काठमाडौं, १३ फागुन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारीसहित विभिन्न घटनामा प्रधानमन्त्रीको जवाफ माग्र्दै आएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले दुईजना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला दोषी देखाइएको छानबिन आयोगको प्रतिवेदन, मन्त्री ज्वालाको बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने भन्दै उठेर विरोध गर्यो ।
प्रतिचपक्षी दल एमालेका सांसद उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले यसबारे सदनको ध्यानाकर्षण भएको र यसबारे सरकारलाई रुलिङ भइसकेको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे । त्यसपछि एमालेका सांसद आ–आफ्नो स्थानमा बसेपछि बैठक चलिरहेको छ ।
एमालेले बालकुमारी घटनामा छानबिन आयोगले मन्त्री ज्वालालाई दोषी देखाएकाले उनले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ । मन्त्री ज्वालाले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने उसको माग छ ।
साथै टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र लुम्बिनीको जग्गा लिजमा दिएको प्रकरणमा पर्यटन मन्त्री सुदन किराँतीको राजीनामा माग्दै आएको छ ।
न्युज कारखाना
रौतहट १३ फागुन।
मैनबत्ती बाट सल्किएर रौतहटको कटहरिया नगरपालिका-५ स्थित १ घरमा आगलागी हुँदा करिब तीनलाख बराबरको धनमाल जलेर नष्ट भएको छ।
कटहरिया ५ बजार छेउको बहादुरपुर गाउँका रामचन्द्र गोसाइँको खरको छाना भएको घरमा शनिबार राति साढे ८ बजे आगलागी भएको थियो। आगलागी बाट घर तथा घरमा रहेको अन्न, लत्ताकपडा, गरगहना जलेर झण्डै तीनलाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख बरिष्ठ सई अरुण कुमार सिंहको कमाण्डमा गएको प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको थियो। विद्युत् लाइन नरहेको समय घरमा बालेको मैनबत्तीबाट सल्किएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ।
पीडित गोसाईंका अनुसार आगलाग बाट घरमा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएकाले महिला तथा बालबालिका लाई ठुलो कठिनाई भएको छ। प्रहरी तथा स्थानीयको सक्रियताले ठूलो क्षति हुनबाट जोगिएको छ। जलेर नष्ट भएको गोसाईंको घरको छेउ छाउमा एकदर्जन खरको छाना भएको घरहरू रहेको छ।न्युज कारखाना
काठमाडौँ, १३ फागुन ।
मह सञ्चारमा करिब डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’मार्फत् निर्देशनमा डेब्यु गरेका प्रदीप भट्टराईले ‘शत्रु गते’, ‘जात्रै जात्रा’ र ‘महापुरुष’को निर्देशन गरिसकेका छन् । लगातार हरेक फिल्ममा दर्शक र समीक्षकको विश्वास जित्न सफल निर्देशक भट्टराई स्टारडम भएका निर्देशकमा पर्छन् । अर्थात् निर्देशककै नामले नेपालमा कमै दर्शक हलसम्म पुग्ने गरेका छन् । ती मध्येका एक हुन् निर्देशक भट्टराई ।
उनले आफ्ना काममार्फत दर्शकको विश्वास घट्न दिएका छैनन्, बढाएका छन् । नेपालमा सिक्वेल फिल्मले प्रायः दर्शक तथा समीक्षकबाट तारिफ नपाइरहेको अवस्थामा निर्देशक भट्टराईकै लेखन रहेको ‘जात्रै जात्रा’ले सिक्वेल फिल्म पनि राम्रो बन्छ भन्ने प्रमाणित ग¥यो । पहिलो फिल्ममार्फत् विश्वास बनाउन सफल निर्देशक भट्टराईल दोस्रो फिल्ममार्फत आफुलाई बक्सअफिसमा प्रमाणित गरे । तेस्रो फिल्ममार्फत ह्याट्रिक गरे । चौथो फिल्म ‘महापुरुष’ मार्फत उनले गुरू अभिनेता हरिवंश आचार्यलाई राष्ट्रिय चलचित्र पुरस्कारका हकदार बनाउन सफल भए ।
उनी अहिले जात्राको तेस्रो शृङ्खला ‘महाजात्रा’ लिएर दर्शकसमक्ष आउदैछन् । यसको प्रचारप्रसारको सुरुआत गर्दै उनले विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसहितको टिजर सार्वजनिक गरिसकेका छन् ।
