२०८३ कार्तिक ११
२०८३ कार्तिक ११

काठमाडौं, १४ फागुन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ नदिएपछि आपत्ति जनाएको छ ।

सोमबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले प्रतिपक्षी दलका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई दुई दिनको समय दिँदा पनि नजरअन्दाज गरिएको आरोप लगाए ।

सभामुखबाटै रुलिङ भइसक्दा पनि प्रधानमन्त्री प्रचण्डले जवाफ नदिएको भन्दै उनले यसरी बैठक अघि बढ्न नसक्ने बताए ।

बालकुमारीसहित विभिन्न घटना तथा मिटरब्याजीको समस्या समाधानका विषयमा सरकारको जवाफ माग्दै एमालेसहित प्रतिपक्षी दलले सरकारको जवाफ मागेको छ । न्युज कारखाना

रौतहट १४ फागुन।
मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी यज्ञबिनोद पोखरेलको कडा निर्देशनपछि सर्वसाधारण व्यापारीको ३१ थान मोबाइलसँगै दुईलाख रुपैया ठग्ने बहालवाला एकजना प्रहरी सहायक हवल्दार र एकजना प्रहरी जवानलाई कानुनी कारवाहीको दायरामा ल्याइएको छ।

डिआईजी पोखरेलको निर्देशनमा आरोपीद्वय जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत सहायक हवलदार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादव प्रहरी हिरासतमा पुगेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषामा दुवैजनामाथि आइतबार आपराधिक विश्वासघात र आपराधिक लाभ शिर्षकमा दुद्दा दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी श्याम कुमार महतोले बताएका छन।

आइतबार नै जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद थमाएर दुबैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रवक्ता एसएसपी महतोले जानकारी दिएका छन्।

महोत्तरीको महोत्तरी गाउँपालिका- ५ घर भएका सहायक हवलदार दीपेन्द्र र सुनसरी जिल्लाको देवागन्ज गाँउपालिका २ घर भएका प्रहरी जवान रोशन मिलेर जनकपुरका एकजना व्यापारीसँग यही ८ फागुनमा विभिन्न ब्राण्डको ३१ थान मोबाइल खरिद गरेका थिए।

पछी मोबाईल फिर्ता गर्ने भनेर व्यापारीसँग दुईलाख रुपैयाँसमेत लिएर पटकपटक माग गर्दा पनि फिर्ता नगरेपछि बाध्य भएर पीडित व्यापारीले १३  फागुनमा उनीहरू विरुद्ध प्रदेश प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए।

उजुरीपछि सहायक हवल्दार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि उनकै बयानको आधारमा सोहि दिन जनकपुर उमनपा ७ अन्जनीमाई कुटी को उत्तर पोखरीको डिलमा तल झाडीमा स्यानो रातो ब्यागमा लुकाई छिपाई राखेको उक्त ३१ थान मोबाईल र दुईलाख मध्ये ९५ हजार रुपैयाँ उनीहरूको रोहवारमै बरामद भएको थियो।

 

दुईदिनको अनुसन्धान पछि हिजोदेखि कार्वाही प्रक्रिया सुरु गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जारीहरेको सूचनामा उल्लेख गरिएको छ।

डिआईजी पोखरेलकै सक्रियतामा केही दिनअघि रौतहटस्थित सरस्वतीको मूर्ति बिसर्जनको बिषयमा उत्पन्न हिन्दू मुस्लिमबीचको सम्प्रदायिक झगडा सहजरूपमा मिलाइएको थियो।न्युज कारखाना

रौतहट, १४ फागुन ।

लामो समयदेखि आफूले दुध बेचेको पैसा नपाएपछि रौतहटका दूध उत्पादक किसानहरू मारमा परेका छन् ।

 

नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले रौतहटका दूध उत्पादक किसानको साढे ५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । यस्तै विभिन्न निजी डेरीहरुले रौतहटका किसानबाट लगेको दुधको ३ करोड पैसा दिन सकेका छैनन् ।

दुधको पैसा समयमा नआएपछि रौतटका दूध उत्पादक किसानहरुले आन्दोलनका कार्यक्रम तय गरेका छन् । रौतहटको गरुडा भन्दा उत्तरी भेगका किसानले उत्पादन गरेको दुध बेचेको साढे ८ करोड रुपैयाँ डेरीहरुले नतिरेपछि दुध उत्पादक किसानहरु समस्यामा परेका हुन्

 

दुध उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार रौतहटका दूध उत्पादक किसानहरूले फागुन १४ गते जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कार्यक्रम तय भएको छ । त्य

 

