबै विषय समावेश भएका छन्। फाग, मागल, धमारी, चाँचरी, हुड्केउली, भुवो, रनपुतला, होरी, गौरा, अठवाली, भोलाउलो, ठाडो खेल, चैत जस्ता ६० वटा प्रमुख विधा, त्यसका उपविधा र त्यसमा गाइने गीतहरू पुस्तकमा समाविष्ट रहेका छन्। जुन शीर्षकबाट पढ्यो त्यहीबाट नयाँ विषयको उठान र पूर्ण जानकारी प्रदान गर्नेगरी उपाध्यायले पुस्तकलाई तयार पारेका छन्।
उनले गीतमा भन्न खोजिएको विषयको संक्षिप्त चर्चा पनि गरेका छन्। सबै चाडपर्वमा गाइने गीत र खेलिने खेलका विषयमा पनि चर्चा गरेका छन्। कसरी गाइन्छ?, कसरी खेलिन्छ?, कस्तो भेसभुसा प्रयोग हुन्छ? लगायत विषय उनले पुस्तकमा समावेश गरेका छन्। काली–कर्णाली क्षेत्रमा मनाइने चाडपर्वका विषय पनि उनले यसमा समावेश गरेका छन्। त्यस क्षेत्रमा बजाइने बाजाहरूको पनि सचित्र वर्णन गरिएको छ। पुस्तकमा थारु समुदायका लोक नृत्य र चाडपर्वका बारेमा पनि संक्षिप्त वर्णन गरिएको छ। दार्चुला जिल्लामा रहेको व्यासी सौका समुदायका चाडपर्व र संस्कृतिको व्याख्या पनि पुस्तकमा छ। काली–कर्णालीका गाली–बोली, लोकमन्त्र लगायत सम्पूर्ण विषय समावेश गरेका छन्।
उपाध्याय राईझुमा जस्तो लोकप्रिय लोकदेउडा गीतका गायक पनि हुन्। यसरी गीत र पुस्तकका माध्यमले काली कर्णालीको लोकसाहित्यलाई शिखराकृत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले गृह जिल्लामा उनको सम्मान गरिएको आयोजकले जनाएको छ।
यसरी गृह जिल्लामा भव्य समारोहमा राष्ट्रपतिबाट सम्मानित हुन पाउँदा आफूलाई धन जिम्मेवार र गौरवान्वित तुल्याएको उपाध्यायले बताएका छन्।
धर्म संस्कृतिको जगेर्ना गर्न र नेपालका प्रमुख ४ धाम मध्येको वैद्यनाथ धामको प्रचारप्रसार गर्न कोटीहोम ज्ञान महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ। फागुन १० बाट सुरु भएको महायज्ञ फाल्गुन २५ गतेसम्म चल्नेछ।न्युज कारखाना
काठमाडौं, १७ फागुन ।
संघीय संसद् भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरू रिहा भएका छन्।
बिहीबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए।
फागुन १४ गते सोमबार संसद् भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेको आरोपमा प्रहरीले ४९ जनालाई नियन्त्रणमा लिएको थियो।न्युज कारखाना
काठमाडौं, १७ फागुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमको सरुवा भएको छ।
मन्त्रिपरिषद्ले सहसचिव गौतमलाई लोकसेवा आयोगमा सरुवा गरेको हो। उनको ठाउँमा भर्खरै सहसचिवमा बढुवा भएका जयबहादुर भण्डारीलाई ल्याइएको छ।
गौतम मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखका रुपमा काम गर्दै आएका थिए।न्युज कारखाना
काठमाडाैं, १७ फागुन ।
देशका विभिन्न स्थानबाट लागूऔषधसहित १५ जना पक्राउ परेका छन् । काठमाडौंकाे कागेश्वरी मनोहरा नगरपालिका-५ थलिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६८ मिलिग्रामसहित बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ४४ वर्षीय प्रदिप कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-३ भन्सारबाट अवैध लागूऔषध ब्राउनसुगर ४० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१ शिवनगर बस्ने २२ वर्षीय भरत राज जोशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
झापाकाे बिर्तामोड नगरपालिका-६ बुट्टाबारी स्टाफ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्रामसहित भद्रपुर नगरपालिका-५ घर भई अर्जुनधारा नगरपालिका-११ बस्ने २५ वर्षीय सुरज बिश्चकर्मालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाकै अर्जुनधारा नगरपालिका-११ गिरी बन्दु टिस्टेट चिया बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय बिनम उराउ र ३० वर्षीय कुमार सुब्बा रहेका छन् । अस्थायी प्रहरी पोष्ट बर्सपार्कबाट खटिएको प्रहरीले सुब्बालाई १ ग्राम १ सय ९० मिलिग्राम र उराउलाई ४ सय मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाकै