<
राैतहट,०९ गते असाेज ।
बज्जिका भाषामा रौतहटबाट प्रकाशित हुँदै आएको बज्जिकाञ्चल दैनिक सम्मानित भएको छ । पत्रिकाको दर्ता ठेगाना रहेको रौतहटको कटहरिया नगरपालिका ८ पिप्रा पोखरियाको वडा कार्यालय पत्रिकालाई बुधवार सम्मानित गरेको हो ।
वडाबाट प्रकाशित भएर विश्वमा बज्जिका भाषाको पहिलो पत्रिकाको रुपमा ख्याति कमाएर वडाको नाम उँचो पारेको भन्दै वडाध्यक्ष समिशविक्रम शाहले दैनिकका सञ्चालक राजु कुमार श्रीवास्तव मार्फत पत्रिकालाई सम्मानपत्रले सम्मानित गरेको हो ।
नेपाल र भारतमा गरी करोडौँ मानिसले मातृभाषाको रुपमा बोल्ने गरेको बज्जिकामा कतै पनि दैनिक पत्रिका सञ्चालनमा रहेको छैन ।
पत्रिकालाई हालै भाषा आयोगले पनि वार्षिकोत्सवको अवसरमा सम्मानित गरेको थियो । बज्जिकाञ्चल दैनिकलाई सम्मानित गर्दै वडाध्यक्ष शाहले बज्जिका भाषामा संसारको पहिलो र एकमात्र दैनिक पत्रिकालाई वडाको तर्फबाट सम्मानित गर्न पाउनु गर्वको विषय रहेको बताएका छन् ।
वडाध्यक्षले मकवानपुर बहुमुखी क्याम्पस हेटौँडामा छात्रवृत्तिमा नाम निकालेर पढ्न सफल भएकी सुस्मिताकुमारी साहलाई पनि सम्मानित गरेका छन् । उक्त अवसरमा बज्जिका भाषाका प्रथम लेखक तथा महाकाव्यकार सञ्जय साह मित्रले ग्रामीण क्षेत्रबाट प्रकाशनरत बज्जिकाञ्चल दैनिकले बज्जिका भाषा र साहित्यको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिइरहेको बताएका छन् ।
कार्यक्रममा कटहरिया नगरपालिकाको शिक्षा शाखाका संयोजक अनिलकुमार निधि, स्वास्थ्य शाखाका प्रमुख दिनेशकुमार यादव, बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण, वीरेन्द्र साह कलवार, पत्रकार सागर संगम ठाकुर लगायतले मन्तव्य व्यक्त गर्दै स्थानीय बज्जिका भाषामा पत्रिका प्रकाशन गरेर निकै ठुलो महत्वपूर्ण सेवा गरिरहेका बताएका छन् । गाउँगाउँमा पुगिरहेको पत्रिकाले शिक्षा, चेतना र सूचनालाई पुर्याइरहेको वक्ताहरुको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1