<
राैतहट,०५ गते भदौ ।
रौतहटको कटहरिया नगरपालिका सबै विद्यालयहरु बुधवारदेखि ठप्प छन् । नगरपालिकाका शिक्षक तथा कर्मचारीहरुले सम्पूर्ण विद्यालय ठप्प पारी नगरपालिका कार्यालयकाे मूल गेटमा धर्नामा बसेका छन् ।
बाँकी रहेको दुई वर्षभन्दा लामो समयदेखिको तलब र भत्ताको माग गर्दै विद्यालय कर्मचारी तथा बाल विकास नगर कार्य समिति कटहरियाले विभिन्न चरणको ध्यानाकर्षणपश्चात अन्तिम विकल्पमा विद्यालय बन्द गरी अनिश्चितकालीन आन्दोलनमा उत्रेका हुन् । नगरपालिकाका रहेको सम्पूर्ण विद्यालयका लेखापाल, कार्यालय सहयोगी, बाल विकास सहयोगी कार्यकर्ता तथा अन्य कर्मचारीहरुले संयुक्त रुपमा आन्दोलन गरिरहेका छन् ।
गत साउनमा नै ज्ञापनपत्र बुझाएर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका विद्यालय कर्मचारीहरुले तिन चरणको आन्दोलन पनि गरिसकेका छन् ।
भ्रष्टाचारको आरोपमा नगरपालिकाका नगर प्रमुख निलम्बनमा रहेका, कार्यवाहक नगर प्रमुखको जिम्मेवारीमा कोही पनि नभएको तथा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रमान प्रधान नगरपालिका कार्यालयमा कहिल्यै पनि नआउने गरेका कारण विद्यालय कर्मचारीको माग सुन्ने कोही पनि नभएको देखिएको छ ।
गत दुई आर्थिक वर्षको प्रोत्साहन भत्ता बाँकी रहेको, विद्यालयका कर्मचारीहरुको रकम कहाँ गयो र कसले चलायो भन्ने विषयमा कतैबाट कुनै जानकारी नआएपछि आन्दोलन एकमात्र विकल्प भएको आन्दोलनमा रहेका कर्मचारीहरुको भनाइ छ ।
नगरपालिकाले तत्काल समस्याको सम्बोधन गरेन भने आन्दोलनलाई देशव्यापी पु¥याउने प्रशासनमा कार्यरत कर्मचारी रामदेव राय यादवले चेतावनी दिएका छन् ।
विद्यालय कर्मचारी तथा बाल विकास सहयोगी शिक्षकहरुले आव २०७९।८० को बक्यौता भत्ता नगरपालिकाबाट अविलम्ब निकासा हुनुपर्ने, आव २०८०।८१ को बक्यौता तलब भत्ता नगरपालिकाबाट अबिलम्ब निकासा हुनुपर्ने तथा दुवै आर्थिक वर्षको २,००० (दुई हजार) रुपैयाको दरले प्रोत्साहन भत्ता पनि तुरुन्त निकासा हुनुपर्ने, विद्यालय कर्मचारीलाई निजामती कर्मचारीसरह सेवा सुविधाको व्यवस्था गर्नुपर्ने, बाल विकास सहयोगी कार्यकर्तालाई शिक्षक सरहको तलब भत्ताको व्यवस्था हुनुपर्ने गरी पाँच सूत्रीय माग राखेका छन् ।
विगतमा नगर परिषदबाट विनियोजन भएको रकम पनि निकासा नदिएको कारण आफूहरु आन्दोलनमा उत्रिनु परेको आन्दोलनरत पक्षको भनाइ छ । विद्यालय कर्मचारीहरुको आन्दोलनमा शिक्षकहरुको पनि नैतिक समर्थन रहेको छ ।
गत तिन दिनदेखि आन्दोलनमा रहे पनि नगरपालिकाको तर्फबाट कोही पनि वार्ताको लागि आधिकारिक पहल नथालेको पनि आन्दोलनकारीहरुको भनाइ छ ।
नगरका सबै विद्यालयलाई ठप्प पारेर विद्यालय कर्मचारी तथा बाल विकास सहयोगी कार्यकर्ताहरुले नगरपालिकाको मूल गेटमा धर्ना दिन थालेपछि नगरपालिका कार्यालय पनि ठप्प रहेको छ । नगरपालिका कार्यालय पनि ठप्प भएपछि कार्यालयमा आउने सेवाग्राहीहरु मर्कामा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1