२०८३ कार्तिक १०
२०८३ कार्तिक १०

रौतहट,२५ फागुन ।

डिभिजन वन कार्यालय रौतहटका कर्मचारीको विरुद्धमा नेकपा एमाले समर्थित राष्ट्रिय युवा सङ्घ नेपालले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगापुरमा एक घण्टा चक्काजाम गरेको छ ।

 

युवा संघ नेपालका कार्यकर्ताहरूले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुर स्थित डिभिजन वन कार्यालय अगाडि टायर बालेर एक घण्टा चक्काजाम गरेका थिए ।

 

युवा सङ्घ नेपालका केन्द्रीय सदस्य विक्रम लामालाई डिभिजन वन कार्यालय रौतहटले वन मुद्दामा पक्राउ गरेपछि युवा संघले चक्काजाम गरेको हो । चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेको महादेव स्थान सामुदायिक वन उपभोक्ता समूहले गोप्य रूपमा सूचना निकाली काठ बिक्री गर्न लागेको थाहा पाएपछि युवा संघ नेपालका केन्द्रीय सदस्य लामाले आफूहरूले समेत टेन्डर लिन पाउनुपर्ने भन्दै टेन्डर फर्म माग गरेपछि उनलाई वन मुद्दा लगाएर थुनिएको युवा संघ नेपाल रौतहटका अध्यक्ष मुन्ना यादवले बताए । गोप्य रूपमा सूचना निकालेर बिक्री वितरण गर्न लागिएको काठको विषयमा लामाले थाहा पाएपछि उनले आफूले पनि टेन्डर पर्न पाउनुपर्ने भन्दै डिभिजन वन कार्यालयमा टेन्डर फर्म लिन गएका बेला वनले पक्राउ गरी वनको हिरासतमा लामालाई राखेको छ ।

दुई महिना पहिला चन्द्रपुर २ को राष्ट्रिय वनमा भएको खयर फडानीमा लामाको नाम हाल्न लगाएर सहायक वन अधिकृत सुरेश महतोले लामालाई वनको हिरासतमा लिएको चन्द्रपुर २ का स्थानीय बासिन्दाहरुले बताएका छन् ।

 

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव पुलामी र सहायक वन अधिकृत महत्त्वको मिलेमतोमा लामालाई पक्राउ गरिएको विरोधमा युवा संघ नेपालले चन्द्रनिगापुरमा चक्काजाम गरेको हो । बिना आधार प्रमाण लामालाई वन मुद्दा लगाएर फसाउने षड्यन्त्र भएको भन्दै युवा संघले डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रा र सहायक वन अधिकृत महत्त्वको विरुद्ध चर्को नाराबाजी गर्दै डिभिजन वन कार्यालय अगाडि टायर बालेर चक्काजाम गरेका थिए ।

युवा सङ्घ नेपालको नाराबाजी सहित टायर बालेर गरिएको सडक बन्दका कारण पूर्व पश्चिम राजमार्गको चन्द्रनिगापुरमा सयौं सवारी साधन एक घण्टा रोकिन बाध्य भएका थिए ।

 

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षले आफूलाई सहायक वन अधिकृत महतोले वनफडानीमा लामाको समेत संलग्नता रहेको छ। चिठी लेख्नुस् हामी पक्राउ गर्छौ भनेपछि आफूले चिठी लेखेर डिभिजन वन कार्यालयमा दिएको अध्यक्ष पुलामीको भनाइ रहेको छ ।

 

सो सामुदायिक वनले २२ सय क्युफिट काठ बिक्रीका लागि गोप्य सूचना निकालेपछि पक्राउ परेका लामाले थाहा पाएर त्यसको टेन्डर आफूहरूले समेत साकार गर्न पाउनुपर्ने भन्दै पटकपटक डिभिजन वन कार्यालयमा टेन्डर फोरम लिन गएर अवरोध सिर्जना गर्न लागेको भन्दै वन कर्मचारीकै मिलो महत्वमा लामालाई फसाउने काम भएको भन्दै युवा संघ नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

 

