काठमाडौं, २९ फागुन ।
नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
मंगलबार बसेृको संसदीय दलको बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएका हुन् । बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् ।
साथै उनले सरकारविरुद्ध पनि नबोल्न निर्देशन दिएका छन् । ‘म साथीहरुलाई भन्छु, सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै कुराको आलोचना गर्नुप¥यो भने आन्तरिक रुपमा गर्दा हुन्छ । नबुझिकन कहिले कहिले देख्दा एउटा चिज देखिन्छ, अर्कै हुन्छ,’ ओलीले भने ।
न्युज कारखाना
काठमाडौँ, २९ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् ।

राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवा सशक्तिकरण तालिमले सामथ्र्यवान्, उद्यमशील, सिर्जनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत गरेको बताए ।

“नेपालको प्रत्येक राजनीतिक परिवर्तन तथा सामाजिक रूपान्तरणहरूमा युवाको महत्त्वपूर्ण योगदान रहँदै आएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “साहस, सिर्जनशीलता, सिक्ने क्षमता तथा आत्मविश्वास उच्च रहने युवा वर्गलाई राष्ट्र निर्माणको प्रमुख स्रोत र पहरेदारसमेत मानिन्छ ।”

युवाको नेतृत्व विकास, नैतिक आचरण र अनुशासनमा निखार ल्याउँदै सवल, सभ्य र सचेत नागरिक बनाउन राष्ट्रिय सेवा दल तालिम उपयोगीसिद्ध रहने गरेको आफूले पाएको प्रधानमन्त्रीले बताए ।

प्रधानन्त्रीले विविध परम्परा, संस्कृति र संस्कारको प्रतिनिधित्व गर्दै नेपालको विभिन्न स्थानबाट आई तालिममा सहभागी भएका युवालाई एउटै छानामुनि बसेर सैनिक कला तथा समसामयिक विषयका ज्ञान आर्जन गर्नुका साथै एकअर्काको परम्परा, मूल्य, मान्यता, संस्कृति र संस्कार बुझ्ने मौका प्राप्त भएको उल्लेख गरे ।

उनले भने, “तालिमबाट प्राप्त विभिन्न ज्ञानले तपाईंहरूमा राष्ट्रिय एकताको भावनासमेत अभिवृद्धि गरेको छ भन्ने विश्वास लिएको छु ।”

तालिमले युवालाई अनुशासित, मर्यादित र मुलुकप्रति समर्पित नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादनमा अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको प्रधानमन्त्रीले उल्लेख गरे ।

“दीक्षित युवाले राष्ट्रलाई आवश्यक परेको समयमा निःस्वार्थ सेवाभावबाट समर्पित भई एक कर्मठ नेपाली नागरिकका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “तालिमको दौरान तपाईहरूले हासिल गरेका ज्ञानले उक्त कार्यका लागि अभिप्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु ।”न्युज कारखाना

