२०८३ कार्तिक ४
२०८३ कार्तिक ४

कांग्रेस नेता साबिर हुसैनद्वारा गुजरा नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा

सागर संगम ठाकुर,रौतहट,कार्तिक ३ गते  ।

नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ३ क का क्षेत्रीय सभापति साबिर हुसैनले आगामी स्थानीय तह निर्वाचनमा गुजरा नगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।नगरपालिकालाई स्पष्ट विकासको दृष्टिकोण र योजनासहित अगाडि बढाउने उद्देश्यले आफू उम्मेदवारीको तयारीमा सक्रिय रहेको उनले बताएका छन्।


सोमवार बज्जिकाञ्चल एफएम ८९.२ मेगाहर्जको ‘बज्जिकाञ्चल बहस’ कार्यक्रममा प्रस्तोता आरके श्रीवास्तव संग कुराकानी गर्दै कांग्रेस नेता हुसैनले अघिल्लो स्थानीय तह निर्वाचनमा पनि आफू उम्मेदवारीका लागि इच्छुक रहेको, तर पार्टीले आफूभन्दा वरिष्ठ नेता शेख महिबुललाई टिकट दिएको बताए।पार्टीको निर्णयअनुसार आफूले उहाँलाई सहयोग गरेको भए पनि निर्वाचनमा पराजय भोग्नुपरेको उनले उल्लेख गरे।


यसपटक भने नेपाली कांग्रेसले आफूलाई टिकट दिने विश्वास व्यक्त गर्दै हुसैनले नगरपालिकालाई योजनाबद्ध विकासको बाटोमा लैजाने र आफ्ना विकाससम्बन्धी योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।


संगठन सुदृढीकरणमा जोड
आफ्नो राजनीतिक यात्राबारे चर्चा गर्दै कांग्रेस नेता साबिर हुसैनले आफ्नो परिवार लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहेको बताए।उनका पिता शेख अब्दुल मतीनले समेत लोकतन्त्र र प्रजातन्त्रका लागि योगदान गरेको उल्लेख गर्दै आफू पारिवारिक राजनीतिक पृष्ठभूमिबाट प्रेरित भएर सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय भएको उनले बताए।


विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा विद्यार्थी संगठनमा विभिन्न जिम्मेवारी सम्हालेको अनुभव सुनाउँदै उनले संगठन निर्माण, अनुशासन र सबै तहका कार्यकर्तालाई समेटेर अघि बढ्नुपर्ने धारणा राखे।


विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा विद्यार्थी र शिक्षकबीचको सम्बन्ध सुधार, अनुशासन कायम तथा अभिभावकको सहभागितामा जोड दिएको उनले बताए।
विशेषगरी मुस्लिम समुदायका छात्राहरूको शैक्षिक सहभागिता बढाउन आफूले भूमिका निर्वाह गरेको उनको भनाइ थियो।क्षेत्रीय सभापतिको जिम्मेवारीमा संगठनलाई वडादेखि क्षेत्रसम्म व्यवस्थित बनाउने, नियमित बैठक सञ्चालन गर्ने र कार्यकर्तालाई जिम्मेवारीको अनुभूति गराउने आफ्नो प्राथमिकता रहेको उनले स्पष्ट पारे।


दुई नगरपालिका जोड्ने सडक तथा पुल निर्माण गर्न आग्रह

कार्यक्रममा कांग्रेस नेता हुसैनले दुई नगरपालिका जोड्ने सडक तथा पुल निर्माणको विषयलाई समेत प्राथमिकताका साथ उठाए।प्रदेश सरकारबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको गुनासो गर्दै उनले यस वर्ष बजेट विनियोजन भए पनि निर्माण कार्य सम्पन्न हुनेमा आशंका व्यक्त गरे।


जमुनियाबाट कनकपुर स्थित विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई आवतजावतमा सहज बनाउन सडक तथा पुल निर्माण आवश्यक रहेको उनको भनाइ थियो।
विद्यार्थीको भविष्य र स्थानीय नागरिकको सुविधालाई ध्यानमा राख्दै प्रदेश सरकारलाई निर्माण कार्य अघि बढाउन उनले बज्जिकाञ्चल एफएममार्फत आग्रह गरे।


रामकृपाल यादवलाई सहयोग गरेको स्मरण

प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामकृपाल प्रसाद यादवलाई समर्थन गर्नुको कारणबारे बोल्दै हुसैनले यादव शिक्षित, योग्य र युवा व्यक्तित्व भएकाले पार्टीको उम्मेदवारका रूपमा आफूले सहयोग गरेको बताए।पार्टीले टिकट दिएर पठाएको उम्मेदवारलाई जिताउन कार्यकर्ताले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने उल्लेख गर्दै उनले आगामी दिनमा पनि पार्टीका उम्मेदवारलाई विजयी गराउन आफू सक्रिय रहने बताए।


योग्य उम्मेदवार छनोट गर्न मतदातालाई आग्रह
कार्यक्रमको अन्त्यमा कांग्रेस नेता शेष साबिर हुसैनले मतदातालाई क्षणिक स्वार्थ र आर्थिक प्रलोभनभन्दा माथि उठेर उम्मेदवारको योजना, दृष्टिकोण र विकाससम्बन्धी प्रतिबद्धताका आधारमा मतदान गर्न आग्रह गरे।


स्थानीय तहमा निर्वाचित नेतृत्वले शिक्षा, सडक, पूर्वाधार र बालबालिकाको भविष्यसँग सम्बन्धित योजनालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न भोग्नुपर्ने झन्झट कम गर्ने तथा नागरिकलाई सहज सेवा उपलब्ध गराउने व्यवस्था आवश्यक रहेको उनले बताए।


कार्यक्रममा हुसैनले बज्जिकाञ्चल एफएमको स्टुडियो र सञ्चारमाध्यमले जनसरोकारका विषय उठाउन गरेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि जनताको आवाजलाई प्राथमिकता दिन शुभकामना व्यक्त गरे।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।