काठमाडौं, २० फागुन ।
चितवनको छात्राबासमा झुन्डिएको अवस्थामा फेला परेकी १४ वर्षीया शालिन पोखरेलको बलात्कार नभएको अनुसन्धानले देखाएको छ। पोखरेलको शवको पोष्टमार्टम र मृत शरीरको फरेन्सिक जाँच परीक्षण काठमाडौंको टिचिङ अस्पताल गरिएको थियो। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार जाँचमा उनको बलात्कार नभएको पाइएको हो।
गत शनिबार बिहान रत्ननगर नगरपालिका-१२ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने सालिन मृत फेला परेकी थिइन्। बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
उनको मृत्युपछि मृतकका आफन्तले बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन्। आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो।
चितवन जिल्ला अदालतको आदेश अनुसार अनुसन्धानको लागि उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। अहिले सामाजिक सञ्जालमा शालिनको मृत्यु प्रकरणले तातेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यो घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेका छन्।
शालिन रत्ननगर-१० को एकता निकेतनको होस्टेलमा दुई वर्षदेखि बस्दै आएकी थिइन्। उनी १० वर्षदेखि मावली घरमा हजुरआमासँग बस्दै आएकी थिइन्।
बुवा-आमाले डिभोर्स गरेपछि उनी एक्लिएकी थिइन्। उनका बुवा काठमाडौं बसुन्धरामा कान्छी श्रीमतीसाथ बस्दै आएका छन्। आमा भने पाकिस्तानी नागरिकसँग बिहे गरेर विदेशमा बस्दै आएकी छिन्।न्युज कारखाना
जकपुरधाम, २० फागुन ।
विद्यालय बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि जनकपुर–जलेश्वर सडक अवरुद्ध गरिएको छ भने सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।
जनकधाम उपमहानगरपालिका–२३ विन्हीमा जनकपुधाम– ९ मा रहेको एंजल्स सेकेन्ड्री बोर्डिङ स्कुलको बसको ठक्करबाट स्थानीय ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको थियो भने अन्य चारजना महिला घाइते छन् । घाइतेहरुको जनकपुरमा उपचार भइरहेको छ ।
विवाहका लागि माटो खन्न पोखरीतर्फ गइरहेका महिलाहरुलाई तीव्र गतिमा आएको बसले ठक्कर दिएर कुल्चिएको थियो । दुर्घटनापछि स्थानीयले टायर बालेर जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेर विरोधमा उत्रिएका हुन् । उनीहरुले सडकमा बिजुली पोलसमेत तेर्साएर विरोधमा उत्रिएका हुन् ।
ठक्कर दिएको बसलाई जलाउन खोज्दा प्रहरीले लाठीचार्जसमेत गरेको छ । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । न्युज कारखाना
काठमाडौं, २० फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन् ।
आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर सभापति लामिछानेले दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।
दूग्ध किसानको ७ अर्ब रुपैयाँ बक्यौदा बाँकी रहेको भन्दै प्रदर्शनमा उत्रिएका बेला सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर भुक्तानी दिने प्रवन्ध गर्न आग्रह गरेका हुन् ।
