<

 

काठमाडौं,  कार्तिक २४/

नयाँदिल्ली — भारतीय पार्टी तृणमूल कंग्रेसकी लोकसभा सांसद महुआ मोइत्रामाथि पैसा लिएर संसद्मा प्रश्न गरेको आरोप लागेको छ । संसद्को एथिक्स कमिटीले बिहीबार उनलाई लोकसभाबाट निष्काशनको सिफारिस गरेको छ ।

केन्द्रमा विपक्षी पार्टी तृणमूल कंग्रेसकी सांसद मोइत्रा प्रखर वक्ताका रूपमा चिनिन्छन् । उनले लोकसभामा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीको निरन्तर आलोचना गर्दै आएकी छन् । उद्योगपति गौतम अडानीसँग सरकारको सम्बन्धलाई लिएर पनि निरन्तर प्रश्न उठाउने सांसदमध्ये मोइत्रा पनि एक हुन् । भाजपाले यतिबेला उनीमाथि अर्को उद्योगपतिसँग पैसा लिएर अडानीसँग सम्बन्धित प्रश्न लोकसभामा उठाएको आरोप लगाएको छ । भाजपा सांसद निशिकांत दुबेले १५ अक्टोबरमा उक्त आरोप लगाउँदै मोइत्रामाथि कारबाही गर्न लोकसभा स्पिकर ओम बिरलालाई पत्राचार गरेका थिए । स्पिकरले त्यसमाथि अनुसन्धान गरी आवश्यक सिफारिसको जिम्मा एथिक्स कमिटीलाई दिएका थिए ।

एथिक्स कमिटीले सांसद मोइत्रासँग बयान लिएपछि बहुमत सदस्यहरूको मतबाट उनीमाथि कारबाही सिफारिस गरेको हो । अब बस्ने संसद् बैठकले त्यसमाथि अन्तिम निर्णय लिनेछ । कमिटीका १० सदस्यमध्ये ६ जनाले कारबाहीको पक्षमा र ४ जनाले विपक्षमा मतदान गरेका छन् । सांसद मोइत्रामाथि उद्योगपति दर्शन हीरानंदानीसँग पैसा लिएर संसद्मा प्रश्न सोधेको आरोप छ । मोइत्राले भने हीरानंदनी आफ्नो साथी रहेको तर उनीसँग पैसाको कुनै पनि कारोबार नभएको बताउँदै आएकी छन् । उनले एक अन्तर्वार्तामा आफ्नो मित्र हीरानंदानीसँग एक स्कार्फ, लिपिस्टिक र आइस्याडो गिफ्ट लिएको स्वीकार गरेकी थिइन् । हीरानंदानी दुबई बस्ने व्यवसायी हुन् ।

प्राविधिक जाँचमा सांसद मोइत्राको संसदीय लग इनको प्रयोग दुबईबाट भएको देखिएको छ । दुबईमा लग इन गरिएको समयमा मोइत्रा भने भारतमा थिइन् । मोइत्रामाथि आफ्नो संसद्को लग इन र पासवर्ड अर्को व्यक्तिलाई दिएको आरोप पनि लागेको छ । त्यसलाई मोइत्राले स्वीकार गरेकी छन् । उनले हीरानंदनीको स्टाफबाट प्रश्न टाइप गराउन लग इन र पासवर्ड दिएको बताएकी छन् । तर, त्यसबापत कुनै पैसाको लेनदेन नभएको उनको दाबी छ । उनले प्रत्येक सांसदले आफ्नो लग इन र पासवर्डको प्रयोग अर्को व्यक्तिबाट गराइरहेको समेत दाबी गर्दै आएकी छन् ।

मोइत्रा पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय बन्दै थिइन् । उनले संसद्मा उठान गर्ने विषय र संसद्बाहिर दिने वक्तव्यले सञ्चारमाध्यममा राम्रो स्थान पाउँदै आएको थियो । लन्डनको एक प्रतिष्ठित बैंकको जागिर जाडेर राजनीतिमा आएकी मोइत्राले सन् २०१६ मा पश्चिम बंगालबाट विधानसभा र पछि २०१९ मा लोकसभा चुनाव जितेकी हुन् । आफूमाथिको आरोपले मानहानी भएको भन्दै उनी अदालतसमेत पुगेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0