काठमाडौं, १७ फागुन ।
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।न्युज कारखाना
काडमाडौं, १६ फागुन ।
निर्वाचन आयोगले १५ वैशाखमा हुने उपनिर्वाचनका लागि २२ चैतमा अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।
प्रदेशसभा सदस्य चयनका लागि इलाम–२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ को १ मा १५ वैशाखमा हुने निर्वाचनका लागि आयोगबाट मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम २०८० स्वीकृत भएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
स्वीकृत कार्यक्रमअन्तर्गत १८ फागुनमा आयोगको वेवसाइट मतदाता नामावली प्रकाशन गरिने छ। उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्ठा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन २९ फागुनदेखि ५ चैतसम्मको अवधि निर्धारण गरिएको उनले जानकारी दिए ।
उक्त अवधिमा निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिनेछ । यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानून बमोजिम छानविन गरी मतदाता नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ। अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली २२ चैतमा प्रकाशन गरिने कार्यक्रम रहेको प्रवक्ता पौडेलले बताए ।
न्युज कारखाना
बारा १६ फागुन।
मकवानपुरमा नेपाल सरकारका कर्मचारी भएर बारा स्थित अरूको जग्गा देखाएर भिडियो बनाइरहेका वन कर्मचारीसहित दुईजनालाई स्थानीयले नियन्त्रणमा लिएका छन्।
बाराको आदर्श कोतवाल गाउँपालिका ५ स्थित द्रुतमार्गको बाटोमा जोडिएको सडककालोपत्रे छेउमै अरूको जग्गा देखाएर भिडियो बनाइरहेका दुवैजनालाई सरकारी नम्बरको मोटरसाइकलसमेत स्थानीयले नियन्त्रणमा लिएकाे हाे ।
पक्राउ पर्नेमा मकवानपुर मनहरी वन कार्यालयका कार्यालय सहयोगी दिलबहादुर कार्की, र हेटौंडा उमनपा १७ का बसन्त रेग्मी रहेका छन्। स्थानीयले उनीहरूले प्रयोग गरेको बा प्रदेश ०३००१ ब ३४५ नम्बरको सरकारी मोटरसाईकलसहित वडा कार्यालयमार्फत प्रहरी चौकी चिउँटाहामा बुझाएका छन्।
स्थानीय युवा राजकुमार दासले जग्गा धनीलाई थाहै नदिई दलालहरुले नक्कली लालपुर्जा बनाएर जग्गा बिक्री गरिरहेको घटना पटकपटक भइरहेको कारण यिनीहरुलाई पक्राउ गरी प्रहरीलाई बुझाएको बताएका छन्। पक्राउ परेका दुवैजनामाथि कानुनी कारवाही हुनुपर्ने स्थानीयले माग गरेका छन्।
पक्राउ परेका रेग्मी र कार्कीले आफूहरुलाई ललितपुरका एकजना जग्गा कारोबारीले उक्त जग्गा दुईसाता अघि ल्याएर देखाएको बताएका थिए। पक्राउ पर्दा उनीहरूले ललितपुरका व्यवसायी भनिएकालाई पटकपटक फोन गर्दा उठाएन, एकछिन पछि उनले स्विचआफ गरेको थियो। प्रहरी चौकी चिनुटाहाका प्रमुख असई सिवेन्द्र यादवले दुवैजना पक्राउ परेको पुष्टी गरेका छन्। उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाउने असई यादवले बताएका छन्।
यसअघि मंगलवबार आदर्श कोतावल गाउँपालिका ५ स्थित अरूको जग्गा नापजाँच गरिरहेका काठमाडाैँ घर बताउने रौशन अधिकारी र बारा घर बताउने छोटेलाल साहलाई स्थानीयले पक्राउ गरी प्रहरीमा बुझाएका थिए ।
बारा प्रहरी प्रवक्ता डिएस्पी दधिराम न्यौपानेले पक्राउ परेका चारैजना नियन्त्रणमा रहेको बताउँदै घटनाबारे आवश्यक अनुसन्धान भईरहेको जानकारी दिएका छन्।
‘हामी जग्गाधनी भनिएका लाई बोलाउँछौं, यिनीहरुलाई सोधबुझ गर्छौं दोषी ठहर भएमा कानुन बमोजिम कारवाही हुन्छ,’ प्रवक्ता डिएस्पी न्यौपानेले भने । पछिल्लो समय बारा, रौतहटलगायत मधेश प्रदेशको जिल्लाहरुमा अरूको जग्गा देखाएर नक्कली कारोबार गर्ने दलालहरुको बिगबिगी बढेको छ।
न्युज कारखाना
काठमाडौं, १६ फागुन ।
बरिष्ठ नेता राजेन्द्र महतोले अलग गतिबिधि गर्न थाले पछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक डाकेको छ ।