मेचिनगर नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-१० कालिस्थान घर भई मेचिनगर नगरपालिका-६ सुनगाभा टोल डेरा गरी बस्ने २६ वर्षीय प्रकाश पौडेल, काठमाडौं महानगरपालिका-१६ ढुङगे अड्डा बस्ने ३० वर्षीय ईश्वर अधिकारी र झापा अर्जुनधारा नगरपालिका-१० कालिस्थान बस्ने २२ वर्षीय पुजन तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्वकाे गैंडाकोट नगरपालिका-२ नारायणी पुलबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोही नगरपालिका-२ बस्ने २१ वर्षीय अभिशेक गुरूङ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कर्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
मोरङकाे विराटनगर महानगरपालिका-१७ स्लामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २४ मिलिग्रामसहित सोही महानगरपालिका-१२ बस्ने ४० वर्षीय प्रभात कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ग.५ प ३७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित चालक कटुवाललाई पक्राउ गरेको हो ।
लमजुङकाे सुन्दरबजार नगरपालिका-६ खत्रीठाटीबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१६ बस्ने ५१ वर्षीय प्रेम पराजुली र सोही महानगरपालिका-१९ बस्ने ४० वर्षीय जिवन पौडेल रहेका छन् । ईलाका प्रहरी कार्यालय सुन्दरबजारबाट खटिएको प्रहरीले ग.११ प ९४४० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
बाँकेकाे खजुरा गाउँपालिका-६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रकाश बहादुर धामी र १९ वर्षीय बिजय घिमिरे रहेका छन् । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । न्युज कारखाना
काठमाडौं, १७ फागुन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेलो रङको धातुको पत्थर जडित करिब ४६ ग्राम २० मिलिग्राम तौलको औठी २ थान र करिब ४५ ग्राम ३६ मिलिग्राम तौलको सिक्री १ थानसहित काभ्रेपलाञ्चोक मण्डनदेवपुर नगरपालिका-५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ बस्ने ५२ वर्षीय नारायण कृष्ण श्रेष्ठ पक्राउ परेका छन् ।
नेपाल एयरलाईन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा पाइन्टको गोजीमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको उक्त धातुसहित उनलाई पक्राउ गरेको हो । न्युज कारखाना
रौतहट,१७ गते फागुन ।
रौतहट–रौतहट जिल्लाको मौलापुर नगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन २७ गतेदेखि सुरु हुने भएको छ । आज मौलापुर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको स्थानिय तह स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरुको गोष्ठी कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
मौलापुर स्थित नगरपालिकाको सभाकक्षमा ९ वटै वडाका वडाध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु,सञ्चारकर्मीहरु बिच खोप सञ्चालन सम्बन्धि जानकारी गराइएको थियो । मौलापुरका स्वास्थ्य संयोजक अच्छेलाल साहका अनुसार तेस्रो चरण अन्तर्गत फागुन २७ गतेदेखि सुरु हुने उक्त अभियान अन्तर्गत मौलापुरमा १७ हजार १ सय ६३ जना बालिबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ ।
सो अभियान नगरभरि चैत १ गते सम्म चल्ने छ । उनका अनुसार, दादुरा–रुबेला खोप अभियान अन्तर्गत नगरका स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतका स्थानमा गरी २१ खोप केन्द्र स्थापना गरिने छ । सो अभियान सफल पार्न ३२ जना कर्मचारी परिचालन गरिने उनले बताए । बिहिबार भएको अभिमूखीकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रौतहटका खोप फोकल पर्सन अनिल कुमार कर्णले अभियानलाई सफल पार्न सबैजनाको भूमीका महत्वपूर्ण हुने भन्दै सहयोगका लागि आग्रह गरे ।
सो अवसरमा सबै वडाका वडाध्यक्ष, प्रधानाध्यापकहरु, सबै शाखाका प्रमुख, सञ्चारकर्मी लगायतकाको पनि सहभागीता रहेको थियो ।