<

राैतहट,२३ गते असार । असारको तेस्रो हप्ता बितेर चौथो हप्ता चलिरहेको भए पनि मधेश प्रदेशमा खासै रोपाईँ हुन सकेको छैन । गत दुई दिन राम्रोसित पानी परेकोले किसानहरु दिनभर रोपाईँमा ब्यस्त हुन पुग्दा रोपाईँको प्रतिशतमा केही वृद्धि भएको हो । मधेश प्रदेशमा भदैया र मंसिरा गरी दुई किसिमको धानको रोपाईँ धमाधम हुन थालेको छ । ढिलो गरी पानी परेको हुनाले भदैया धान पनि ढिलो हुन पुगेको हो । सामान्यतया असारको तेस्रो हप्तासम्म भदैया धान सिध्याइसक्नु पर्नेमा ढिलो नै भए पनि धमाधम रोपाईँ भइरहेको छ । मधेश प्रदेशको रौतहटमा करिब छ प्रतिशत, सर्लाहीमा करिब पाँच प्रतिशत, धनुषामा करिब बिस प्रतिशत, महोतरीमा करिब बिस प्रतिशत, सिराहामा करिब एघार प्रतिशत, सप्तरीमा करिब पच्चीस प्रतिशत र बारामा करिब सात प्रतिशत धानको रोपाइँ भएको छ । समग्रमा मधेश प्रदेशमा अहिलेसम्म करिब पन्ध्र प्रतिशत धानको रोपाईँ भएको विकास निर्देशनालायका प्राविधिक सहायक प्रतिमा यादवको भनाइ छ । ढिलो गरी पानी पर्दा धानको बेर्ना तयार नभएको कारण अहिले पानी परे पनि रोपाइँमा ढिलो भएको हो । सिंचाइको सुविधा भएको ठाउँमा भने धानको रोपाइँ धमाधम भइरहेको छ । यस वर्ष विगतका वर्षहरुमा भन्दा पानी बढी पर्ने सम्भावना रहेकोले किसानहरुलाई धानको उत्पादन राम्रो हुने विश्वास रहेको छ । ब्याडमा धानको बेर्ना तयार भइरहँदा पानी परेकोले किसानहरु धेरै खुसी भएका छन् । यसै गरी पानी पर्ने हो भने किसानहरुले साउनको पहिलो हप्तासम्म रोपाइँ सिध्याउने विश्वास गरिएको छ । गत वर्ष साउनको दोस्रो हप्तादेखि खेतमा रोपाईँ गर्ने किसिमले पानी परेको थियो । गत केही दिनदेखि पानी परिरहेको भए पनि सर्लाही, रौतहट र बाराको खेतमा भने वर्षाको पानी लागेको छैन । केही गैरी खेत, कुलो लाग्ने तथा बाढी पसेको खेतमा मात्र रोपाईँ भएको र अधिकांश किसानले बोरिङ तथा पम्पसेटको सहायताले रोपाईँ गरिरहेका छन् । किसानहरुले धमाधम रोपाईँ गरिरहेको र वर्षाले बेर्ना तयार भइरहेको हुनाले केही दिन किसानलाई अत्यन्तै बेफुर्सदी हुने कटहरियाका किसान रुपेश महतोले बताएका छन् । धानको रोपाईँ भइरहँदा किसानहरुमा उत्साह बढिरहेको महतोको भनाइ छ । रोपिसकेको धानमा पनि वर्षाको पानीले राम्रो गरिरहेको र बेर्नालाई पनि राम्रो गरिरहेकोले किसानहरुमा उत्साह बढेको महतो बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0