साथै यही १२ फागुनमा चितवनको रत्ननगर नगरपालिका वडा नं. १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा कक्षा ८ मा अध्ययनरत शालिन पोखरेल मृत अवस्थामा भेटिएकी थिइन् । उनको मृत्यु रहस्यमय भएको एकसाता पुगिसक्दा पनि मृत्युको कारणबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन । उनको हत्या वा आत्महत्या भन्नेबारे आधिकारिक धारणा नआएका बेला सभापति लामिछानेले उनको मृत्युको विषयमा पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । न्युज कारखाना
काठमाडौं, २० फागुन।
संसदमा प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउन सहमत भएका छन् । लामो समयदेखि मतभेद रहेका उनीहरु उक्त विधेयकलाई अघि बढाउन सहमत भएका हुन् ।
शान्तिप्रक्रिया टुंगोमा पु¥याउन महत्वपूर्ण मानिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकअघि बढाउन सरकारको नेतृत्व लिएको माओवादी केन्द्र, प्रमुख सत्तासाझेदार कांग्रेस र प्रमुख प्रतिपक्षी एमाले सहमत भएका हुन् ।
आइतबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भएर टीआरसी विधेयकका विषयमा छलफल गरेका हुन् ।
सो क्रममा उक्त विधेयकलाई संसदमा अघि बढाउनन उनीहरु सहमत भएका हुन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्नुअघि टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत भएका हुन् । न्युज कारखाना
रौतहट २० फागुन ।
रौतहटको कटहरिया नगरपालिकाका अधिकांश निर्वाचित जनप्रतिनिधि बजेटको राजनीतिमा लागेको कारण नगरबासी सास्ती खेप्न बाध्य भएका छन् ।
दिनभरि नै सवारीसाधनको आवागमन जारी रहने कटहरिया बजारको मूल बाटोमा नाला निर्माण गर्न खनिएको खाडल एक महिनापछि पुरिँदा पनि नाला निर्माण हुन नसकेको कारण नगरबासी सास्ती खेप्न बाध्य भएका हुन् ।
कटहरिया–५ गाउँदेखि निर्माण हुँदै आएको नाला स्थानीय किराना व्यवसायी सुरेन्द्र साहको पसल अगाडिबाट बढ्न सकेको छैन । वडा अध्यक्ष सर्फलाल गुप्ताको नेतृत्वमा साहको पसलअगाडि नाला निर्माण गर्न एक महिनाअगाडि पेटी ठेकेदार उपेन्द्र बैठाले खाडल खनेर तल ढलान गरी फलामे छडसमेत प्रयोग गरेका थिए। तर, पछि वडा अध्यक्ष गुप्ताले उक्त स्थानमा ३६ फिट चौडाई हुनुपर्छ अहिले ३१ फिट मात्र छ भनेर निर्माण रोक्का गरेका छन्।
व्यवसायी सुरेन्द्र साह र सामुने घर भएका शिवशंकर साहले आ–आफ्नो नम्बरी जग्गा हाल रहेको बाटोमा ८÷१० फिट पर्ने दाबी गर्दै आएका छन् । सुरेन्द्र साहले जग्गा थोरै खरिद गरी नक्सा बढी बनाउन नापी कार्यालय मौलापुरमा यकीन गरेपछि मात्र नाला निर्माण गर्ने वडा अध्यक्ष गुप्ताले अडान राखेका छन्।
सामुने घर भएका शिवशंकर साहले भने ५!६ फिटको हाराहारीमा आफ्नो पक्की घर भत्काई सकेको बताउँछन्। तर एकमहिना बित्दा पनि वडा अध्यक्ष गुप्ताले सुरेन्द्र साहको जग्गा बारे बास्तविक यकिन गर्न सकेनन्।
उता थोक तथा खुद्रा किराना ब्यवसायी सुरेन्द्र साहको पसलमा दर्जनौं सवारी साधन तथा सयौं ग्राहक दैनिक आवत जावत गर्ने गर्दछन्।