काठमाडौं, २९ फागुन ।
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डका भाइ हुन् ।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले पेस गरेको नारायण दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
उक्त प्रस्तावलाई मतविभाजनमार्फत् निर्णयार्थ प्रस्तुत गरिएको थियो । मतविभाजनको परिणामअनुसार बैठकमा उपस्थित सांसदको संख्या ५६ रहेकोमा दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत पर्दा विपक्षमा १७ मत परेको हो ।
को हुन् राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित नारायण दाहाल ?
संक्षिप्त चिनारी
नाम नारायण प्रसाद दाहाल
जन्म मिति २०१२ फागुन १२
जन्म स्थान ढिकुरपोखरी, लेवाडे, कास्की
स्थायी ठेगाना भरतपुर महानगरपालिका- १४, चितवन
(२०१९ सालमा कास्कीबाट बसाइँ सरेर चितवन)
माता स्व. देउरुपा दाहाल
पिता स्व. कुलप्रसाद दाहाल
पत्नी दुर्गादेवी दाहाल
छोरी १, छोरा २, नातिनातिनी ६
शिक्षा
२०३६ सालमा स्नातक, शिक्षाशास्त्र संकाय, सानोठिमी क्याम्पस, भक्तपुर
२०३३ सालमा प्रमाणपत्र तह, बीरेन्द्र क्याम्पस, भरतपुर, चितवन
२०३० सालमा एसएलसी, नारायणी विद्यामन्दिर, शिवनगर चितवन
राजनीतिक जिम्मेवारी
वि.सं. २०२७ सालमा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश।
वि.सं. २०३१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त (पुष्पलाल समूह)। बीरेन्द्र क्याम्पस, चितवनमा पार्टी कमिटीमा आबद्ध।
२०३६ सालदेखि पूर्णकालीन (तत्कालीन चौथो महाधिवेशन)
२०३७ सालदेखि पार्टीको जिम्मेवारी लिएर प्रवासमा। अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्य, सहसचिव हुँदै कोषाध्यक्ष। पार्टीको गोरखपुर जिल्ला कमिटी सेक्रेटरी।
२०४२ सालमा अखिल भारत नेपाली एकता समाजको महासचिव।
२०४५ सालमा अखिल भारत नेपाली एकता समाजको अध्यक्ष।
२०५१ सालमा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) को नेपालको तर्फबाट दक्षिण एसिया सदस्य।
२०५३ सालमा अखिल भारत नेपाली एकता समाजको पुनः केन्द्रीय अध्यक्ष।
२०५७ सालमा नेकपा (माओवादी) को केन्द्रीय सदस्य।
२०६० सालमा नेकपा (माओवादी) भेरी कर्णाली व्यूरोअन्तर्गत जाजरकोट, सुर्खेत र डोल्पा इन्चार्ज।
२०६३ असारमा नेकपा (माओवादी) कास्की जिल्ला इन्चार्ज।
२०६४ पछि विभिन्न समयमा पार्टीका तत्कालीन नेवा तथा ताम्सालिङ राज्य समितिको सचिव र सह-इन्चार्ज।
२०७४ असारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा बागमती प्रदेशको अध्यक्ष।
२०७७ सालमा नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश अध्यक्ष।
२०७८ मंसिरमा सम्पन्न नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनबाट स्थायी समिति सदस्य तथा बागमती प्रदेशको सह-इन्चार्ज।
संसदीय यात्रा
२०६३ – अन्तरिम व्यवस्थापिकासंसद सदस्य
२०६४-२०६९ संविधान सभा सदस्य। चितवन क्षेत्र नं. ३ बाट निर्वाचित
२०७८ चैत २५ गते राष्ट्रिय सभा सदस्य (राष्ट्रपतिबाट मनोनित)
२०८० फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित
न्युज कारखाना
पर्सा, २९ फागुन।
जन्तीलाई माछा खान नदिँदा बेहुलासहितको जन्ती फिर्ता भएको घटना नसेलाउँदै पर्सामा त्यसै प्रकृतिको अर्को लजास्पद घटना दोहोरिएको छ।
देशकै आर्थिक नगरीको नामले चिनिएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्री नपाउँदा बिहे नै रद्द गरेको लजास्पद घटना सार्वजनिक भएको हो।
बाराको कलैया उपमहानगरपालिका ४ घर भएका अपरेटर साहले दाइजोमा नगद १२ लाख , मोटरसाइकल खरिद गर्न ३ लाख २५ हजार , एक थान ल्यापटप, एक थान सुनको अंगुठी र सुनको हनुमानी माला बिहेअघि नै बेहुली पक्षसँग दाइजोको रूपमा लिएको बेहुली पक्षले बताएका छन् ।
साेमबार राति जन्तीसहित बिहे गर्न वीरगञ्ज रानीघाट गएका अपरेटर साहले विवाह मण्डपमा बेहुली पक्षबाट सुनको सिक्री नपाउँदा बिहे नै रद्द गरेको घटना सार्वजनिक भएको छ। बाराको कलैया उपमहानगरपालिका-४ का बच्चलाल साहका छोरा वर्ष २६ का उमेश साहको वीरगञ्ज- २४ रानीघाटका एकजना उनकै स्वजातिको छोरीसँग फागुनमा २८ गते जन्ती लागेर बिहे हुने निश्चित भएको थियो।
सोहीअनुसार साेमबार साँझ बेहुली पक्षका आफन्तहरु उनको घर अगाडि जन्तीको स्वागतको लागि जम्मा भएका थिए। निर्धारित समयमा सोमबार राती बेहुलासहित जन्ती आयो । द्वार पूजापछि स्वयंवर बरमालाको परमपरा पनि पूरा भएको थियो। उक्त विधि पश्चात विवाहको विधि पूरा गर्नका लागि विवाह मण्डपमा पुग्दा बेहुलाले विभिन्न बहाना बनाउँदै सुनको सिक्री नपाएपछि विवाह नै बहिष्कार गरेका हुन् ।
द्वार पूजा बरमाला भइसक्दा पनि मात्र ५० हजारको सिक्री नपाउँदा बेहुला बिवाह मण्डपबाट भाग्न खोज्दा झडपसमेत भएको प्रहरीले जनाएको छ। बेहुली पक्षले जति सम्झाउँदा पनि बेहुला बिहे गर्न नमानेपछि कुटपिट सुरु भएको थियो। स्थानीयको खबर अनुसार लगत्तै प्रहरी चौकी श्रीपुरबाट घटनास्थल पुगेको प्रहरी टोलीले बेहुलासहित केही जन्तीलाई नियन्त्रणमा लिएको थियो।
