<

 

काठमाडौं,मंसिर १७,/             

– सरकारले यस वर्ष किसानको धानको न्यूनतम समर्थन मूल्य समयमै तोकिदिएको छ भने किसानको धान पनि समयमै खरिद गर्न थालेको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद सुरु गरिसकेको छ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यो वर्ष कम्पनीले ५० हजार २०० मेट्रिक टन धान खरिद गर्दैछ।  ‘यो वर्ष कम्पनीले ५० हजार २०० मेट्रिक टन  धान खरिद गर्ने लक्ष्य राखेको छ। जसका लागि १ अर्ब ७४ करोड रुपैयाँ बजेट छुट्याइएको छ,’ उनले भनिन्।

गत वर्ष भने कम्पनीले ढिला मात्रै धान खरिद सुरु गरेको थियो। कम्पनीले गत वर्ष धान खरिदका लागि ९८ करोड ९१ बजेट छुट्याएको थियो। ३० हजार २०० मेट्रिक टन धान खरिद गर्ने लक्ष्य रहे पनि गत वर्ष कम्पनीले लक्ष्यअनुसार धान खरिद गर्न सकेन।

कम्पनीले गत वर्षो छुट्याइएको कुल बजेटमध्ये ४१ करोड १९ लाख रुपैयाँ बराबरको १३ हजार ४ सय मेट्रिक टन धान खरिद गरेको सूचना अधिकारी सुवेदीले जानकारी दिइन्।

‘यो वर्ष एक साता अघिदेखि धान खरिद खरिद सुरु भएको छ। पश्चिमको महेन्द्रनगर धनगढी र राजापुर गरी ४ क्षेत्रबाट खरिद सुरु भइरहेको,’ उनले भनिन्।

सो क्षेत्रमा करिब ३३ हजार क्विन्टल धान खरिद भइसकेको उनी बताउँछिन्। यी क्षेत्रमध्ये सबैभन्दा बढी धनगढीमा १ हजार २०४ टन, राजापुरमा १ हजार ४२ टन, महेन्द्रनगरमा २०९ र नेपालगन्जमा ९० टन खरिद भएको उनको भनाइ छ। यस्तै नेपालका अन्य क्षेत्रमा पनि छिट्टै खरिद गरिने उनले बताइन्।

मन्त्रालयले खरिद निर्देशन दिन ढिलाइ गर्दा धान खरिदमा समस्या
गत वर्षहरुमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले खरिद प्रक्रियाको निर्देशन दिन ढिलाइ गर्दा धान खरिदमा समस्या आएको उनी बताउँछिन्। यो वर्ष मन्त्रालयले छिट्टै निर्देशन दिनाले समयमै खरिद प्रक्रिया सुरु भएको उनको भनाइ छ।

‘हामीले खरिद प्रक्रिया सुरु गर्नु अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट निर्देशन प्राप्त गर्नुपर्ने हुन्छ। निर्देशन प्राप्त भइसकेपछि खरिद सुरु गर्ने हो। यो वर्ष समयमै खरिद गर्न निर्देशन प्राप्त भयो। यो धान खरिद गर्न जरुरी पनि छ,’ उनले भनिन्।

दुर्गम जिल्लामा खाद्यान्न आपूर्ती गर्नेदेखि लिएर स्टक राख्ने र कम्पनीको बजार व्यवस्थित गर्न चामल आवश्यकता पर्छ। ‘कम्पनीको पहिलो प्राथमिकता भनेको धान खरिद नै हो। धानले पुगेन भने मात्रै चामल खरिदमा जाने अवस्था रहन्छ,’ सूचना अधिकारी सुवेदीले भनिन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग अहिले चामलको मौज्दात कम रहेको छ। चामल किन्न २ पटक टेन्डर समेत आह्वान भएको थियो। तर मागअनुसार आपूर्तिका लागि टेन्डर परेन।

‘यो वर्ष चामल मौज्दात कम छ। त्यसैले किसानले बिक्री गर्ने सिजम धान खरिद थालेका छौँ। यो वर्ष धान किन्ने लक्ष्य र बजेट पनि बढाएका छौँ। खाद्यले जिल्लामा रहेको कार्यालयमा धान किनिरहेको छ। तर सीमित क्षेत्रमा मात्रै कार्यालय हुँदा किसानको पहुँच पुगेको छैन,’ उनले भनिन्।

कम्पनी अहिलेकै संरचनाअनुसार गाउँ–गाउँमा पुग्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै प्रवक्ता सुवेदी पालिकाहरुले सहयोग गरे भने गाउँमै गएर धान किन सकिने बताउँछिन्।

‘स्थानीय तहले गोदाम बनाएर सहजीकरण गरिदिएको भए हुन्थ्यो। खाद्य गाउँगाउँ नै पुग्न सक्दैन, यसका लागि संयन्त्र पनि छैन। पालिकाहरुले सहजीकरण गरिदिए त्यहाँसम्म गएर धान किन्न सकिन्छ,’ सुवेदी भन्छिन्।

समयमै मूल्य तोकिदिँदा खरिद गर्न सहज
अघिल्ला वर्षहरुमा धानको न्यूनतम समर्थ मूल्य तोक्न ढिलाइ हुने र किसानलाई बिक्री गर्न समस्या आउने गरेको थियो। तर यस वर्ष सरकारले धान रोपाइँको सिजनमै मूल्य तोकिदिँदा किसानलाई बिक्री गर्न र कम्पनीलाई खरिद गर्न सजिलो भएको बताउँछिन्।

चालु आर्थिक वर्ष (२०८०/०८१) का लागि सरकारले धानको मूल्य असारको अन्तिम सातातिर तोकेको थियो। जसअनुसार मोटा धान प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ तोकेको छ। यस्तै मध्यम धान प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ तोकेको छ।

मोटा धानको मूल्यमा गत वर्ष (२०७९/०८०) को भन्दा यस वर्ष प्रतिक्विन्टल २३१ रुपैयाँ बढाएको छ भने मध्यम धानमा प्रतिक्विन्टल २३४ रुपैयाँ बढाएको छ।

गत वर्ष मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ तोकेको थियो भने मध्यम धान प्रतिक्विन्टल ३ हजार १९८ रुपैयाँ तोकेको थियो।

कहाँ कति खरिद गर्ने?
यो वर्ष ५० हजार २ सय मेट्रिक टन धान खरिद गर्ने लक्ष्य लिएको कम्पनीको बिर्तामोड शाखाले ३ हजार ५ सय मेट्रिक टन धान खरिद गर्ने लक्ष्य लिएको सुवेदीले जानकारी दिइन्। विराटनगरमा ४ हजार, लाहानमा ३ हजार ५००, जनकपुरमा ३ हजार ५००, वीरगञ्जमा ५ हजार ५००, भैरहवामा २ हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य रहेको सुवेदीले जानकारी दिइन्।

यस्तै, कम्पनीले नेपालगञ्जमा ७ हजार, राजापुरमा ९ हजार ५००, धनगढीमा ८ हजार र महेन्द्रनगरमा १ हजार ५०० र जुम्लामा २०० मेट्रिक टन धान खरिद गर्ने कम्पनीको लक्ष्य छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0