स्तै दुध उत्पादक किसानहरूले १७ गते पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगापुरमा २ घण्टा चक्काजाम गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताइएको छ ।

 

यो कार्यक्रम देशभरका ७७ वटै जिल्लामा दूध उत्पादक किसानहरुले गर्ने रौतहट जिल्ला दुध उत्पादक संघका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

त्यति गर्दा पनि सुनवाई नभए देशभरका दूध उत्पादक किसानहरूले २१ गते काठमाडौँस्थित माइतीघर मण्डलामा सरकारको विरुद्ध प्रदर्शन गर्ने तयारी गरेका छन् ।

 

रौतहट जिल्लामा मात्र दैनिक ३० हजार लिटर दूध उत्पादन हुने गरेको छ । रौतहटमा उत्पादन भएको दुध हेटौंडा स्थित नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसी र विभिन्न निजी डेरीहरुले लाने गरेका छन् ।

 

दुध बेचेको पैसा समयमा डेरीहरुले भुक्तानी नगरेका कारण रौतहटमा दुध उत्पादनमा सक्रिय किसानहरुले पशुलाई दाना खुवाउने पैसा समेत नभएको गुनासो गरेका छन् ।

 

विगत छ महिनादेखि दूधबिक्री गरेको पैसा नपाएपछि व्यवसायिक रुपमा पशुपालनमा लागेका किसानहरुलाई घर चलाउन नै समस्या भएपछि उनीहरुले आन्दोलन गर्न बाध्य भएको किसानहरुले बताएका छन् ।

छ महिनासम्म दूधको पैसा नदिएका निजी तथा सरकारी स्वामित्वका डेरीहरुले समयमा किसानले उत्पादन गरेको दुध समेत खरिद नगर्दा किसानहरु दुध फाल्न बाध्य भएको उनीहरूको गुनासो रहेको छ ।

 

दुध बेचेको पैसा समयमा नआउँदा व्यवसायिक रुपमा ठूलो संख्यामा पशुपालन गर्दै आएका रौचाटका किसानहरु मारमा परेका छन् ।

सरकारले आफूहरूको समस्या समयमा समाधान नगरेका कारण आफूहरूले बाध्य भएर विभिन्न संघर्षका कार्यक्रम गर्नुपरेको उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष अधिकारीको भनाइ रहेको छ ।न्युज कारखाना

 

बारा, १४ फागुन ।

बारा जिल्ला दुध उत्पादक सहकारी संघ लि.ले किसानको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै केन्द्रिय दुग्ध सहकारी संघ लि. नेपालद्वारा घोषणा गरेको राष्ट्र व्यापी दुग्ध किसान आन्दोलनमा एकेबद्धता जाहेर गर्दै आन्दोलन घोषणा गरेका छन् ।

संघले आज बाराको निजगढ नगरपालिकाको सभाहालमा पत्रकार सम्मेलन गर्दै दुध उत्पादक किसानको माग सम्बोधनमा नभएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् ।

 

बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. मा यस जिल्लाका ४ वटा दुग्ध उत्पादक सहकारी संस्थाका ११ हजार किसान परिवारको आवद्द छन । दुग्ध सहकारीमार्फत दैनिक ६० हजार लिटर दुग्ध संकलन गर्दै करीब ५० लाख रकम शहरको पैसा गाउँ भित्र्याउँदै ग्रामिण अर्थतन्त्र मजबुत बनाउन कृयासिल रहेको यस सघंमा रहेका दुग्ध संकलन गर्ने डेरी उद्योगहरुले यस क्षेत्रका किसानको विगत ३ महिना देखिको करीब १८ करोड रुपैयाँ भुक्तानी बक्यौता पाउन नसकेको बारा जिल्ला दुध उत्पादक सहकारी संघ लिका जिल्ला अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

 

उनले भने,‘विभिन्न बहनामा यस भेगका किसानले अघोषित मिल्क होलिडेको सामना गरिरहेको छन्, जसले गर्दा आज बारा जिल्लाको दैनिक १२ हजार लिटर दुग्ध बिक्री भईरहेको छैन र दुध उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान गर्न सरकारले चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको हो ।’

