<

पुष ५ गते

‘इण्डिया’ गठबन्धनले आधिकारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार कसैलाई पनि घोषणा गरेको छैन । तर नयाँ दिल्लीमा बसेको बैठकमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले कांग्रेस अध्यक्ष मालिकार्जुन खड्गेको नाम प्रस्ताव गरिन्, जसलाई दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले समर्थन गरेको आम आदमी पार्टीका सांसद राघव चड्ढाले जानकारी दिए ।

गठबन्धनका दुई नेताले खड्गेको नाम आएपछि केही प्रश्न उठेको छ, के गठबन्धनले उनको नाममा सहमति जनाउने छ ? जनायो भने उनले नरेन्द्र मोदीलाई चुनौती दिन सक्छन् ?

८२ वर्षका खड्गे एक दलित नेता हुन् र पछिल्लो ५५ वर्षदेखि भारतको राजनीतिमा सक्रिय छन् ।

  • साधारण परिवारबाट आएका खड्गे कर्नाटकका हुन्
  • १९६९ मा गुलबर्गा शहरमा कांग्रेस समितिको अध्यक्ष बने
  • कर्नाटकमा लामो समय विधायक रहे र दुई पटक सांसद चुनिए
  • पछिल्लो ७/८ वर्षदेखि दिल्लीको राजनीतिमा सक्रिय छन्
  • लामो राजनीतिक यात्राका क्रममा एक पटक मात्र २०१९ मा लोकसभा चुनाव हारेका छन्
  • २०२१ देखि राज्यसभामा विपक्षी दलका नेता छन्

गठबन्धनको दलित कार्ड ?

भारतीय लोकतन्त्रमा अहिलेसम्म कुनै दलित नेता प्रधानमन्त्री बनेका छैनन् । त्यसैले खड्गेलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताव गर्नुलाई विपक्षीको दलित कार्ड पनि मानिएको छ ।

भारतको जनसंख्याको जातीय तथ्यांक छैन । तर अनुमानअनुसार भारतमा करिव २५ प्रतिशत दलित छन् । ‘इण्डिया’ गठबन्धनमा खड्गेको नाम प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताव हुनुको कारणबारे वरिष्ठ पत्रकार विजय त्रिवेदी भन्छन्, ‘मालिकार्जुन खड्गे दलित नेता हुन् । अहिलेको राजनीतिमा मोदी एनडीएफको तर्फबाट एक ओबीसी अनुहार हुन् ।’

उनका अनुसार ‘इण्डिया’ गठबन्धनबाट बिहारका मुख्यमन्त्री नितिशकुमार पनि ओबीसी अनुहार हुनसक्थे । तर गठबन्धनलाई लाग्यो कि नितिशकुमारका लागि ओबीसी अनुहारका रुपमा मोदीसँग प्रतिस्पर्धा गर्न सहज छैन । ‘त्यसैले अब एक नयाँ दलित कार्ड खेलिएको छ किनकी भारतमा अहिलेसम्म कोही दलित प्रधानमन्त्री छैनन्’ उनले भने, ‘इण्डिया गठबन्धनले खड्गेलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनाव रोचक बनाउन सक्छ ।’

  • भारतमा दलित आरक्षण सिट ८४ छ
  • भारतीय जनता पार्टीसँग ४६ सिट छ, जसमा ४० प्रतिशत भोट पाएको छ ।
  • कांग्रेससँग जम्मा ५ सिट छ
  • उत्तर प्रदेशमा दलितका लागि १७ सिट आरक्षित छ, जसमध्ये १५ बीजेपीसँग छ भने दुई बीएसपीसँग छ ।

यो अवस्थामा ‘इण्डिया’ गठबन्धनले खड्गेलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्दै दलित भोट पाउँछ त ?

विजय त्रिवेदी भन्छन्, ‘बीजेपीले यसअघि रामनाथ कोविन्दलाई राष्ट्रपति बनाएर दलित कार्ड खेलिसकेको छ र यसको निकै फाइदा पनि उठायो । ओबीसीपछि दलित भोटर पनि बीजेपीसँग छ ।’ उनका अनुसार अहिले कांग्रेस निकै कमजोर छ । विधानसभा चुनावमा कांग्रेसले दलित भोट पाएको छ, तर बीजेपीको तुलनामा यो समीकरणमा अझै निकै कमजोर छ ।

‘मालिकार्जुन खड्गेलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर मात्र मोदीसँग प्रतिस्पर्धा गर्न सकिन्न । यो कुनै तुरुपको एक्का होइन’ विजय त्रिवेदीले भने, ‘तर प्रतिस्पर्धा रोचक हुनेछ ।’

– बीबीसी हिन्दीको सहयोगमा।  सभार अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0