चक्काजाम पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै युवासघ नेपालका रौतहट अध्यक्ष मुन्ना यादवले डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रा र सहायक वन अधिकृत सुरेश महत्वलाई तत्काल विभागीय कारबाही गर्न माग गरेका छन् । लामालाई तत्काल रिहाई गर्नुपर्ने र मिश्र र महत्वलाई विभागीय कारबाही नभए आइतबारबाट युवा संघले डिभिजन वन कार्यालय रौतहटमा तालाबन्दी गर्ने लगायतका कार्यक्रम गर्ने बताएका छन् । न्युज कारखाना

 

 

बिरगञ्ज, २५ फागुन ।

वीरगञ्जमा आफ्नै छोराको हत्या आशंकामा बाबा आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

आर्यघाटमा गाडिएको अवस्थामा एक बालकको शब निकालेर प्रहरीले ति बालकका बाबा आमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी शम्भु महतो धानुक र आमा सबितालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई नजिकको सिर्सिया नदि छेउको आर्यघाटमा खाल्डो खनेर गाडिएको अवस्थामा १२ वर्षीय दिलिप मण्डल धानुकको शब निकालेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । थापाका अनुसार प्रहरी तथा छिमेकीलाई समेत खबरै नगरी शब गाडेको हुँदा घटना शंकास्पद देखिएको छ । वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साको सयुँक्त टोलीले आर्यघाटबाट शब निकालेको थापाले बताए ।

 

आमा–बुबाले बिहीबार घरकै एक कोठामा दिलिपलाई थुनेर ज्याला मजदुरीका लागि घरबाट निस्किएको छिमेकीले बताएका छन् । प्रहरी नायब उपरीक्षक थापाका अनुसार कामबाट बिहीबार साँझ घर फर्किदाँ दिलिप कोठामै मृत अवस्थामा भेटिएपछि डरले कसैलाई थाह नदिई अटोरिक्सामा शव राखेर घाटमा लगेर गाडेको बुबा शम्भुले स्विकार गरेका छन् ।

 

दिलिप लागूपदार्थको कूलतमा फसेको र अरुको घरघरमै पसेर मोबाइल लगायतका सामान चोरेर हैरान पार्न थालेपछि आफुहरु कामका लागि बाहिर जाँदा दिलिपलाई कोठामै थुनेर जाने गरेको बुबा दिलिपले प्रहरीसमक्ष बयान दिएका छन् । दिलिपको शबलाई पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बालकको मृत्युको यकिन कारण खुल्ने र त्यसको आधारमा प्रहरी अगाडि बढ्ने प्रहरी नायब उपरीक्षक थापाले बताए ।न्युज कारखाना

जनकपुर, २५ फागुन ।

मधेश प्रदेश स्वास्थ मन्त्रालय द्वारा खरीद गरिएको सिटी स्क्यान मेसिनमा घोटाला भएको बिभिन्न सञ्चार माध्यममा समाचार आएपछि त्यसको बारेमा छानबिन गर्न समिती गठन गरिएको छ।

 

स्वास्थ्य मन्त्री वीरेन्द्र सिंहको सेटिङमा मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले सर्लाही र सिरहाका लागि खरिद गर्नलागेको सिटी स्क्यान प्रकरणमा घोटाला भएको समाचार आएपछि  प्रदेश सकारकाले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

 

छानबिन समितिमा नवौँ तहका अधिकृत डाक्टर ईन्द्रजीत रजक, बायोमेड इञ्जिनियर शैलेन्द्र यादव र शाखा अधिकृत रवीन्द्र यादव रहेका छन् । प्रदेश सरकारको मन्त्रिपरिषद्बाट छानबिनका लागि उनीहरुलाई आधिकारिक समितिको पत्र पुगेको छ ।

 

आपूर्ति केन्द्रले खरिद गर्न लागेको २० करोड रुपैयाँको दुई वटा सिटी स्क्यान मेसिन खरिदका लागि मेडिकल व्यवसायी विशाल पण्डितको हस्पिटेक कम्पनीले मात्र खरिद गर्न पाउने गरी २०१२ को १२ वर्ष पुरानो फिलिप्सको मेसिन किन्ने उद्देश्यले टेन्डर स्पेसलक गरेको थियो ।  स्वास्थ्यमन्त्री सिंह र विशाल पण्डितको काठमाडौँस्थित बसेरा होटलमा सिटी स्क्यान मेसिन खरिद बारे वार्ता गरेको आरोप लगाइएको थियो ।