संघले दुग्ध किसानको देशका निजी डेरी उद्योगहरुद्वारा बारा जिल्ला भित्रका सहकारी मार्फत विगत ३ महिनादेखि बाँकी रहेको रकम रु. १८ करोड भन्दा बढी दुग्धको रकम अबिलम्ब भूक्तानी गराउनु पर्ने, हाल किसानले भोगिरहेको मिल्क होलिडे तुरुन्त बन्द गराउनु पर्ने, अनियमित रुपमा आयातित दुग्ध एवं दुग्ध जन्य पदार्थहरुलाई पूर्ण बन्द गराई मौज्दात रहेका दुग्ध जन्य पदार्थ नेपाल सरकारको कुटनीतिक पहलद्वारा अन्तर्राष्ट्रिय बजारमा अबिलम्ब बिक्री गर्ने व्यवस्था गरिनुपर्ने, दुग्ध किसानलाई यस पेशामा जोगाई राख्न कृषि कर्जामा अनुदान कार्यक्रम विगत वर्षमा झैं यथासिघ्र उपलब्ध गराउनुपर्ने, उत्पादन लागत घटाउने कार्यक्रम अभियानका रुपमा सञ्चालन गराउनुपर्ने, पशु आहार र पशु औषधीमा भैरहेको मूल्य बृद्धि नियन्त्रण गरी अनुदानको व्यवस्था गरिनु पर्ने, दुग्धमा प्रति लिटर ५ रूपैयाँ नुदान सबै प्रदेशका किसानले पाउनुपर्ने, निर्यातित दुग्ध जन्य पदार्थमा अनुदानको व्यवस्था गराउनुपर्ने, दुग्ध तथा दुग्ध जन्य पदार्थ निर्यातका लागि खोरेत लगायतका रोग मुक्त घोषणा गर्ने र बिमा कार्यक्रमलाई प्राथमिकतामा राखि पशु बिमाको रकम तुरुन्तै प्राप्त हुने व्यवस्था गर्नुपर्ने माग राखेका छन ।

दुधको भूक्तानी नपाएसम्म आन्दोलन गर्नै दुग्ध सहकारी संघको चेतावनी

 

यसैबीच, केन्दीय दुग्ध सहकारी संघ लिले दुधको भूक्तानी दिन सरकारले आनाकानी गरेको भन्दै विरोध स्वरुप दुग्ध उत्पादक किसानहरुले नेपाल भरी बन्द गर्ने चेतावनी दिएका छन् ।

भुक्तानी यथाशिघ्र उपलब्ध गराउन माग गर्दै पटक पटक भएको आन्दोलन र नेपाल सरकारसँग भएको सम्झौतामा सरकार गम्भीर नभएको केन्दीय दुग्ध सहकारी संघ लि नेपालका सचिव थानेश्वर सापकोटाले बताए । उनले भने,‘नेपाल सरकारसँग मिति २०८० मंसिर २६ गते सम्झौता भएकोमा उक्त सहमती कार्यन्वयन नभएको र दुध उत्पादक किसानको माग सम्बोधनमा सरकार गम्भीर सामेत देखिदैन । उता भारतीय दुधले बजार पाउँदा स्वदेशमा उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको रकम समेत नपाएको हुदाँ आन्दोलन बहेक अन्य कुनै बिकल्प नभएका करण हामी आन्दोलन गर्नै बाध्य छाैं।’

६६ जिल्लाका एक हजार सात सय पचास बढी सहकारी आवद्घ रहेको केन्दीय दुग्ध सहकारी संघ लिको समेत सहभागितामा दुग्ध उत्पादक कृषकहरुले दुग्ध बिक्री वापत पाउनुपर्ने रकम भूक्तानी लगायतका विषयमा फाल्गुन १७ गते १० बजेदेखि १२ बजेसम्म सबै जिल्लाका राजमार्गमा शान्ति पूर्ण रुपमा चक्का जान गर्ने, फाल्गुन २१ गतेदेखि माईतीघर मण्डलामा माग पूरा नभए सम्म धर्ना तथा विरोध प्रदर्शन गर्ने, मुलुकका १५ वटा किसान संगठनद्वारा घोषित सम्पूर्ण आन्दोलनलाई सशक्त बनाई वृहत किसान आन्दोलनद्वारा घोषित मागहरु पूरा गर्न निरन्तर आन्दोलित हुने जानाएको छ ।

 

संघले मुलुक भरीका दुग्ध किसानको पेशागत हकहित संरक्षणका लागि घोषित आन्दोलनलाई सशक्त बनाउन योगदान गर्ने र आन्दोलनलाई साथ समर्थन, सहभागिता तथा सकरात्मक विचार प्रवाहका लागि राजनितीक दल, संघ संस्थाहरु, किसान महानुभावहरु, सहकारी कर्मीहरु, जनप्रतिनिधीहरु एवम् आम जनतालाई अनुरोध समेत गरेको छ ।न्युज कारखाना

काठमाडौं, १४ फागुन ।

प्रतिनिधिसभा बैठक बस्दैँछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

 

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन् ।

 

राष्ट्रियसभामा उत्पति भएको बिधायन सबन्धी बिधेयक २०८० का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको बिधयेक टेबुल गरिनेछ ।