जस अनुसार लोसपा नेपालले महोत्तरीको बर्दिबासमा फागुन २७–२९ गतेका लागि केन्द्रीय समिति बैठक डाकेको हो ।
लोसपाबाट वरिष्ठ नेता महतोलगायतका नेताहरू अलग भए पछिको स्थिति टुंगो लगाउने बारेमा सो बैठकमा छलफल हुनेछ ।
महतोले राष्ट्रिय मुक्ति आन्दोलनको नाममा अलग प्रशिक्षण र माइतिघर बानेश्वर क्षेत्र निषेधित क्षेत्र तोडने कार्यक्रम सुरू गरे पछि अध्यक्ष महन्थ ठाकुरले पार्टीको केन्द्रिय समिति बैठक बोलाएका हुन् ।
न्युज कारखाना
काठमाडौं, १६ फागुन ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले लिखित असहमति राख्दै पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारका सदस्यबाहेक अरुलाई स्थान छैन भन्ने सन्देश दिएको बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको कार्यविभाजनको निर्णयप्रति लिखित असहमति राख्दै उनले सो बताएका हुन् । स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्यूत गरेर प्रदेशमा हाललाई विना मगरलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ ।
कार्यविभाजनमा अध्यक्ष प्रचण्डले आफ्नो भाइ र बुहारीलाई जिम्मेवारी दिएर केहीको खोसिएपछि उनले प्रचण्डलाई बुझाएको लिखित असहमतिपत्रमा उल्लेख गरिएको छ, ‘विधान अधिवेशन लगतै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै नराख्नु अधिवेशनले पारित गरेको निर्णयहरुको भाषिक रुपले सम्पादन गरी कार्यान्वन गर्ने कार्यभारप्रति बेवास्ता गर्नु र पारित विषयलाई बेवास्ता गरी विधि विहीनतालाई निरन्तरता दिने उद्देश्य देखिनु दुःखद् कुरा हो । विधान अधिवेशनबाट पारित भएका निर्णयहरू सम्पादन गरी तुरुन्त कार्यान्वय गर्न माग गर्दछु । कार्य विभाजन गर्दा पार्टी निर्माण गर्ने संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरूमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत बेवास्ता गरी विधिविपरीत आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति जाहेर गर्दछु । जनप्रतिनिधिहरू पार्टीको इन्चार्ज नरहने नीति मलगायतका कमरेडहरुलाई लागू गरेको भने पनि नारायण दाहाललाई बागमती प्रदेशको सहइन्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पष्ट गरेको छ ।’
न्युज कारखाना
काठमाडौँ १६ फागुन।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन खरानीको डल्लो भएको टिप्पणी गरेका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धन कति समय जान्छ भन्ने विषय आफूलाई थाहा नभएको बताए ।
तर, त्यो खरानीको डल्लो भएकोले कुनै पनि बेला फुट्ने ओलीले टिप्पणी गरे । ‘यो खरानीको डल्लो हो, यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ’, ओलीले भने ।
अध्यक्ष ओलीले कांग्रेसको सोच, विचार, चिन्तन केही पनि नभएको बताउनुभयो । कांग्रेसले सरकार र सत्तामा पुग्ने बाहेक केही थाहा नपाउने ओलीले टिप्पणी गर्नुभयो । ‘अरू कुरा छाड्यो कांग्रेसले उहाँले भन्नुभयो’, उनले भने ।
सरकार फेरबदलको खेलमा एमाले नरहेको पनि उनले प्रष्ट पारे । ‘गठबन्धनको खेलमा हामी छँदै छैनौँ, हामी मिसन २०८४ मा छौँ’, ओलीले भने । ओलीले आफूहरूको ध्यान मिसन ८४ मा केन्द्रित रहेको बताए । २०८४ मा हुने चुनावमा एमाले बहुमत सहितको दलमा स्थापित हुने ओलीले दाबी गरे। राष्ट्रियतालाई बलियो बनाउन, सुशासन र विकास कायम गर्न, जनताको निराशा चिर्न एमालेलाई निर्णायक शक्तिको रूपमा विकास गरिने ओलीले बताए ।
उनले अहिले राष्ट्रियता कमजोर भएको, सुशासन र विकास कमजोर भएको कारण नागरिकमा निराशा छाएको बताए । त्यसलाई सुदृढ गर्न र जनतामा आशा जगाउन एमालेले मिसन २०८४ भनेको उनले स्पष्ट पारे ।