पण्डितलाई ठेक्का दिनकै लागि मुख्यमन्त्री सरोजकुमार यादवसँग सल्लाह गरेर निर्देशक नागेन्द्र यादवलाई सरुवा गरेर मन्त्री सिंहले आफ्ना विश्वासपात्र डा. मनीष पाण्डेलाई निमित्त निर्देशक बनाएको स्रोतको दाबी रहेको छ।

 

पण्डितको कम्पनीलाई ठेक्का दिने प्रोजेक्ट बनाउन पण्डितकै कम्पनीका पूर्व कर्मचारी वन्दना मिश्रलाई परामर्शदाता नियुक्त गरिएको छ । दरबन्दीका बायोमेड इन्जिनियर शैलेन्द्र यादवलाई सरुवा गरिएको थियो ।  सरुवा गरिएका ईन्जिनियर शैलेन्द्र यादवलाई सरकारले अहिले छानबिनमा जिम्मेवारी दिएको छ ।

 

व्यावसायी पण्डितको सेटिङमा खरिद प्रकरण अघि बढेपछि कैयौं मीडियाले लगातार खबरदारी गर्दै आएको थिए । मधेश प्रदेश मुख्यमन्त्रीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मधेश प्रदेश सभाको सार्वजनिक लेखा समितिमा अर्का मेडिकल व्यवसायी नारायण कार्कीले एउटा कम्पनीलाई मात्र ठेक्का दिने काम रोकेर सबैलाई प्रतिस्पर्धा गर्न पाउने गरी टेन्डर आव्हान गर्न माग गरेका थिए।

 

साथै यस प्रकरणमा मुछिएका पण्डित, पाण्डे र मिश्रमाथि छानबिन गरी कारबाही गर्न ब्यवसायी कार्कीले माग गरेका थिए  न्युज कारखाना

 

बारा, २५ फागुन ।

बाराको तामागढी–सिम्रौनगढ सडक योजना निर्माण पूरा भएको तीन वर्ष बित्दा पनि सडक छेउछाउबाट अधिग्रहण भएको जग्गाबापत जग्गाधनीहरुलाई सरकारले अझै मुआब्जा नदिएको भन्दै प्रभावित स्थानियहरुले सुरु गरेको आन्दोलन र त्यसपछि सुरु भएको रिले अनशन १५ दिनपछि तोडिएको छ ।

सरकारले निर्धारण गरेको मुआब्जा रकम सरकारलाई पटकपटक अनुरोध गर्दासमेत रकम नपाएको विरुद्ध गत फागुन १० गते बिहिबारबाट आन्दोलनरत थिए।

 

तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराको अगुवाइमा भएको रिले अनशन पुर्ब मन्त्री मकुन्द न्यौपाने र पुरूषोतम पौडेलले अनशनकारीलाई फलफुल खुवाएर अनशन तोडाएका थिए ।

पुर्ब मन्त्री पौडेलले नयाँ समीकरणमा सरकार रहेको र मन्त्रिपरिषद पुनर्गठन भएको हुदाँ अहिले सरकारले गृहकार्यमा व्यस्त भएको तथा सरकारसंग वाता गर्ने वातवरण निर्माण गर्ने आफु लागिपर्ने र बक्यौता रकम उपलब्ध गराउन पहलगर्ने बताएपछि जग्गाधनीहरु अनशन स्थगित भएको हो ।

 

सरकारको ध्यानाकर्षण गराउँदै चरणबद्धरुपमा संघर्ष गर्दै आएको तामागढी–सिम्रौनगढ संघर्ष समितिले अनशन कार्यक्रम सकिए लगतै थप आन्दोलनको कार्यक्रमको घोषणा गरिने जनाएका छन । समितिले आन्दोलनको सोरूप परीबर्तन गरी प्रभाबकारि बनाउने निर्णय समेत गरेको छ ।