 

साथै, उधोग बाणिज्य तथा आपुर्ती मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पति भएको बिधुत ब्यापार बिधेयक २०८०’ माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

अर्थ मन्त्री प्रकाशशरण महतले आब २०८१÷८२ का लागि बिनियोजन बिधेयकका सिदान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसुची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । न्युज कारखाना

काठमाडौं, १३ फागुन ।

प्रतिनिधिसभामा सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोपप्रत्यारोप चलेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा संविधान र व्यवस्थाविरुद्ध बोल्न नपाइने सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले बताएपछि प्रतिपक्षी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिवाद गरे । शाहीकै पक्षमा सत्तारुढ दलकै कांग्रेस सांसद सुनील शर्मा देखिए ।

आइतबारको बैठकमा राप्रपालाई इंगित गर्दै माओवादी केन्द्रका सांसद सापकोटाले भने, ‘यही संविधानले दिएको लोगो र यसले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने । लोगो लगाएर सारा सेवा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने । प्रदेशतिर गएर सभामुख पनि लिने, तर फेरि यो संविधानलाई विरोध गर्ने ? संविधान र व्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्रवादी हुन सक्दैन ।’

सांसद सापकोटाले राप्रपा सांसदमाथि नैतिकताको प्रश्न उठाएर राजीनामा दिनुपर्ने तर्क अघि सारे । यसपछि राप्रपामा प्रमुख सचेतक शाहीले संविधानमा फरक मत राख्ने अधिकार सुरक्षित रहेको भन्दै सापकोटालाई संविधान पढ्न सुझाव दिए । जनताको हत्या र हिंसा गरेर राप्रपाका सांसद संसदमा नआएको भन्दै उनले राजीनामा किन दिनुपर्ने भन्दै प्रश्न गरे ।

 

‘यो देशमा यो व्यवस्था चाहिने नचाहिने संशोधन गर्न पाइन्छ भनेको छ । कसैले विचार मिल्दैन भन्दै अमूक मान्छेले राजीनामा माग्न पाइँदैन । अलिकति ज्ञान भए संविधान पढेर आउनू, आउँदैन भने हामीसँग सिकाइ माग्नुप¥यो । संविधानले विशेष अधिकार दिएको छ । कुनै पनि सांसदले स्पष्ट रूपमा वाक् स्वतन्त्रता दिएकाले कसैले राजीनामा माग्न पाइँदैन,’ उनले भने, ‘मैले किन राजीनामा दिने ? मैले आठ÷नौ वर्षका बच्चाबच्चीको घाँटी काटेर आएको हो ? गुड्दै गरेको बसमा बम हानेर मारेको हो ? किन राजीनामा दिने ? मैले नेपाली जनता मारेको हो ? जातजाति, धर्मको नाममा हिंसा गरेर आएको हो ?’

राप्रपाका शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए । तर, पाण्डेको नियमापत्तिको सत्तारुढ दल कांग्रेसका सांसद सुनील शर्माले पाण्डेको विरोध गरे ।न्युज कारखाना

भैरहवा, १३ फागुन ।

दादुरा-रुबेलाविरुद्धको खोप अभियान रुपन्देहीमा आजबाट सुरु भएको छ । गत वर्ष कतिपय जिल्लामा दादुरा-रुबेलाको संक्रमण देखापरेपछि सरकारले यसवर्ष फागुन १३ देखि २४ गतेसम्ममा ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा-रुबेला खोप अभियान सञ्चालन गर्न थालेको हो । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले आजदेखि चैत्र ७ गतेसम्म देश व्यापी रूपमा सो खोप अभियान ल्याएकाे छ ।

 

राष्ट्रिय खोप कार्यक्रम दादुरा-रुबेला खोप अभियान २०८०/२०८१ कार्यक्रम सञ्चालन निर्देशिका अनुसार विगत एक वर्षमा दादुरा रोगको महामारी भएको स्थान र दादुरा रोगका बिरामीको उमेरलाई विश्लेषण गरेर यस अभियानमा दादुरा-रुबेला खोप प्रदान गर्ने लक्षित समूहको आधारमा जिल्लालाई २ समूहमा विभाजन गरेको जनाइएको छ ।

 

पहिलो समूहमा दादुरा-रुबेलाका लागि उच्च जोखिम भनी पहिचान गरिएका तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाभित्रका ३ जिल्ला गरी २४ जिल्ला छन् । दोस्रो समूहमा बाँकी ५३ जिल्ला रहेको निर्देशिकामा उल्लेख गरिएको छ ।

 