पर्सा प्रहरी प्रवक्ता डिएस्पी कुमार बिक्रम थापाले घटनाको पुष्टि गरेका छन्। प्रहरी चौकी श्रीपुरले उक्त घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको छ। ‘म भर्खर काठमाडाैंबाट आएको छु, पीडितको तर्फ बाट अहिलेसम्म जाहेरी आएको छैन ,तथापी घटनासम्बन्धी अनुसन्धान भईरहेको छ,’ प्रवक्ता तथा डिएस्पी थापाले भने ।
यसरी घर अगाडि आएर पनि बिहे नभएर जन्ती फिर्ता गएको कारण सामाजिक प्रतिष्ठामा असर परेको भन्दै बेहुली पक्षको घरमा रुवाबासी भएको स्थानीयहरूले बताएका छन।
मधेश प्रदेशमा दाईजोको निहुँना कैयौं बुहारीकाे हत्यादेखि कैयौं जघन्य अपराधसमेत भइरहेको अवस्थामा मात्र एउटा सिक्रीको लागि सरकारी कर्मचारी भएर पनि बिहे रद्द गर्ने अपरेटर साहलाई कडा कारबाहीको दायरामा ल्याउन स्थानीयहरूले माग गरेका छन्।न्युज कारखाना
काठमाडौं, २९ फागुन ।
नेकपा माओवादी, एमालेसहित पाँच सत्तारुढ राजनीतिक दलबीच ७ बुँदे सहमति भएको छ । एकीकृत समाजवादीलाई समेत समेटेर सत्तारुढ दलबीच ७ बुँदे सहमति भएको हो । मंगलबार भएको ७ बुँदे सहमतिअनुसार राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वारलाई समर्थन गर्ने समावेश छ ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेको ७ बुँदे सहमतिको पूर्णपाठ
नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का बीच जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्न सहमत भई निम्नअनुसार निष्कर्षमा पुगेका छौं :
१. राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महशुस गरी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सहभागितामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने ।
२. राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेद्वारलाई समर्थन गर्ने । ३. नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने ।
४. सङ्क्रमणकालिन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुट्याउने ।
५. सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने ।
६. देशका आर्थिक समस्याहरु सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने ।
७. हामी पाँच राजनीतिक दल राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक–सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएका छौं ।
मितिः २०८० फागुन २९ गते
न्युज कारखाना
काठमाडौं, २९ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दै सोहीअनुुसार मत दिन आफ्ना सांसदहरुमा ह्विप जारी गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले संसदमा आफूलाई विश्वासको मत दिन भन्दै प्रस्ताव राख्ने दिन अनिवार्य उपस्थित हुन र प्रचण्डलाई विश्वासको मत दिन रास्वपाले ह्विप जारी गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले आउँदो बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् ।न्युज कारखाना
काठमाडाैं, २९ फागुन ।
नेपाल सरकारले ८ अर्बको आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्दैछ । यस ऋणपत्रका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने भएको छ ।
८ अर्ब बराबरको रकम ८ वर्ष अवधि भएको विकास ऋणपत्र २०८८ ‘झ’ जारी गर्न लागेको केन्द्रीय बैंकले जनाएको हो । यसैगरी ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने साथै ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । जारी सुचना अनुसार ऋणपत्रमा इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी क्रमशः ८५% र १५% गरी छुट्याइएको छ ।
ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन् ।
यसको निष्कासन मिति भने फागुन ३० गते तोकिएको छ ।बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ । न्युज कारखाना
काठमाडाैं, २९ फागुन ।
नेपाली बजारमा सुनको भाउ लगातार दोस्रो दिन पनि स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ १ लाख २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ कायम छ ।
यसअघि आइतबार र सोमबार पनि सुनको सोही मूल्यमा खरिदबिक्री भएको थियो ।
यता, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ७५ रुपैयाँ रहेको थियो । न्युज कारखाना
काठमाडौं, २९ फागुन ।
एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको छ ।
मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीचको छलफलमा एकीकृत समाजवादी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको हो ।
साथै सोही छलफलमा राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता गठबन्धनतर्फका उम्मेदवारका पक्षमा मतदान गर्न सहमत छ ।
प्रधानमन्त्री प्रचण्डले आउँदो बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । न्युज कारखाना
भक्तपुर, २९ फागुन ।
‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नाराका साथ सम्पदा निर्माण पुनर्निर्माणमा अगाडि बढेको भक्तपुर नगरपालिकाले दुधपाटीस्थित ८ सय बर्ष पुरानो भाजुपुखु र जलेश्वर मन्दिर सरसफाई गरिएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले उद्घाटन गरेको उक्त कार्यक्रममा उनले असीमित संख्यामा रहेका मौलिक शैलीका यस्ता सम्पदाहरुको निर्माण पुनर्निर्माण कार्यमा पुरातत्व विभाग, विश्वविद्यालयहरु र प्रज्ञा प्रतिष्ठान लाग्नुपर्ने बताए ।

