<

राैतहट,२८ गते असार । शुक्रबार बिहान चितवन जिल्लाको भरतपुर नगरपालिका २९ सिमतालमा पहिरोले दुई बसलाई त्रिशुलीमा बगाएको खबरले पूरा मधेशमा शोकमा डुबेको छ । वीरगंजबाट काठमाडौँतर्फ गइरहेको एन्जल डिलक्स बसमा रहेका दुई दर्जनभन्दा बढी यात्रुले अनेक सपना बुनेका थिए । देशको राजधानी पुगेर अनेक काम गर्नुपर्ने तथा पेसा र रोजगारमा लागेर आफ्नो र सन्तानको भविष्य सपार्ने सपना देखेका थिए । आधा दर्जनभन्दा भारतीय नागरिकहरु पनि विभिन्न सपना बुन्दै काठमाडौँको यात्रा गरिरहेका थिए । काठमाडौँबाट अनेक काम सिध्याएर गणपति डिलक्समा फर्किरहेका थिए करिब अढाई दर्जन नागरिक । विभिन्न काम सकेर घरतिर फर्किरहँदा मनमा हुने उत्साहको ठेगान हुँदैन । काठमाडौँबाट मधेशतिर फर्किने बसका यात्रुको एउटै सोचाइ हुन्छ – मुग्लिन कटेपछि अब कुनै ठुलो दुर्घटना हुँदैन । ढुक्कसित निदाएर यात्रा गर्न सकिने अवस्था भने मुग्लिन कटेपछि नै हुने गरेको यात्रुहरुको अनुभव छ । मुग्लिन कटेपछि अबको केही घन्टामा घर पुगिन्छ भन्ने मिठो आशामा यात्रीहरु निदाइरहेका थिए । काठमाडौतिर गइरहेको वीरगंजको एन्जल डिलक्स र काठमाडौँबाट फर्किरहेको गणपति डिलक्स भरतपुर नगरपालिका २९ स्थित सिमतालमा एकले अर्कोलाई क्रस गर्दै थिए । सोही अवस्थामा माथिबाट आएको पहिरोले दुवैलाई त्रिशुलीमा खसाल्यो । त्रिशुलीमा खसेका दुवै बस शुक्रबार साँझसम्म फेला परेका छैनन् । दुवै बसमा रहेका चारदेखि पाँच दर्जन यात्रुको पनि अत्तोपत्तो लागेको छैन । काठमाडौँबाट रौतहटतिर आइरहेको गणपति डिलक्स बसबाट हाम फालेर तिन यात्रुले ज्यान जोगाएका छन् । तिनका आफन्तहरु बसमै थिए । असार २८ को बिहान मधेश प्रदेशमा कालो उज्यालो लिएर आयो । त्रिशुली नदीमा रौतहट र पर्सा जिल्लाको बस खसेर बेपत्ता भएको खबर सञ्चार माध्यममा सार्वजनिक भएसँगै रौतहट र पर्सासँगै मधेश प्रदेशमा नै शोकको लहर व्याप्त भएको छ । करिब तिन वर्ष पहिले रौतहटबाट पोखराको लागि छुटेको बस त्रिशुलीमा खसेको थियो । उक्त बसमा पनि रौतहटका दर्जनौँ मानिस थिए । केही परीक्षार्थी थिए शिक्षकका । निम्न माध्यमिक तहको शिक्षक परीक्षा दिन पोखरा जाँदै थिए । त्रिशुलीमा बस खसेको दुई वर्षभन्दा बढी बितिसकेको भए पनि त्यसमा हराएकाहरुको अहिलेसम्म पत्तो लागेको छैन । शुक्रबार बिहान साढे तिन बजेदेखि त्रिशुलीमा हराइरहेका दुई ओटा बसको अवस्था अज्ञात रहँदा सिंगो मधेश चिन्तामा डुबेको छ । नियमित काठमाडौँ यात्रा गर्नेहरु अहिले निकै त्रासमा देखिएका छन् । काठमाडौँ जानको लागि कुन बाटो उपयुक्त होला ? वर्षा याममा सबै बाटोमा पहिरो जाने भएकोले सर्वसाधारणले यथाशीघ्र द्रूतमार्गको निर्माण हुनुपर्ने अपेक्षा गर्न थालेका छन् । द्रुतमार्गको निर्माण हुन थालेको लामो समय बितिसकेको भए पनि अहिलेसम्म संचालनमा आउने छाँटकाँट नहुँदा सर्वसाधारणमा यसप्रति झन् चासो बढेको हो । द्रुतमार्ग पहिरोरहित हुने र बढी सुरक्षित हुनुका साथै एक डेढ घन्टामै यात्रा गर्न सकिने भएकोले धेरै सुरक्षित र विश्वसनीय हुने सर्वसाधारणको विश्वास रहेको छ । हरेक दिन हजारौँ यात्री काठमाडौँ आवागमन गर्ने गर्दछन् । मधेश प्रदेशको हरेक जिल्लाको सदरमुकामदेखि काठमाडौँसम्म दर्जनभन्दा बढी रात्री बस चल्ने गरेका छन् । सडकको सुविधा विस्तार भएसँगै मधेश प्रदेशको हरेक जसो बजारबाट काठमाडौँको लागि रात्री बस चल्न थालेको छ । हजारौँ यात्री काठमाडौँको आवतजावत गर्ने मधेश प्रदेशमा अहिले शोकसँगै त्रास व्याप्त भएको छ । रौतहटको बौधिमाई नगरपालिकाको इनर्वा र गरुडा नगरपालिकाको सिसवा गाउँमा भने कसैको घरमा चुलो बलेको छैन । गणपति डिलक्स बसमा यिनै दुई गाउँका यात्री रहेका थिए । एकै गाउँका नौ जना गणपति बससँगै बेपत्ता भएका छन् । वेपत्ता भएका मानिसको घरपरिवार, आफन्त तथा टोल छिमेकमा निकै त्रास देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0