<

 

रौतहट
रौतहटको फतुवा विजयपुरका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा वडाध्यक्षहरुको गाडी स्थानीयले खोसेका छन् । गत दुई आर्थिक वर्षदेखि विकास निर्माणको काम ठप्प पारेको भन्दै स्थानीयवासीले जनप्रतिनिधिहरुको गाडी खोसेर प्रहरीको जिम्मा लगाएका छन् ।
फतुवा विजयपुरका जनप्रतिनिधिहरुले नगरसभा नगरी नगरपालिकालाई बन्धक बनाएको आरोप स्थानीयवासीको रहेको छ । नगरपालिकालाई बन्धक बनाउने तर सेवा र सुविधा उपभोग गरिरहने जनप्रतिनिधिहरुको मोटरसाइकल र अन्य सबारी साधन खोसेर स्थानीयवासीले इलाका प्रहरी कार्यालय विजयपुरको जिम्मा लगाएका छन् ।
फतुवा विजयपुरका निर्वाचित नगर प्रमुख गोपाल राय यादव निलम्बित भएपछि कार्यवाहक नगर प्रमुखको जिम्मेवारी पाएकी उपप्रमुख अम्बेया खातुन आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेपछि स्थानीयवासी विकास निर्माण खोज्न थालेका हुन् । नगरपालिकाका वडाध्यक्ष, वडा सदस्य तथा कार्यपालिका सदस्यहरुले कार्यवाहक नगर प्रमुख खातुनकै कारण नगर सभा हुन नसकेको बताएका छन् । वडा नम्बर २ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य संजय भनिने अनिरुद्ध प्रसाद यादवले कार्यवाहक नगर प्रमुख खातुनले कुनै पनि शर्त नमान्ने तथा नगरसभा गराउनै नचाहेको बताएका छन् ।
पटक पटक बैठक बस्ने गरेको तर वडा तथा नगरपालिकाको विकासको लागि कुनै पनि शिलिङ नमानेको, एकलौटी किसिमले नगरसभा हुन नदिएको आरोप अन्य जनप्रतिनिधिहरुको रहेको छ । गत आर्थिक वर्षमा पनि नगरपालिकाको करोडौँ बजेट फ्रिज भएको थियो । गत आर्थिक वर्षमा कर्मचारीहरुले तलब खानुबाहेक विकास तथा निर्माणको कुनै पनि काम भएको थिएन । चालु आर्थिक वर्षको पनि साढे दुई महिना बितिसक्दासमेत कावा नगर प्रमुख खातुनले नगरसभा गराउन कुनै भूमिका नखेलेको तथा वडाध्यक्षहरुले सबै तारतम्य मिलाउँदा पनि नगरसभा हुन नदिएको आरोप रहेको छ ।
कावा नगर प्रमुख खातुनले आफूले नगरसभाको लागि प्रयास गरिरहेको बताएकी छन् ।
नगरपालिकाको गाडी चढ्ने र नगरपालिकाबाट भत्ता खाने काम मात्र जनप्रतिनिधिहरुले गरिरहेको आरोप लगाउँदै स्थानीयवासीले विहीवार सबै गाडी खोसेर प्रहरीलाई जिम्मा लगाएका छन् । चन्देश्वर प्रसाद यादवले जनप्रतिनिधिहरुले अत्यन्तै खराब काम गरिरहेका कारण स्थानीयवासी आक्रोशि भएको आरोप लगाएका छन् ।
असार १० गतेसम्म सम्पन्न गरिसक्नु पर्ने नगरसभा असोज १० गतेसम्म नगरिँदा स्थानीय आक्रोशित बनेका हुन् । दशैँ आउन एक हप्ता बाँकी रहँदा नगरसभा सम्पन्न नभएकोले शिक्षक, कर्मचारीहरुले तलब नखाने करिब निश्चित भइसकेको छ । समयमा तलब र भत्ता खान नपाउँदाको निराशा कर्मचारीहरुमा रहेको छ भने दुई वर्षदेखि विकास निर्माण ठप्प हुँदा स्थानीयवासी जनप्रतिनिधिप्रति आक्रोशित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0