<
राैतहट,१४ गते साउन ।
रौतहटको कटहरिया नगरपालिकामा भ्रष्टाचारले सीमा नाघेको छ । कागजमै औषधि खरिद गरी ७० लाख रुपैया भुक्तानी गरी चरम भ्रष्टाचार गरेको पाइएको छ । गत असार महिनामा नगरपालिकाले औषधि खरिदको सबै प्रक्रिया पूरा गरी भुक्तानी दिइसकेको छ । कटहरिया नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहालाई औषधि खरिदको भुक्तानी दिएको विषयमा जानकारी हुँदा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रमान प्रधानलाई सोध्दा औषधि खरिद गरी भुक्तानी दिइसकेको र औषधि जिन्सी शाखामा राखिएको बताएका थिए । वडाध्यक्ष कुशवाहाले जिन्सी शाखासित समन्वय गरेर जिन्सी शाखामा औषधि नभएको देखेपछि जिन्सी शाखा प्रमुख सन्तोष साह आत्तिएका छन् । जिन्सी शाखा प्रमुख सन्तोष साह र प्रमुख प्रशासकीय अधिकृत प्रधान मिलेर औषधि खरिदको सम्पूर्ण कागजपत्र मिलाई अबैध तरिकाले ७० लाख रुपैया भुक्तानी दिएको बुझिएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर राय यादवलाई औषधि खरिदबारे कुनै जानकारी छैन । यादव भन्छन् – औषधि खरिदबारे मलाई कुनै जानकारी छैन तर फाइल रुजु गर्न दबाब आइरहेको छ । जिन्सी शाखा प्रमुख सन्तोष साहले स्वास्थ्य शाखा प्रमुख यादवलाई फाइलमा हस्ताक्षर गर्न, जिन्सी शाखाबाट औषधि बुझेको भरपाइमा हस्ताक्षर गर्न दबाब दिइरहेका छन् । निलम्बित नगर प्रमुख अजयप्रकाश निकटका मानिसहरुले पनि स्वास्थ्य शाखा प्रमुखलाई ७० लाखको औषधि खरिदको सम्पूर्ण प्रक्रिया मिलाउन दबाब दिइरहेको भए पनि अबैध काममा आफूले हस्ताक्षर नगर्ने यादवको अडान रहेको छ । जिन्सी प्रमुख साहले फाइल कसैलाई अध्ययनको लागि नदिएर सोझै हस्ताक्षर गराउन खोजेका छन् । स्वास्थ्य शाखामै कार्यरत साह निलम्बित नगर प्रमुख अजयप्रकाशका निकटस्थ हुन् । निलम्बित नगर प्रमुखले नै साहलाई जिन्सी शाखा प्रमुखको जिम्मेवारी दिएका थिए । जिन्सी प्रमुख साहले औषधि खरिद भएको, भुक्तानी दिइएको र औषधि स्वास्थ्य चौकीलाई वितरण गरिएको तथा केही गोदाममै रहेको बताए पनि कुन खरिदकर्तालाई भुक्तानी दिइएको हो भन्ने कुरा आफूलाई थाहा नभएको बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1