<

वैशाख २३ गते

आम जनता पार्टी (आजपा) ले विद्यार्थीको अनुपातमा तहगत र बिषयगत शिक्षक दरबन्दी कायम गरी शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको छ । आजपा जिल्ला कमिटी बाराले आईतबार जिल्ला प्रशासन कार्यालय कलैया, बारा मार्फत संघीय र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्न र विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने माग आजपाको रहेको आईटी आर्मीका केन्द्रिय सदस्य रामशरण यादवले बताए । आजपाका केन्द्रीय उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, सचिव एवं मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहा, विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साह, आम जनसांस्कृतिक मोर्चाका केन्द्रीय अध्यक्ष विजय यादव निर्विज लगायत सयौं नेताकार्यकर्ताहरुले कलैयामा र्याली सहित प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

विद्यार्थीको अनुपातमा शिक्षकको ब्यवस्थापन गर, एउटै कक्षाकोठामा सयौं विद्यार्थी राख्न पाइदैन, विद्यार्थीको भबिष्यसंग खेलवाड गर्न पाइदैन, तहगत र बिषयगत अपुग शिक्षकको पूरा गर, गुणस्तरीय शिक्षाको ब्यवस्था गर, विभेदकारी शिक्षकको दरबन्दी बितरण खारेज गर, गुणस्तरीय शिक्षाको ब्यवस्था गर, आम जनता पार्टी जिन्दावाद लगायतका नारा प्रदर्शनकारीले लगाएका छन् ।

यस अघि गत साता रौतहटको चन्द्रपुरमा बसेको आजपा मधेस प्रदेश कमिटीको पदाधिकारी बैठकले असामान शिक्षक दरबन्दी वितरण सच्याउन, अपुग तहगत र बिषयगत शिक्षक दरबन्दी पुर्ति गर्न र विद्यार्थी संख्याको अनुपातमा अपुग शिक्षक दरबन्दी तत्काल आपुर्ति गर्नका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । ४० देखी ५० बिधार्थी संख्यामा एक जना शिक्षक रहने सरकारी मान्यता विपरीत मधेसमा ८० देखी १०० बिधार्थी बराबर एक शिक्षक रहेको र हजारौं बिधालयमा शिक्षक दरबन्दी शुन्य रहेको साथै विषयगत शिक्षकको पुरै अभाव रहेको विडम्बनापूर्ण स्थितिमा विद्यार्थीको भविष्यको लागि आन्दोलन मात्र एक विकल्प रहेको निष्कर्ष सहित बैठकले मधेसको प्रत्येक जिल्लामा संघर्षका कार्यक्रम अगाड़ी बढ़ाउने निष्कर्ष निकालेको थियो ।

मधेसका अधिकांश विद्यालयमा १०० देखी ३०० सय सम्म विद्यार्थी कोचिएको विद्यालयमा तत्काल सेक्सन छुट्याई अपुग शिक्षक र आवश्यक भौतिक संरचना पुर्ति गर्नुपर्ने, विद्यार्थीको जनसंख्या हरेक बर्ष बृद्धि हुने हुनाले विद्यार्थी शिक्षक अनुपात मिलाउनका लागि प्रत्येक बर्ष विद्यार्थी भर्ना अभियानसंगै अपुग हुने शिक्षक दरबन्दी बैशाख महिनाको पहिलो साताभित्र शिक्षक सेवा आयोग खोली अनिर्वाय रुपमा पुर्ति गर्ने व्यवस्था गर्नुपर्ने माग आजपाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0