एमाले सत्य निरूपण तथा मेलमिलाप विधेयक पारित गर्नुपर्छ भनिरहेको पनि उनले स्पष्ट पारे । सबैको सहमतिमा पीडित मैत्री हुने गरी सो विधेयक पास गर्नुपर्ने उनको धारणा छ ।
सरकारले बनाएकै समितिले दोषी ठहर गरेपछि मन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । मानव हत्याको विषयमा दोषी ठहरिएका व्यक्तिलाई झण्डा हल्लाएर हिँड्ने अधिकार नरहेको ओलीले प्रष्ट पारे । न्युज कारखाना
रौतहट, १६ फागुन।
रौतहटको मौलापुर नगरपालिका पतौरा स्थित पुरातात्त्विक महादेव मन्दिर गुप्तकालको रहेको दाबी गरिएकाे छ। उत्खननपछि नेपालसँगै बेलायतका पुरातत्वविदहरुले कर्नाटकालीन सेनकालीन भन्दै आएको मन्दिर तथा मन्दिरसँगै उत्खननमा भेटिएको अन्य संरचना गुप्तकालको रहेको दाबी गरेका हुन् ।
भारत बिहार सरकारका अवकास प्राप्त एकजना पुरातत्वविद विधा चौधरीलेले मन्दिर तथा अन्य संरचनालाई चौथो शताब्दी अर्थात दुई हजार वर्षअघिको गुतकालको भएको दाबी गरेका छन् । केही महिनाअघि उनी मौलापुर पतौरा स्थितपुरातात्विक मन्दिर र मन्दिर छेउ उत्खनन भइरहेको स्थानबाट निकालिएकाे को इँटालाई गुप्तकालको भएको दाबी गरेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन्।

चौधरीले मन्दिर र त्यहाँ प्राप्त अवशेषहरुको गहन अध्ययन अनुसन्धान जरुरी रहेको बताएका थिए। यसैबीच पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मन्दिर छेउ भइरहेको उत्खननको स्थलगत निरीक्षण पछि त्यसको विस्तृत अध्ययन अनुसन्धान आवश्यक रहेको बताएका छन्।
नेपाल सरकार र तत्कालीन विद्रोही माओवादी बीच सशस्त्र द्वन्द्व उत्कर्षमा रहेको बेला एकजना स्थानीयले बारी खन्ने क्रममा मन्दिरको संरचना जमिनमुनि भेटेका थिए ।
सोही समय सामान्य उत्खनन गर्दा प्राप्त भएको शिवलिङ्गलाई स्थानीयको सहयोगमा मन्दिर बनाएर पूजाआजा गर्न सुरु गरिएको थियो ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मौलापुर नगरपालिकाले मन्दिरको आधिकारिकता पुष्टिका लागि विभिन्न पुरातत्त्वविदसँग समन्वय गरी अध्ययन सुरू गरेको थियो । करिब डेढ वर्षमा वरिष्ठ पुरातत्त्वविद् स्वर्गीय तारानन्द मिश्रको निगरानीमा पतौरा महादेव मन्दिरको उत्खनन तथा संरक्षण गर्ने काम भएको थियो । अध्ययनको प्रारम्भिक नतिजाले मन्दिरको संरचना कर्णाटकालीन भएको देखिएको थियो।
मन्दिरलाई उत्खनन गर्दै जाँदा जमिनको सामान्य सतहदेखि करिब २२ फिट गहिरोसम्म यसको संरचना भेटिएको थियो । बाराको सिम्रौनगढमा कर्णाटवंशीय शासन स्थापना हुने समयकै हाराहारीको रौतहटको ईशनाथ मन्दिर (स्थापना विसं १११४)लाई विचार गर्दा पतौराको महादेव मन्दिर अझ पुरानो हुन सक्ने पुरातत्वविदहरुको अनुमान रहेको छ । पूर्व मन्त्री प्रभु साहको पहलमा पतौरा महादेव मन्दिरको बेलायतको दुर्हाम विश्वविद्यालयको पुरातात्विक टोलीले स्थलगत अध्ययन गरेको थियो। जमिनमुनि दुई मिटरसम्मको पुरातात्विक एक्सरे गर्न सक्ने मेसिनको सहायतासमेत लिएर रिचिइ विलिइस र एरिक नायलोरको संयुक्त टोलीले पुरातात्त्विक अध्ययन गरेका थिए ।
२०७६ सालमा पतौरामा उत्खननको क्रममा रहेको महादेव मन्दिरको बेलायतका पुरातात्वविदहरुले अध्ययन गरेका थिए। मन्दिर उत्खननको क्रममा निकै पुरानो संरचना प्राप्त भएपछि विशेष पुरातात्त्विक अध्ययन गर्न थालिएको थियो । बेलायती पुरातत्वविदले जमिनमुनि देख्ने एक्सरे मेसिनको सहायताले मन्दिरको ५० मिटर उत्तरसम्म जमिनमुनि संरचना रहेको बताएपछि मौलापुर नगरपालिकाले दुईजना अवकास प्राप्त पुरातत्वविद् राखेको छ। २०६७ सालादेखि नै नेपालका पुरातत्वविद देवनाथ तिवारी र अर्का अवकास प्राप्त कर्मचारी उत्खननमा नियमित खट्दै आएको मेयर रिना कुमारी साहले बताएकी छन्।

तिवारीका अनुसार पछिल्लो उत्खनन पूरा हुन अझै केहीदिन लाग्नेछ। हाल उत्खनन भइरहेको स्थानमा जमिनमुनि चौथो शताब्दीको इँटा प्रयोग गरिएको पर्खाल र ढोकाको स्वरूप देखिएको छ। उत्खनन सकिएपछि पूर्ण रूपमा यकिन हुने उनको ठम्याइ छ।