पसलअगाडि खनिएको खाडलमा खसेर कयौंलाई चोटपटकसमेत लागेको उनले पटक पटक गुनासो गर्दै आएको भए पनि समयमा नाला निर्माण हुन सकेन । यसरी महिनौंसम्म पसलअगाडि खनिएको खाडलमा दुर्घटना हुन थालेपछि केहीदिन अगाडि बाध्य भएर सुरेन्द्र साहले नाला निर्माण नहुँदै खाडलमा माटो पुरेका छन् । पेटी ठेकदार बैठाले पनि बाध्य भएर फलामे छडहरु काटेर लागेका छन ।
किराना व्यासायी साहले पसलअगाडि महिनौंसम्म रहेको खाडलको कारण ग्राहक नआएर लाखौँ रुपैयाँ क्षति भएको बताउँछन्। त्यसैगरी पेटी ठेकेदार उपेन्द्र बैठाले पनि खाडल खनेर ढलान भएको र फलामे छड समेत प्रयोग भएर नाला निर्माण नहुँदा आफूलाई पनि लाखौंको क्षति भएको गुनासो गरिरहेका छन्।
कटहरिया–५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले सुरेन्द्र साहको जग्गाबारे बास्तविक यकीन गर्न नापी कार्यालय मौलापुरले ढिलो गरेको कारण समस्या भएको दोह्रयाएका छन्।
कटहरिया नगरपालिकाका निर्वाचित जनप्रतिनिधि बजेट केन्द्रित भएको कारण जनसरोकारको कामहरूमा ढिलाई भएको स्थानीय जानकारहरुले गुनासो गरेका छन।
आश्रय निर्माण सेवाले कटहरिया ४ र ५ मा खानेपानीसँगै ढल तथा नाला निर्माणको ठेक्का लिएको छ । करोडौंको ठेक्काको काम आश्रयले आफैले नगरी साना साना पेटी ठेकदारमार्फत गरिएको कारण पनि भौतिक पूर्वाधार निर्माण समयमा नहुने तथा गुणस्तरमाथि प्रश्न चिह्न उठिरहेको छ।न्युज कारखाना
काठमाडौँ, २० फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बतााएका छन् ।
‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताएका हुन् ।
“आजको परिस्थितिमा देशको सार्वभौमिकता, अखण्डता, सम्प्रभुता, आन्तरिक एकता र सद्भाव जस्ता पक्षहरूको केन्द्रमा सूचना प्रविधि आएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “देशभित्रै सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाले नै देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने ठाउँमा सिङ्गो विश्व आइपुगेको तथ्य हामीले हेक्का राख्नै पर्छ ।” उनले कृतिम बौद्धिकका बहुआयमिक लाभ र केही चुनौतीहरूको गम्भीर अध्ययन गरी आवश्यक नीतिहरू तर्जुमा गर्न अब ढिलाइ गर्न नहुने बताए ।
कृत्रिम बौद्धिकता प्रविधिमा असीम सम्भावनाहरू रहेपनि रोजगारी विस्थापन, पूर्वाग्रह र निष्पक्षताका सवाल, गोपनीयताका सवालहरूमा चुनौती पैदा भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले साइबर सुरक्षा, नैतिक दुविधा, सामाजिक विग्रह, निर्भरता र स्वायत्तता, आदिका कारणले समाजमा थप असमानताहरू थपिन सक्ने जोखिम देखेको बताए ।
नेपालको गरिवी र न्यून आर्थिक विकासको चक्रलाई तोड्न कृत्रिम बौद्धिकता प्रविधिले सुशासन ‘४.०’ जस्ता अवधारणालाई अङ्गीकार गर्न अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता विकासका लागि ‘एआई इकोसिस्टम’ विकासमा आवश्यक पहल लिनैपर्ने अवस्था आएको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता प्रविधिको प्रयोगले सरकारी नीति निर्माण र सुशासन अभिवृद्धिमा टेवा पुर्याउने विषयहरू, विद्यालय तथा उच्च शिक्षामा कृतिम बौद्धिकताबाट हासिल गर्न सकिने नतिजाहरू, कम्प्युटेसनल तथा अन्य पूर्वाधारको आवश्यकता, देशमा सञ्चालित अनुसन्धान परियोजना र तालीमहरू, विकासका कार्यहरूलाई त्यस्तो प्रणालीमा जोड्न सकिने विश्वास व्यक्त गरे ।न्युज कारखाना
