<

 

बारा, ११ साउन । 

निजगढ नगरपालिकाको सिमानाभित्र पर्ने भए पनि हाल हेटौँडा उपमहानगरपालिकामा रहेका दुईवटा बस्तीलाई निजगढमा सामेल गराउन पर्ने माग उठन थालेको छ । बारा जिल्लाको सीमाभित्र पर्ने हेटौँडा उपमहानगरपालिकाको आकाशधारा र पानीसरा बस्तीलाई निजगढ नगरपालिकामा कायम गरिनुपर्ने निजगढका लेखापढी व्यवसायी बद्री बडालले माग गरेका छन् ।

 

साविक मकवानपुर जिल्लाको हटिया गाउँ पन्चायत वडा नम्बर ८ को उक्त बस्तीलाई नेपाल सरकारले २०३५ सालमा राजपत्रमा सूचना प्रकाशित गरेर बाराको मनहर्वा गाउँपन्चायतमा समावेश गर्ने भनेर गरेको निर्णयको आधारमा उक्त बस्तीलाई निजगढमा गाभ्नु पर्ने बडालको भनाइ छ । राजपत्रमा हटियाको आकाशधारा, पानीसारा र डम्बरपुरलाई बाराको साविक मनहर्वा गाउँपन्चायत र मकवानपुरकै रातोमाटे पन्चालय वडा नम्बर १ को विरेदमारलाई अमलेखगन्जमा समावेश गर्ने सूचना जारी भएको थियो ।

 

साही सूचनाअनुसार रातोमाटेको विरेदमार र हटियाको डम्बरपुर अमलेखगन्ज र मनहर्वामा गाभिएको भए पनि निजगढमा पर्ने आकाशधारा र पानीसरा बस्ती अझै पनि मकवानपुरमा नै रहेको छ । मनहर्वा गाउँपन्चायत विभाजन भएर रतनपुरी गाउँपन्चायत गठन भएपछि चुरे क्षेत्रमा पर्ने उक्त बस्तीहरु राजपत्रमा प्रकाशित सूचनाअनुसार हाल निजगढ नगरपालिकाभित्र पर्ने बडालको भनाइ छ । उक्त बस्ती निजगढभित्र कायम गर्न निजगढ नगरपालिकाले पहल सुरु गर्नुपर्ने बडालले बताए ।

त्यसैगरी निजगढका पुस्तक व्यवसायी सागर थोकरले पनि सामाजिक सन्जाल फेसबुकमा टिप्पणी लेखेर राजपत्रको सूचनाअनुसार निजगढ नगरपालिकाको आफ्नो भूभागभित्र बसोबास गर्ने जनता र सो क्षेत्रको जल, जमिन र जंगलको संरक्षण गर्ने कार्य तत्काल सुरु गर्न निजगढ नगरपालिका कार्यालयसँग आग्रह र अनुरोध गरेका छन् । इन्दीप कोइराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0