विगतमा कर्नाटकालिन, सेनकालीन र हाल गुप्तकालिन भनिएको पुरातात्विक महादेव मन्दिर लाई नेपाल सरकारले १०० गन्तव्यको सूचीमा समावेस गरेको थियो।
सोही मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनु मौलापुर नगरपालिकाले २०७६ सालदेखि प्रत्येक बर्ष महा शिवरात्रीको अवसरमा मधानी महोत्सवको आयोजना गर्दै आएको छ।
यसपटक पनि यही २२ गतेदेखि मधानी महोत्सव आयोजना गरिएको छ। महोत्सवमा बलिउड अभिनेता गोबिन्दादेखि नेपाली नायक पल शाह लगायत नेपाल र भारतका ३० जना कलाकारको प्रस्तुति हुने प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका छन्।
भगवान शिव पार्वतीको वैवाहिक उत्सवको रूपमा मनाइने अनुष्ठान मधानी महायज्ञमा भगवान शिवको जन्ती यात्राबाट सुरु भइ जल, जमिन र बसाहाको पूजनसहित शुभारम्भ हुने तथा शिव पार्वती विवाहलिला प्रदर्शन हुने योजना रहेको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ। यसपटकको महोत्सवमा १० लाख मानिसले अवलोकन गर्ने आयोजकको अनुमान छ।न्युज कारखाना
काठमाडौं, १६ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको छलफलमा सहभागी हुने भएका छन् ।
सिंहदरबारमा बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुने भएका हुन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरुले समितिले सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयबारे जानकारी लिनेछन् ।
न्युज कारखाना
रौतहट १६ फागुन।
नेपाली जनता दलका नेता तथा राष्ट्रवादी गणतन्त्रिक मोर्चाको केन्द्रीय सल्लाहकार श्रवण माझी आमजनता पार्टीमा प्रवेश गरेका छन।
बुधवार काठमाण्डौ स्थित पार्टी अध्यक्ष साहको निवासमा नेता माझी विधिवत रुपमा आमजनता पार्टीमा प्रवेश गरेका हुन्।
नवप्रवेशी नेता माझी लाई पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले खाँदा ओढाएर टिका लगाएर स्वागत गर्दै उज्जवल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरेका थिए।न्युज कारखाना
काठमाडौं, १६ फागुन ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलर संगै युरोको भाउ बढेको छ भने र बेलायती पाउण्डको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९४ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०१ पैसाले बढेको हो। मंगलबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९३ पैसामा भएको थियो।
बुधबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ६४ पैसा र बिक्रीदर १४४ रूपैयाँ २२ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०२ पैसाले बढेको हो। मंगलबार यसको खरिददर १४३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रूपैयाँ २७ पैसामा कारोबार भएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ १२ पैसाले घटेर एकको खरिददर १६७ रूपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६५ पैसा कायम गरिएको छ। मंगलबार यसको खरिददर १६८ रूपैयाँ ०१ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७७ पैसामा कारोबार भएको थियो।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ६२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ०१ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५० पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८४ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २७ रूपैयाँ ७९ पैसा र बिक्रीदर २७ रूपैयाँ ९२ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ १३ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ०८ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।न्युज कारखाना