काठमाडौँ, २० फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने बताएका छन् ।
‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सेवा प्रवाहका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
“सरकारले कम्प्युटर प्रविधि, रोवोटिक प्रविधि, डाटा विज्ञान, मेशिन लर्निङ्ग, इन्टरनेट अफ थिङ्गस, कम्प्युटेशनल पूर्वाधार विकासका लागि आफ्नोतर्फबाट गर्नुपर्ने कार्यमा आवश्यक पहल लिनेछ,” प्रधानमन्त्रीले भने, “यसका लागि कृत्रिम बौद्धिकतासम्वन्धी नीतिलाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ तथा डिजिटल नेपाल फ्रेमवर्क, २०१९ सँग समन्वय गर्नेगरी अगाडि बढिनेछ ।”

सरकारले हाल उदयीमान प्रविधिको क्षेत्रमा विभिन्न अध्ययन र अनुसन्धानका कामहरू अगाडि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञान प्रविधि क्षेत्रलाई महत्त्व दिएर नै विज्ञान प्रविधि नवप्रवर्तन कोष निर्माणका लागि बजेट विनियोजन गरिएको बताए । उनले प्रविधिको क्षेत्रमा आत्मनिर्भरताको अवसर सिर्जना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिए।
आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तावमा समेत विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई विशेष महत्त्व दिइने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रस्तावित १६औँ आवद्यिक योजनामा यस क्षेत्रलाई महत्त्वका साथ समावेश गरिएको जानकारी दिएका छन् ।
नवप्रवर्तन र उत्पादकत्व वृद्धिको सवालमा आगामी वर्षदेखि नै सरकारी निकायहरूले कृत्रिम बौद्धिकताको भूमिका बढाउने परियोजनाको विकासमा जोड दिइने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले सरकारी निकायले दिने सेवाको जानकारीका लागि कृत्रिम बौद्धिकतामा आधारित च्याटबट सेवा, वृहत तथ्याङ्कीय विश्लेषणका परियोजनाहरूलाई प्राथमिकतापूर्वक कार्यान्वयन गरिने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा विभिन्न सरोकारवाला निकायहरूद्वारा संयुक्तरूपमा आयोजना गरेको ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता–भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनले समृद्ध नेपाल बनाउने सपना सार्थक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
मानिसले गर्ने नियमित कार्यहरू वा धेरै समय लगाएर गर्ने कार्यहरू तथा मानिसले गर्न नसक्ने कार्यहरू कृत्रिम बौद्धिकतामार्फत गर्दा समयको वचत र नवप्रवर्तन तथा उत्पादकत्व वृद्धिका निम्ति बहुउपयोगी रहने प्रधानमन्त्रीको भनाइ छ ।न्युज कारखाना
रौतहट १९ फागुन।
पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीको प्रथम मकवानपुर जिल्ला भेला शनिबार सम्पन्न भएको छ।