स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले यस उमेरका कुनै पनि बालबालिका दादुरा-रुबेलाको खोप लगाउनबाट नछुट्ने गरी खोप लगाउने तयारीका साथ व्यवस्थापनमा जुटेको जानकारी दिए । रुपन्देहीमा दुई चरणमा गरी ३ लाख १४ हजार ७३८ जना बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने उनले बताए ।

 

खोप अधिकृत शर्माका अनुसार पहिलो चरणमा फागुन १३ देखि १७ गतेसम्म बुटवल, देवदह, तिलोत्तमा, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर, ओमसतिया, रोहिणी, सियारी र शुद्धोधन गरी नौवटा पालिका र दोस्रो चरणमा फागुन २० देखि २४ गतेसम्म गैडहवा, कञ्चन, सैनामैना, सममरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गरी सात पालिकामा यो खोप अभियान सञ्चालन हुनेछ ।

 

रुपन्देहीमा अभियान सफल बनाउन १ हजार एक सय खोप केन्द्र सञ्चालन गरिने छ भने २ हजार २ सय खोपदिने स्वास्थ्यकर्मी, ३ हजार ३ सय स्वयम्सेवक परिचालन गरिनेछ । यस्तै ३४ हजार ९३६ भायल भ्याक्सिन र ३ लाख ९१ हजार ५०४ वटा सिरिन्जको समेत व्यवस्था भइसकेको खोप अधिकृत शर्माले जानकारी दिए । पहिलो चरणमा खोप लगाइने पालिकामा भ्याक्सिनबाहेकका अन्य आवश्यक सबै सामग्री पालिकामा पुगिसकेको छ।

 

खोप अधिकृत शर्माले दादुरा-रुबेलाबाट संक्रमित एकजना बालकले १८ जनासम्मलाई सार्न सक्ने भएको र यही किसिमबाट संक्रमण फैलिँदै गएमा महामारीको रुप लिने भएकाले कुनै पनि बालबालिका नछुट्ने गरी खोप अभियान देशव्यापी रुपमा सञ्चालन गर्न लागिएको हो । यो खोप थप मात्रा भएकोले पहिले नियमित खोप लगाएका बालबालिकाहरुले पनि अनिवार्यरुपमा लगाउनुपर्ने खोप हाे।

 

दादुरा-रुबेलाबाट तराईका जिल्लाका साथैं काठमाडौं उपत्यकाका बालबालिका बढी प्रभावित हुने भएकोले यी ठाउँका १५ वर्षसम्मका बालबालिकालाई यो खोप दिइने छ भने अन्य जिल्लाका ५ वर्षसम्मका बालबालिकाले यो खोप प्राप्त गर्नेछन् । स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत चिन्तामणि ज्ञवालीले दादुरा-रुबेलाबाट ५ वर्षमुनिका बालबालिका बढी प्रभावित हुने बताउँदै सरकारले सुरु गर्न लागेको अभियानबाट बालबालिकालाई नछुटाउन आग्रह गरे ।

 

आफ्नो पायक पर्ने खोप केन्द्रको नाम र सञ्चालन हुने मिति र उमेर समूहबारे थाहा पाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न स्वास्थ्य तथा जनसङख्या  मन्त्रालय आग्रह गरेको छ । यस्तै ५ वर्ष मुनिका बालबालिकालाई छुट नियमित खोप पनि दिइने जनाएको छ । दादुरा, रुबेला सङ्क्रामक र प्राणघातक रोगहरू भएकाले बालबालिकाको अनिवार्य खोप लगाउन समेत मन्त्रालयले आग्रह गरेको छ ।न्युज कारखाना

काठमाडौ, १३ फागुन ।

सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

 

कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 

प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।  यस्तै, कम्पनीको सञ्चालक समिति बैठकले बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा २७ प्रतिशत (१ः०.२७ अनुपातमा) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।न्युज कारखाना

काठमाडौ, १३ फागुन ।

नेपाली बजारमा सुन–चाँदीको भाउ आइतबार बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । छापावाल सुन प्रतिताला १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो । न्युज कारखाना

काठमाडौं, १३ फागुन ।

आइतबार बिहानका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने गरी आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक आइततबार अपरान्ह ३ बजेका लागि सारिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यवस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आइतबार बिहानका लागि बोलाइएको थियो ।

बैठकमा पदाधिकारीसहित नेताहरुको जिम्मेवारी हेरफेर गर्ने, तराई मधेश अभियानका लागि कार्यविभाजनका विषयमा छलफल हुनेछ ।

माओवादीले रूपान्तरण अभियानमा सक्रिय रहेका तीन नेतालाई सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाइ सजाय गर्ने पनि जनाइएको छ ।न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।