अहिले नयाँ समीकरणमा सरकार रहेको र मन्त्रिपरिषद पुनर्गठन भईरहेको बेलामा सरकारमा रहेका दलका नेता तथा बारा क्षेत्र नम्बर १ का सांसद अच्युत प्रसाद मैनाली, पुर्ब मन्त्री मकुन्द न्यौपाने, पुरूषोतम पौडेल, कोल्हवी सपही क्याम्पसका अध्यक्ष ढुण्डिराज उप्रेती, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सुर्दशन प्रसाद कोइराला लगायतले सबै सांसद तथा शिर्ष नेतृत्व मार्फत लबिङ गर्ने र आवश्यकता अनुसार कडा दवावमुलक कार्यक्रमहरु तयार गरी अघि बढ्ने लगायतका कार्यक्रमहरु बताएपछि रिले अनशन तोडिएको तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराका अध्यक्ष सिम्रौनगढ नगरपालिका ६ का अनवर अन्सारीले बताए ।

 

‘हामी यता आन्दोलन र रिले अनशन गरिरहेका थियौँ तर यहीँ बिचमा यता गठबन्धन परिवर्तन भयो यस्तो बेलामा नयाँ समीकरणमा सरकार रहेको एमालेका नेताहरुले आएर बाचा गर्नुभएकाले हाललाई सबै कार्यक्रम स्थगित गरेको हौँ।’ अध्यक्ष अन्सारीले भने । अबपनि सरकारले ध्यान नदिएमा र वार्ताका निम्ती आह्वान नगरेमा दवावमूलक आन्दोलन पुनः गरिने बताए ।

 

संघीय सरकारअन्तर्गत हुलाकी मार्ग आयोजना वीरगन्ज कार्यालयको कार्य क्षेत्रभित्र पर्ने यो सडक बन्दा दायाँ बाँयाबाट १५/१५ मिटर अधिग्रहण गरिएको थियो । ३९.७५ किलोमिटर लम्बाईको यो सडक दक्षिणमा भारतीय सिमाको दशगजादेखि उत्तरतर्फ महेन्द्र राजमार्गको निजगढ–काठमाडौं ‘फास्टट्रयाक’ जोड्ने जिल्लाको महत्वपूर्ण सडक हो ।

करिव ६५ देखि ७० बिघा जग्गाधनीले सरकारबाट पाउनुपर्ने २ अर्ब ९७ करोड ७८ लाख ४० हजार ६ सय २५ रुपैयाँ बराबरको मुअब्जा रकम उनीहरुले नपाएका हुन् । साविकको १२ वटा गाविस र अहिले सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका तथा बारागढी गाउँपालिका र आदर्श कोतवाल गाउँपालिका गरी चारवटा पालिका अन्तर्गत पर्ने यो सडक ७ मिटर चौडाइमा बनेको छ ।न्युज कारखाना

 

महाेतरी, २५ फागु ।

अखिल नेपाल महिला संघ महोत्तरीले महिला दिवसको अवसरमा गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।

 

जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय मार्फत महिला हिंसा र विभेदप्रती ध्यानाकर्षण गराउदै गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।

 

ज्ञापन पत्रमा लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण हिस्सा रहेको महिलाहरु अझैपनी कार्यस्थलमा हुने यौनजन्य दुर्ववहार, बेचबिखन, ओसारपसारका साथै संस्कृति र परम्पराका नाममा हुने हिंसा र आधुनिक प्रबिधिको माध्यमवाट हुने हिंसामा प्रताडित वनिरहेकोप्रती ध्यानाकर्षण जनाईएको छ ।

 

समाजका संवेदनहिन क्रियाकलापले गर्दा महिलाहरु वाच्न पाउने अधिकारवाट समेत वन्चित हुनुपरेको वताउदै राज्य दायित्व निर्वाह गर्नवाट चुकेको अखिल नेपाल महिला संघ महोत्तरी कि अध्यक्ष सरस्वती चौधरीले वताईन । यिनै बिषय ध्यानाकर्षण गराउन पनि ज्ञापन पत्र दिनुपरेको अध्यक्ष चौधरीको भनाई छ ।

 

महिला आन्दोलनको परिणामस्वरूप महिला  विरुद्ध हुने हिंसा नियन्त्रण र न्यूनीकरणका लागि सवैधानिक तथा कानुनी व्यवस्था भएतापनी अनुसन्धान प्रक्रियामा ढिलासुस्ती, कानुनी कार्यान्वयनमा आएको उदासिन्ताले पिडितले न्याय पाउने अवस्था न्यून देखिएकोप्रती महिला संघले गृहमन्त्रालयलाई ध्यानाकर्षण गराएको छ ।

