<

आरके श्रीवास्तव,राैतहट२३ गते वैशाख ।

नीति, थिति र निर्णय सबैलाई लत्याउँदै रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत नै नगरलाई अस्तव्यस्त बनाएका छन् । नगर प्रमुख र हाकिम दुवै जना कार्यालय छोडेर बेपत्ता हुन थालेपछि नगरपालिकाको सबै काम अस्तव्यस्त बन्न पुगेको वडाध्यक्षहरुको आरोप छ ।

आइतवार कटहरिया नगरपालिकाको कार्यपालिकाको बैठक बोलाएर नगर प्रमुख र हाकिम दुवै जना अनुपस्थित भएपछि कार्यपालिका सदस्यहरु आक्रोशित बनेका छन् । पूर्व सूचना गरी बोलाइएको कार्यपालिका बैठकमा नगर प्रमुख अजय प्रकाश र कार्यालय प्रमुख सुरेन्द्रमान प्रधान दुवै जना अनुपस्थित भएपछि उपस्थित कार्यपालका सदस्यहरु आक्रोशित बनेका हुन् । कटहरिया ५ का वडाध्यक्ष सर्फलाल गुप्ताले बैठकमा उपस्थित नभई कार्यालय प्रमुख प्रधानले मोबाइलको स्वीचसमेत अफ गरेर उपसचिवजस्तो गरिमामय पदको मर्यादा गिराएको आरोप लगाएका छन् ।

नीति, नियम र नैतिकताको कुनै ख्याल नै नगरी कार्यालय प्रमुख प्रधान नगर प्रमुखको इसारामा मात्र चल्ने गरेको आरोप वडाध्यक्ष गुप्ताको रहेको छ । नगर प्रमुख र कार्यालय प्रमुख दुवै जना मिलेर नगरपालिकालाई बन्धक बनाएको आरोप लगाउँदै वडाध्यक्ष गुप्ताले जनताले सबैको हिसाबकिताब लिने बताएका छन् । नगरपालिकामा कति जना ज्यालादारीका कर्मचारी छन् र महिनाको कति खर्च ज्यालादारीमा हुन्छ भन्ने यकिन जानकारी नगर प्रमुख र कार्यालय प्रमुखले दिने गरेका छैनन् ।

ज्याला तथा करारका कर्मचारीको नियुक्ति तथा कामको विवरण महिनौँदेखि कार्यपालिका सदस्यहरुले माग्दै आएका छन् । नगरपालिकाको तलब खुवाएर नगर प्रमुख र कार्यालय प्रमुखले दर्जनौँ मानिसलाई चिनीमिलमा काम गराएको आशंका जनप्रतिनिधिहरुको रहेको छ । कटहरिया नगरपालिका ९ मा रहेको चिनी मिलका संचालक नगर प्रमुख अजय प्रकाशले नगरपालिकाबाट भुक्तानी दिने गरेको तर निजी उद्योगमा दर्जनौँ कर्मचारी खटाएको आशंका रहेको छ ।

करार तथा ज्यालादारीको कामदारको विवरण, तिनीहरुमा भइरहेको खर्च, हरेक महिना इन्धनमा नगरपालिकाको खर्चको विवरण माग गर्दै केही महिना पहिले नगर उपप्रमुखसहित अन्य जनप्रतिनिधिहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । नेपाली काँग्रेसबाट निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुमाथि पार्टीको दबाब परेपछि रातारात ताला खोलाइएको थियो ।

कटहरिया ४ का वडाध्यक्ष चन्दनकुमार कुशवाहाले नगर प्रमुख र कार्यालय प्रमुखले नगरपालिकामा लुटको साम्राज्य खडा गरेको र जनताप्रति अलिकति पनि उत्तरदायी नदेखिएको आरोप लगाएका छन् । वडाध्यक्ष कुशवाहा भन्छन् – जनताको अदालतले एक दिन हरेक कुकर्मको हिसाब गर्नेछ । कार्यालय प्रमुख प्रधान नगरपालिकालाई अस्तव्यस्त बनाउनमा माहिर छन् ।

यसअघि रौतहटकै फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधिबिच फाटो ल्याएर एक पक्षीय विवादास्पद निर्णयहरु गराएका थिए । प्रधान कार्यालय प्रमुख रहुन्जेल फतुवा विजयपुरमा पटकपटक विवाद र कार्यालयमा तालबन्दी भएको थियो ।

प्रधानको विवादास्पद चरित्रकै कारण रौतहटको वृन्दावन नगरपालिका कार्यालयमा स्थानीयले हाजिर हुन दिएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0