हेटौडा स्थित सभा हलमा पार्टी अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यतामा प्रथम जिल्ला भेला सम्पन्न भएको हो।
गौर हत्याकाण्डका शहीद परिवारहरुलाई सम्मान गर्दै उत्साहजनक जनसहभागितामा हर्षोल्लासपूर्वक भब्यताका साथ सम्पन्न भएको छ ।
आजपाको प्रथम भेलाबाट युवा नेताहरु शिशिर राजथलाको संयोजकत्वमा ५१ सदस्यिय पार्टी जिल्ला कमिटी गठन गरिएको छ। नवगठित कमिटीमा श्रीनिवास शाह र सुदिप रजथलाको सह संयोजक रहेका छन।
त्यसैगरी पुकार थिंगको संयोजकत्वमा जयचन्द साह, अरुण स्याङ्गतान र राधेश्याम कुशवाहाको सहभागितामा भात्री संगठन आईटी आर्मीको ५१ सदस्य मकवानपुर जिल्ला कमिटी सर्वसहमत रुपमा निर्वाचित गरिएको छ।
भेलामा पार्टी मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा लगायत सैयौं मानिसको उपस्थिति रहेको थियो।न्युज कारखाना
महोत्तरी, १९ फागुन ।
उधोग बाणिज्य महासंघ मधेश प्रदेशले बर्दिवास उधोग बाणिज्य संघलाई सम्मान गरेको छ ।
छोटो समयमा नै संघले उत्कृष्ट काम गरेको भन्दै माहासंघले पाचौं प्रदेशसभाको अवसर पारेर सम्मान गरेको हो ।
बाणिज्य, व्यापार तथा व्यापारीहरुको हकहित र विकासका कामहरुमा समेत उल्लेखनीय भुमिका निर्वाह गरेको निष्कर्षसहित सम्मान गरेको माहासंघ मधेशका अध्यक्ष अशोक कुमार टेमानीले वताए ।

महासंघले गरेको मुल्यांकन सहितको सम्मानले उधोग बाणिज्य संघलाई थप काम गर्न प्रेरित र उर्जा थपेको भन्दै संघका अध्यक्ष बिष्णु खडकाले खुसी ब्यक्त गरेका छन ।
`महासंघ मधेशको सम्मानले हामीलाई थप जिम्मेवारीबोध भएको छ,´ अध्यक्ष खडकाले भने ।` हाम्रो टिम विकास र व्यापारीहरुको हकहितको लागी फेरि पनि सक्रिय हुने बिस्वास दिलाउँदछौ ।´
माहासंघका अध्यक्ष टेमानीले संघका अध्यक्ष खडकालाई सम्मानपत्र हस्तान्तरण गर्दै व्यापारीहरुको लागी अभिभावकिय जिम्मेवारी निर्वाह गरेको प्रतिक्रिया दिए ।
व्यापारीहरुको समस्यालाई उदृढ गर्दै सरोकारवालाहरुलाई सजग गराउनु र समाजसेवाका क्षेत्रमा समेत अग्रणी भुमिका निर्वाह गर्नु वास्तव मै अनुकरणीय भएको अध्यक्ष टेमानीको भनाई छ ।
हरेक उधोग बाणिज्य संघहरुले बर्दिवासले गरेका कामहरुवाट सिक्नुपर्ने वताउदै आगामी दिनमा राम्रा र उपलब्धिमुलक काम हुनेमा उनले बिस्वास ब्यक्त गरे ।
उधोग बाणिज्य संघ बर्दिवासका महासचिव उत्तम कुमार श्रेष्ठले माहासंघले गरेको सम्मानप्रती उत्साहित हुँदै अध्यक्ष टेमारीले दिएको सल्लाह र सुझाव गम्भिरताकासाथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन ।
खडका अध्यक्षमा निर्वाचित भएदेखी नै उन्को टिमले बर्दिवासमा व्यापारी हकहितको लागी निक्कै योगदान पुर्याउदै आएको छ ।
नगरभित्रका पर्यटकीय गन्तव्यहरुको खोजी गरि पर्वद्वन गर्नेदेखी उधमी र आत्मनिर्भर वनाउन सक्रियता देखाईरहेको स्वयम व्यापारीहरु वताउछन ।न्युज कारखाना
रौतहट,१९ गते फागुन ।
रौतहट–मुस्लिम ईत्तेहाद संगठनकाे मधेस प्रदेश विस्तारित बैठक सम्पन्न भएको छ । जिल्लाकाे चन्द्रपुर स्थित नेकपा एसमाजवादिकाे पार्टी कार्यालयमा साे बैठक बाेलाईएकाे थियाे ।