 

विद्यालय, घर, कार्यालय, सार्वजनिक स्थल, कतैपनी महिलाहरुले सुरक्षाको अनुभूति गर्न नपाएको भन्दै उनिहरुले राज्यको जिम्मेवारीप्रती खवरदारी पनि गरेका छन ।

 

ज्ञापन पत्रमा महिलामाथी भएका हिंसा र अपराधजन्य क्रियाकलापको अभिलम्ब छानविन गरि पिडितहरुलाई न्याय र उचित क्षतिपूर्तिको व्यवस्था गर्ने कामलाई प्रभावकारी वनाउन जोडदार माग गरिएको छ ।

 

आर्थिक बर्ष २०७९/८० मा प्रहरीमा परेका उजुरीलाई मात्र हेर्दा घरेलु हिंसाका १६ हजार ५ सय १२ घटना दर्ता भएका छन । यसैगरी जवर्जस्ती करणीका घटना २ हजार ३ सय ८७, जवर्जस्ती करणी उधोगका घटना ५ सय १८, अपहरण तथा जवर्जस्ती करणिका घटना ५९ वटा, जवर्जस्ती करणी पछि हत्या गरिएका ५, बोक्सीको आरोपका घटना ४३ वटा, मानव बेचबिखनका घटना १ सय २४ वटा, वहुविवाहका घटना ७ सय २३, बालविवाहका घटना ५२ वटा, छुवाछूतका घटना २७ वटा, तेजाव हानेको घटना ३, अवैध गर्भपतनका घटना ३२ वटा छन न्युज कारखाना

 

 

काठमाडौं, २५ फागुन ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदुर पश्चिम प्रदेशको केहि भू-भाग लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।

 

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।न्युज कारखाना

रौतहट, २४ फागुन ।

डडेलधुरा जिल्लामा  सुन चोरीको घटनामा संलग्न रहेका दुई जना मानिस रौतहटबाट पक्राउ परेका छन्।

केही दिनअघि भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुई जना लाई पक्राउ गरेको हो। रौतहटको चन्द्रपुर नगरपालिका ४ चनद्रनिगाहपुर स्थित बाटोमा हिँडिरहेको अवस्थामा  डडेलधुरामा सुन चोरी गरी वारदातपछि फरार रहेका दुवैजना लाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर रमाशंकर प्रसाद यादवको  कमाण्डमा खटिएको टोलिले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।

पक्राउ पर्नेमा रौतहट चन्द्रपुर ९ बस्ने भिम बहादुर विश्वकर्माको छोरा वर्ष ४० को सुरेन्द्र बिश्वकर्मा र  सप्तरी दुहबि नगरपालिका ४ बस्ने भैरव विश्वकर्माको छोरा वर्ष ४४ को शंकर बिश्वकर्मा रहेको प्रवक्ता गिरीले जानकारी दिएकी छन्।

पक्राउ परेका दुबैजना आरोपी लाई डडेलधुराबाट खटिआएका इन्स्पेक्टर कुसुम नायकको जिम्मा लगाई पठाइएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्।

इन्सपेक्टर नायकका अनुसार डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका ५ स्थित बिजय साह सोनारको सुन चाँदी पसलमा गत १४ गते राती ९ बजे २० ग्राम सुन चोरी भएको थियो। अनुसन्धानमा उक्त घटनामा शंकर विश्वकर्माको संलग्नता देखिएको थियो। घटनाबारे अर्का आरोपी सुरेन्द्र बिश्वकर्मालाई पूर्ण जानकारी रहेको थियो। तर उनले प्रहरीलाई असहयोग गरेको कारण दुबै जनालाई पक्राउ गरिएको इन्सपेक्टर नायकले जानकारी दिएका छन्। दुवै जनालाई डडेलधुरामा आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सैयौं किलोमिटर टाढा डडेलाधुराबाट मात्र २० ग्राम सुन चोरी भएको १० दिनभित्रै आरोपीलाई रौतहटबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।न्युज कारखाना

काठमाठौं, २४ फागुन ।

वीर अस्पतालको न्यूरो सर्जरी विभागले परम्परागत उपचार विधि प्रभावकारी नभएको भन्दै डिप ब्रेन स्टुम्युलेसन उपचार विधिद्वारा बिरामीको उपचार गर्ने भएको छ।