उनले प्राचीन सम्पदाहरुबारे स्कूल कलेजहरुमा अध्यापन गरी नयाँ पुस्ता बिचमा यस्ता सम्पदाहरुको इतिहास थाहा दिलाउनुपर्ने बताए ।

साथै सांस्कृतिक स्तर वृद्धि गर्न स्थानीय जनताको एकता आवश्यक भएको स्पष्ट पार्दै हातमा हात मिलाए जुनसुकै काम पनि सजिलै हुने बताए ।

वागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले एक दुई वर्षको अन्तरालमा महत्वपूर्ण सम्पदाहरुको पुनर्निर्माण भइरहेको बताउँदै भाजुपुखु र जलेश्वर मन्दिरको पुनर्निर्माण अग्रजहरुको सचेतनाको चिनो भएको बताए ।

यो कार्य इतिहासमै गौरवशाली दर्पण र सुन्दर अभिलेख भएको उनको भनाइ छ ।
पूर्व न्यायाधीश गौरी बहादुर कार्कीले मौलिक र पुरानै शैलीमा सम्पदाहरुको निर्माण पुनर्निर्माण गर्न जोड दिएका थिए ।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले ५० भन्दा बढी पोखरी रहेको भक्तपुरमा ३४ वटा सञ्चालनमै रहेको बताउँदै प्रत्येक सम्पदा मानव विकाससँगै जोडिने बताइन् ।

उनले नयाँ पुस्तालाई संरक्षणका सिप र प्रविधि हस्तान्तरण गरे भोलिका पुस्ताले दुःख नपाउने बताइन् ।

प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले ऐतिहासिक सम्पदाले भरिएको जीवन्त संग्रहालय भक्तपुरमा सार्वजनिक सम्पत्तिको संरक्षण र सम्बर्धनमा सबैको साथ रहेको बताइन् ।

उनले यस पोखरीलाई पर्यटकीय दृष्टिले ध्यान दिनुपर्ने बताइन् ।

इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले ८ सयवर्ष पुरानो यो पोखरीको पुनर्निर्माणमा आजका कालिगढहरु पनि सफल भएको बताउँदै भाजुपुखु र जलेश्वर मन्दिरको इतिहासबारे स्पष्ट पारे ।न्युज कारखाना