‘हामीले फिल्म निर्माणको सुरुआत गर्दा नै विदेश राइट्स विक्री हुनु, नेपालमा वितरकको प्रतिक्रियाले गर्दा यो शृङ्खलाको प्रतीक्षालाई बुझिसकेका थियौँ । महाजात्रा भएकाले कथा, प्रस्तुतीकरणमा झनै मेहनत गरेका छौं । हामी दर्शकको वर्ड अफ माउथ अघिल्ला शृङ्खला भन्दा यसपटक झनै बलियो होस् भनेर काम गरिरहेका छौँ’,निर्देशक भट्टराईले भने ।
उनले आफ्नो सफलतालाई टिमको मेहनतको रुपमा वर्णन गर्छन् । किनकि स्क्रिप्ट लेख्नकै क्रममा हुने छलफल र मेहनतले दर्शकलाई हलबाट खुशी बनाएर निकाल्न सकिएको उनको बुझाइ छ । ‘मैले फिल्म दर्शकका लागि तयार गर्ने गरेको छु । बजारमा यो चलिरहेको छ वा यस्तो डिमाण्ड छ भनेर काम गरिएको छैन । हाम्रो शैलीमै काम गर्ने गरेका छौं, दर्शक खुशी हुनुभएकै कारण एकपछि अर्को फिल्मको बक्सअफिसमा व्यापार बढिरहेको छ’, निर्देशक भट्टराईले भने ।
जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने पैसा व्यवस्थापन गर्ने अवसरले गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हाँसो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङखला दर्शकको प्रिय बनेको छ । यसले नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाईसकेको छ ।
कथा लेखनकै क्रममा ‘महाजात्रा’ को बनेको ब्राण्डको कारण भारत बाहेकको विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गरिसकेका छन् । उनले नेपालसँगै विदेशमा पनि चैत ९ गते प्रदर्शन हुने बताए ।
‘हाम्रो कम्पनिले अधिकाँस देशमा प्रदर्शन अधिकार बिक्री गरिसकेको छ । यसलाई हेर्न परिवार नै दर्शक बनेर आउने हुँदा हाम्रो लगानी सुरक्षित हुनुका साथै मुनाफा नै हुन्छ’, वितरक थापाले भने,‘हामीले यसले प्राप्त गर्ने रकम दिएका छौं । सम्भवत यो अहिलेसम्म विदेश अधिकारका लागि बिक्री भएको मध्ये बढी हो । यसबाट म मात्र नभई स्थानीय वा सहर–सहरमा प्रदर्शन गर्ने पनि लाभान्वित हुनेछौँ ।’
फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।
यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।न्युज कारखाना
काठमाडौं, १३ फागुन ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको भाउ घटेको छ। यसैगरी बेलायती पाउण्डको भाउ भने बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०१ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा डलरको भाउ १६ पैसाले बढेको हो। शुक्रबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ २५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८५ पैसामा थियो ।
आइतबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ४० पैसा र बिक्रीदर १४४ रूपैयाँ ०५ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०८ पैसाले घटेको हो। शुक्रबार यसको खरिददर १४३ रूपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रूपैयाँ १४ पैसामा कारोबार भएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ एक रुपैयाँ ३३ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६८ पैसा कायम गरिएको छ। शुक्रबार यसको खरिददर १६७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३५ पैसामा कारोबार भएको थियो।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ९४ पैसा र बिक्रीदर ८७ रूपैयाँ ३३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ २२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६६ पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८३ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३६ रूपैयाँ २१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २७ रूपैयाँ ७२ पैसा र बिक्रीदर २७ रूपैयाँ ८४ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २० पैसा र बिक्रीदर ४३२ रूपैयाँ १५ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ८४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।न्युज कारखाना
धनकुटा, १२ फागुन ।
