मकवानपुर ६ पुस।
बागमती प्रदेश सरकारले आफू मातहत रहेका १३ वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पताललाई ३०० शय्या क्षमतामा विकास गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालय सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिए । उनका अनुसार भक्तपुर अस्पतालको क्षमता पनि ३०० शय्याको बनाउने निर्णय भएको छ भने धादिङ अस्पताल, त्रिसुली अस्पताल, सिन्धुली अस्पताल, बकुलहर अस्पताललाई १०० शय्याको अस्पतालका रुपमा स्तरोन्नति गरिनेछ ।
उनले बताए । धादिङ अस्पताल, सिन्धुली अस्पताल ५०÷५० शय्या, त्रिशुली अस्पताल २५ शय्या र बकुलहर अस्पताल १५ शय्यामा सञ्चालन हुँदै आएका छन् ।
यस्तै चौतारा अस्पताल २५, रामेछाप २५, पशुपति चौलागाई स्मृति अस्पताल ५ र मेथिनकोट अस्पताल ५ शय्याको अस्पतालका रुपमा सञ्चालन भइरहेका छन् । टोखा चण्डेश्वरी अस्पताल १५, बज्रबाराही चापागाउँ अस्पताल १५ र रसुवा अस्पताल ५ शय्यामा सञ्चालन छन् ।
प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर सेवा प्रवाह गर्दै आएका १३ वटा अस्पतालको स्तरोन्नतिका लागि सरकारले चालु आर्थिक वर्षमा एक करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरेको छ ।
प्रदेश सरकारले ती अस्पतालहरुको व्यवस्थापनका लागि १ करोड ३१ लाख ९८ हजार रुपैयाँ बजेट व्यवस्था गरेको सूचना अधिकारी डा. भुसालले बताए ।
उनका अनुसार प्रदेश सरकारले पशुपति चौलागाईं स्मृति अस्पतालको लागि ५ लाख ६२ हजार रुपैयाँ, धादिङ अस्पतालको लागि १० लाख ७ हजार रुपैयाँ, रामेछाप अस्पतालको लागि ६ लाख ४१ हजार रुपैयाँ, रत्ननगर बकुलहर अस्पतालका लागि ६ लाख ७१ हजार रुपैयाँ, हेटौंडा अस्पतालका लागि १५ लाख ८८ हजार रुपैयाँ बजेट व्यवस्था गरेको छ ।
यस्तै सिन्धुली अस्पतालका लागि १७ लाख ७५ हजार रुपैयाँ, भक्तपुर अस्पतालका लागि २१ लाख ५१ हजार रुपैयाँ, बज्रबाराही चापागाउँ अस्पतालका लागि ६ लाख ४६ हजार रुपैयाँ, टोखा चण्डेश्वरी अस्पतालका लागि ५ लाख ४४ हजार रुपैयाँ, मेथिनकोट अस्पतालका लागि ६ लाख ५७ हजार रुपैयाँ, चौतारा अस्पतालका लागि ६ लाख ७२ हजार रुपैयाँ, रसुवा अस्पतालका लागि ४ लाख ११ हजार रुपैयाँ र त्रिशुली अस्पतालका लागि १८ लाख ७३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको सूचना अधिकारी भुसालले बताए ।
केही अस्पतालको भवन तथा औजार उपकरण खरिदका लागि सम्बन्धित अस्पतालले नै खरिद गर्ने गरी बजेटको व्यवस्था गरेको उनको भनाइ छ ।
मन्त्रालयले विनियोजन गरेको बजेटबाट त्रिशुली, भक्तपुर र सिन्धुली अस्पतालले सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अघि बढाएका छन् भने हेटौंडा अस्पतालमा स्वास्थ्य आपूर्ति केन्द्रबाट प्राप्त बजेटबाट एमआरआइ मेसिन जडान कार्य अन्तिम चरणमा रहेको उनले बताए । अन्य अस्पताललाई पनि आवश्यक औजार तथा उपकरणका लागि सरकारले विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको उनको भनाइ छ ।
स्वास्थ्यमा नागरिकको पहुँच बढ्छ : मन्त्री जोशी
प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पताल स्तरोन्नतिले नागरिकहरुको स्वास्थ्य सेवा पाउने अधिकारलाई सुनिश्चित गरेको बताए । उनका अनुसार अस्पताललाई स्तरोन्नति गर्दा स्वास्थ्य सेवा स्तरीय र व्यवस्थित हुनका साथै सहज स्वास्थ्य सेवा पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्नेछ ।
मन्त्री जोशीले आगामी वर्षहरुमा अझै सुविधायुक्त अस्पताल बनाउँदै लगिने बताए । यसअघि नै करारमा कर्मचारीहरु नियुक्त गरी स्वीकृत शय्याभन्दा बढी सेवा दिँदै आएको र हाल सो कार्यलाई व्यवस्थित बनाउन मन्त्रिपरिषदबाट निर्णय गरिएको मन्त्री जोशीको भनाइ छ ।
सरकारले अस्पतालको सेवालाई व्यवस्थित बनाउन प्राविधिकतर्फ करारमा रहेका ५९९ कर्मचारीलाई स्थायी गर्ने गरी प्रदेश किताबखानामा दरबन्दी दर्ता गरी प्रदेश लोक सेवा आयोगबाट विज्ञापन गर्ने तयारी भएको उनले बताए । सो संख्याका स्थायी कर्मचारीले मात्र सहज स्वास्थ्य सेवा प्रवाह गर्न कठिन हुने हुँदा अपुग १५९ जना प्राविधिक कर्मचारी अस्पतालले नै करारमा भर्ना गर्नेगरी मन्त्रालयले स्वीकृति प्रदान गरेको उनले बताए ।
संघीय सरकारबाट प्राप्त ८८२ प्राविधिक, प्रशासनिक तथा आयुर्वेदिक र अतिरिक्त समूहका कर्मचारीहरुबाट सेवा प्रवाह गर्नेगरी अस्पताल व्यवस्थापनको तयारी सरकारले गरेको मन्त्री जोशीको भनाइ छ । प्रदेश सरकारले निरन्तर रुपमा प्रशासनिक तथा प्राविधिक खर्चका लागि बजेट तर्जुमा गर्ने र आवश्यक औजार उपकरण समेत सम्बन्धित अस्पतालले नै खरिद गर्नेगरी रकम व्यवस्था गर्ने तयारी गरिएको उनले बताए ।
मन्त्री जोशीले भने, ‘ग्रामीण भेगका नागरिकहरुको स्वास्थ्यमा पहुँच वृद्धि गर्न र सहजता प्रदान गर्न अस्पताल
स्तरोन्नति फलदायी हुनेछ ।’
१ करोड ३१ लाख बजेट
प्रदेश सरकारले पशुपति चौलागाईं स्मृति अस्पतालको लागि ५ लाख ६२ हजार रुपैयाँ, धादिङ अस्पतालको लागि १० लाख ७ हजार रुपैयाँ, रामेछाप अस्पतालको लागि ६ लाख ४१ हजार रुपैयाँ, रत्ननगर बकुलहर अस्पतालका लागि ६ लाख ७१ हजार रुपैयाँ, हेटौंडा अस्पतालका लागि १५ लाख ८८ हजार रुपैयाँ बजेट व्यवस्था गरेको छ ।