संगठनकाे मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सलामाेदिन दर्जिकाे अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा केन्द्रीय अध्यक्ष ताज महम्द मियाँ रह्नु भएको थियाे । जावेद अन्सारीले सञ्चालन गरेको कार्यक्रममा शेख हसनले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै मधेस प्रदेश ईन्चार्ज गुलाम सराेबरले बैठककाे एजेन्डा प्रस्तुत गरेका थिए ।

उनले पार्टीकाे सदस्यता वितरण र संगठन विस्तारकाे एजेन्डा बारे प्रष्ट पारेका थिए । यता कार्यक्रममा मुस्लिम भोट बैंकले नै एसमाजवादी थ्रेस होल्ड पार गर्ने मुुस्लिम इत्तेहाद संगठन नेपालका केन्द्रिय अध्यक्ष ताज महम्द मियाँले दाबी गर्नुु भएको छ । जिल्लाको चन्द्रपुरमा आयोजित मुुस्लिम इत्तेहाद संगठन नेपाल मधेश प्रदेशको विस्तारित बैठकलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेका उनले मुस्लिम समुदायले आफनो हक अधिकारका लागि लडनुपर्छ । तब मात्र अधिकार प्राप्त हुने उनको भनाइ थियो । त्यस्तै समाजवाद उन्मुुख पार्टी नेपाल कम्युुनिष्ट पार्टी एकिकृत समाजवादी रहेको रौतहट क्षेत्र नम्बर २ ख बाट निर्वाचित मधेश प्रदेश सांसद कनिश पटेलले बताएका हुन् । जिल्लाको चन्द्रपुरमा आयोजित मुुस्लिम इत्तेहाद संगठन नेपाल मधेश प्रदेशको विस्तारित बैठकलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले भने,‘मुुस्लिम समुुदायले देश राष्ट्रियता जोगाउन ठूलो महत्वपूर्ण निर्वाह गरेको स्मरण गराए ।

त्यसप्रति उनले सादुवाद पनि व्यक्त गरेका थिए । जनसंख्याको हिसाबले रौतहटमा मुुस्लिम समुदाय अगाडी रहेको बताउँदै । उनले मधेश प्रदेशमा मुुस्लिम समुुदायको उल्लेखनिय उपस्थित नै रहेको छ । आफूले बारम्बार सांसदमा मुस्लिम समुदायको हक अधिकारका लागि सबभन्दा ठूलो स्वरले आवाज उठाउने गरेको बताए । त्यस्तै उनले मुस्लिम समुदाय कम्युनिष्ट पार्टीमा लाग्नुुपर्नेमा उनको जोड थियो ।

सिमान्कृत समुदायको आवाज उठाउने काम कम्युनिष्ट पार्टी अर्थात् एसमाजवादीले गर्ने गरेकोले सम्पूर्ण मुस्लिम समुदायलाइ कम्युुनिष्ट पार्टीमा नै गोलबद्ध हुनुपर्ने जरुरी देखिन्छ । मुुस्लिम समुदायको अधिकारको लागि बोल दिने पार्टी छ भने त्यो कम्युुनिष्ट पार्टी रहेको दाबी गरे ।

कम्युुनिष्ट पार्टीलाइ एकताबद्ध गरेर मूलधारमा आफूलाइ ल्याउनका निमित कम्युुनिष्ट आन्दोलनको परिवेशलाइ नकारात्मक दिशातिर धकेल्दै गरेका केही नेतृत्वहरुका विरुद्ध बाध्यात्मक हिसाबले एसमाजवादी विद्रोहमा उत्रिएको प्रष्ट पारे ।

कार्यक्रमका अध्यक्ष सलामुदिन दर्जीले मदरसा शिक्षालाइ देशको मूलधारको शिक्षा ल्याउनुुपर्नेमा जोड दिए । सो विस्तारीत बैठकमा संगठनको जिल्ला कमिटी विस्तारका लागि जिल्ला संयोजक पनि तोकिएको छ ।

सप्तरीका लागि मो.हारुन,सिरहाका लागि मो.अनिस राइन,धनुुषाका लागि शोख हसन,महोक्तरीका लागि अहम्द अन्सारी,सर्लाहीको लागि जुल्फेकार,पर्साका लागि शेख हारुन,बारा फुलमहम्द र रौतहटका लागि शेष अब्दुल हक लाइ संयोजकको जिम्मेवारी तोकिएको छ ।