धनकुटाको सागुररिगढी गाउँपालिका-६ स्थित भेडेटार चोकबाट करिब ५२ किलोसहित लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मोरङ विराटनगर महानगरपालिका-८ बस्ने ४८ वर्षीय जयदेव चेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे.१ च २०३२ नम्बरको मुक्तिघाट सेवा समाज हल्दिवारी झापाद्वारा सञ्चालित एम्बुलेन्सलाई जाँच गर्ने क्रममा एम्बुलेन्सको टुलबक्स राख्ने स्थानमा उक्त परिमाणको गाँजा फेला पारेको प्रहरीको भनाइ छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
धनुषा, १२ फागुन :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताएका छन् ।
उनले मधेसको विकास नभइकन देशको विकास नहुनेसमेत उल्लेख गरेका छन् ।
सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व बृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले यसपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए
उनले भने, “अब सङ्घीयता सबल रुपमा कार्यान्वयन हुन्छ, केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ ।”
प्रधानमन्त्री प्रचण्डले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले संघीयतालाई सबल तुल्याउने विश्वाससमेत व्यक्त गरेेका छन् ।
नेपालको भूगोलअनुसार झोलुङ्गे पूलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा झोलुङ्गे पूलको निर्माणमा प्राथमिकता दिइँदै आएको बताए ।
निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पुर्याएको बताउँदै उहाँले दुई जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने विश्वास व्यक्तसमेत गरेका छन् । प्रधानमन्त्रीले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्नेसमेत बताए ।
नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर लामो पुल हो।
सञ्जय मिश्रा ,रौतहट, १२ फागुन ।
लामो समय देखि तस्करीको जालो तोड्न रौतहट स्थित प्रहरीले अबैध रुपमा भारतबाट ल्याईएको अढाई क्विन्टल माछा नष्ट गरेको छ।
जिल्लाको पूर्वी भेग गढीमाई नगरपालिका ७ स्थित बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी धर्मपुरको संयुक्त टोलीले उक्त माछा नष्ट गरेको हो।

भारतबाट अबैध रुपमा भित्र्याइएको अढाई क्विन्टल माछा स्थानिय भद्रभलादमी रोहवरमा प्रहरी चौकीको हाताभित्रै खाल्डो खनेर नष्ट गरेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन।
तस्करहरुले सस्तो मूल्यमा पर्ने भनेर बिभिन्न जातको भारतीय माछा जिल्लामा अबैध रुपमा भित्र्याएर बिक्रि गर्ने गर्दछन्। नेपाली उत्पादनको तुलनामा सस्तो पर्ने भएकाले यहाँका दर्जन बढी तस्कर भारत आंध्र प्रदेशमा उत्पादित बचवा लगायत जातको माछा अबैध रुपमा भित्रयाउने गरेका थिए।

आन्ध्र प्रदेशबाट रौतहटसम्म ल्याउँदा दुई हप्तासम्म समय लाग्ने भएकाले तस्करहरुले उक्त माछा ल्याउन बिभिन्न प्रकारको खतरनाक केमिकलको प्रयोग गर्दछन्।
तस्करहरुले सीमा क्षेत्रका नेपाल प्रहरीका युनिटसँगै सशस्त्र प्रहरीलाई समेत प्रलोभनमा पारेर मानव स्वास्थ्यका लागि अतिनै हानिकारक भारतीय माछा रौतहट लगायत मधेश प्रदेशको प्रायः सबै जिल्लाहरुमा अबैध रुपमा ल्याएर बिक्रि गर्दै आएका छन्।
रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठको पहलको स्थानीयले सराहना गरेका छन।
सर्लाही, १२ फागुन ।
सर्लाहीको बागमती नगरपालिकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव उद्घाटन गर्न माओबादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन ।
देशकोे पहिचान र बागमती नगरपालीकाको गौरवको रुपमा हुन लागेको शैक्षिक तथा सांस्कृतिक महोत्सवको उद्घाटन दिउँसो १ बजे हूने बागमती नगरपालिकाले जनाएको हाे ।
नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक र भौतिक गुणस्तरमा उल्लेख्य सुधार गरेकोले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गरेको बागमती नगरपालिकाले जनायको छ । “शिक्षा, स्वास्थ्य, रोजगार, त्यसैकालागि पूर्वाधार” भन्ने मूल नारा सहित सामुदायिक विद्यालयहरुको रुपान्तरण अभियान अन्तर्गत बागमती नगरपालिकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गरेको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले जानकारी दिए ।
शैक्षिक महोत्सवमा विद्यार्थीहरूको शैक्षिक प्रदर्शनी शिक्षक, अभिभावक, विद्यार्थीबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने छ । बागमती नगरपालिकाले नगरभित्रका समुदायलाई सामुदायिक विद्यालयसँग जोड्ने प्रयास स्वरूप १० हजार अभिभावकको आ–आफ्नो सांस्कृतिक झल्किने भेषभुषामा झाँकी सहितको प्रस्तुति रहनेछ । हरेक विद्यालय,टोल र वडाबाट आ–आफ्नो सांस्कृतिक पहिचानको पोशाक तथा नाचगानसँगै हामी सुधार गछौं, हाम्रो विद्यालय“ जस्ता नारा सहित अभिभावक उपस्थित रहने बागमती नगरपालिकाको शिक्षा शाखा मीनप्रसाद उपाध्यायले बताए ।
उपाध्यायका अनूसार नेपालमै पहिलोपटक सामुदायिक विद्यालयका तीन हजार छात्रछात्राले एकै साथ नृत्य प्रस्तुत गर्ने र छात्रछात्राले मानव चित्र, नेपालको नक्सा, झन्डा लगायतको बिभिन कला प्रदर्शन गर्ने बागमती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
सञ्जय मिश्रा ,रौतहट १२ फागुन।
रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिका स्थित जग्गाको बिषय लिएर भएको दुईपक्षीय झडपमा एकजनाको मृत्यु भएको छ भने एकजना पक्राउ परेका छन्।
दुर्गा भगवती २ भलोहिया स्थित भएको दुईपक्षीय झडपमा स्थानिय बर्ष ४० का जयप्रकाश दासको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्गा भगवती २ भलोहिया हाल पिपरा सिमानामा बस्दै गरेका ४० बर्षिय जयप्रकाश दास र सोही स्थानका ५० बर्षिय चन्देश्वर महतो बीच शुक्रवार अपरान्ह झडप हुँदा महतोले दासलाई धकेल्दा उनी भुइँमा लडेका थिए । लडेर अचेत भएका जयप्रकाश गाउँमा सामान्य उपचार पछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न एकजना मानिस पक्राउ गरिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनास्थल सदरमुकाम गौर देखि झण्डै १५ किलोमीटर उत्तर पूर्वमा पर्छ।
रौतहट,११ गते फागुन ।
बिजयपुर–रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन २० गतेदेखि सुरु हुने भएको छ ।

आज फतुवा बिजयपुर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको पालिका स्तरीय खोप समन्वय समिति अभिमूखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
बिजयपुर स्थित शहिद मनरुप स्मृती भवनमा ११ वटै वडाका वडाध्यक्षहरु,बिधालयका प्रधानाध्यापकहरु,स्वास्थ्य संस्थाका इन्चार्ज ,सञ्चारकर्मी,यूवा कल्ब संगको अभिमूखीकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रौतहटका जनस्वास्थ्य अधिकृत हरेन्द्र गुुप्ताले दादुरा–रुबेला खोप अभियान सुरु गर्न लागिएको जानकारी गराए ।
फतुवा बिजयपुरका स्वास्थ्य संयोजक प्रमोद गुप्ताका अनुसार दोस्रो चरण अन्तर्गत फागुन २० गतेदेखि सुरु हुने उक्त अभियान अन्तर्गत १४ हजार ५ सय ८१ जना बालिबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ । सो अभियान नगर भरि फागुन २४ गते सम्म चल्ने छ ।

उनका अनुसार, दादुरा–रुबेला खोप अभियान अन्तर्गत नगरका स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतका स्थानमा गरी ५८ खोप केन्द्र स्थापना गरिने छ । सो अभियान सफल पार्न २२ जना कर्मचारी परिचालन गरिने बताए । शुक्रबार भएको अभिमूखीकरण कार्यक्रममा गुुप्ताले यो अभियानलाई सफल पार्न सबैजनाको भूमीका महत्वपूर्ण हुने भन्दै सहयोगका लागि आग्रह गरे ।

सो अवसरमा सबै वडाका वडाध्यक्ष,प्रधानाध्यापकहरु, स्वास्थ्य शाखा
का कर्मचारी,सञ्चारकर्मी लगायतका व्यक्तीहरुको पनि सहभागीता रहेको थियो ।