अस्पतालले पार्किन्सन, छारेरोग डिप्रेसन शारीरिक कम्पन, डिस्टोनिया, ओसिडी जस्ता रोगमा उक्त उपचार विधि प्रयोगमा आउन लागेको न्युरो सर्जरी विभाग प्रमुख प्रा. डा. राजिव झाले बताए।

परम्परागतरूपमा प्रयोग हुँदै उपचार विधिको प्रभावकारिता न्यून भएको भन्दै अस्पताल यस प्रकारको उपचार विधी प्रयोगमा ल्याउन लागेको बताइएको छ।

उक्त प्रक्रियाका लागि अस्पतालले आगामी चैत्र १८ गतेसम्म बिरामीहरूको छनोट गरिसक्ने झाले बताए।

परम्परागत उपचार विधिद्वारा निको नभएका तथा  सम्बन्धित रोग लागेका बिरामीहरूले अस्पतालको न्यूरो सर्जरी विभागमा सम्पर्क गर्न विज्ञप्तीमार्फत अनुरोध गरिएको छ।न्युज कारखाना

रौतहट, २४ फागुन ।

नेकपा एमालेको जनवर्गीय संगठन युवा संघ नेपालका केन्द्रीय सदस्य विक्रम लामालाई वन कार्यालयले पक्राउ गरेको प्रति युवा संघले घोर आपत्ति जनाएको छ।

बुधबार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा एक सामुदायिक वनको काठलेलामीको टेन्डर फर्म किन्नका लागि पुगेका लामालाई वन कर्मचारीले वनको हिरासतमा राखेका थिए।

राष्ट्रिय युवा संघ नेपाल रौतहटका अध्यक्ष मुन्ना यादवले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै डिभिजन वन कार्यालय रौतहटले गरेको सो कार्यको घोर निन्दा गरेको हो। चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेको महादेव स्थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष केशव पुलामीले दिएको उजुरीका आधारमा लामालाई डिभिजन वन कार्यालय रौतहटले पक्राउ गरी हिरासतमा राखेको छ।

सो सामुदायिक वनमा रहेको २२०० क्युबिक काठ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुलामी र सब वन डिभिजन कार्यालय जुडिबेलाका प्रमुख सुरेश महत्वको मिलेमतोमा गोप्य रूपमा बिक्री वितरण गर्न लागेको थाहा पाएपछि पक्राउ परेका लामाले पनि काठ  किन्न पाउनुपर्ने भन्दै टेन्डर फोरम लिन गएपछि उनलाई सुनियोजित रूपमा फसाइएको युवा संघ नेपालले जनाएको छ।

सो सामुदायिक वन छेउमै रहेको राष्ट्रिय वन क्षेत्रमा केही समय पहिला काटिएको काँचा खयरमा लामाको नाम मुसेर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुलामीले डिभिजन वन कार्यालय रौतहटमा उजुरी दिएपछि त्यसैका आधारमा वन कार्यालयले लामालाई पक्राउ गरेको   थियो।न्युज कारखाना

 

काठमाडौं, २४ फागुन ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन्।

बिहीबार सिंहदरबारमा नेपाल बैंकर्स संघका प्रतिनिधिसँगको कुराकानीमा अर्थमन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने स्पष्ट पारे। उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियानलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन्।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ऋण नर्तिन भड्काउँदै हिंड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको जानकारी पनि मन्त्री पुनले दिए।

भेटमा नेपाल बैंकर्स संघका प्रतिनिधिले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए। ऋण उठाउन गएका बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहारका साथै भौतिक आक्रमणका घटना बढेकामा गम्भीर हुन मन्त्री पुनसँग बैंकर्सहरुले आग्रह गरेका थिए।

‘बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब धेरै दिन छुट दिन सकिँदैन। त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन,’ पुनले भने।

निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबन गिर्न नदिने अर्थमन्त्री पुनले बताए। मुलुकमा लगानीको वातावरण र लगानी सुरक्षाको ग्यारेन्टी गर्न सकिए मात्र बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको उनको भनाइ थियो।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीलगायतले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए।न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।